देवघाट । कृषि तथा सहकारीमन्त्री हरिप्रसाद पराजुलीले भारतसँग अहिले कुनै सम्झौता नहुने बताउनुभएको छ । पराजुली बन्धु समाजको शनिबार देवघाटमा सम्पन्न भेलाको उद्घाटन गर्दै मन्त्री पराजुलीले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि कुरा अहिले निर्णय हुन नसक्ने स्पष्ट पार्नुभयो ।
‘राजनैतिक सहमतिविना कुनै सन्धि सम्झौता हँुदैन’ उहाँले भन्नुभयो, ‘पहिला प्रमुख दलहरुबीचमा हामी सहमति गर्छौं अनि भारतसँग सन्धि सम्झौता गर्नेछांै ।’
काठमाडौंमा सुरू भएको दुई पक्षीय संयुक्त आयोगको बैठकमा अहिले ऊर्जा, पूर्वाधार विकास लगायतका ५२ वटा एजेण्डामा छलफल भइरहेका बेला सरकारका प्रभावशाली मध्येका एक मन्त्री पराजुलीबाट यस्तो धारणा आएको हो ।
‘अहिलेको बैठकमा मात्रै हैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि कुनै सम्झौता हँुदैन’, उहाँको थप कथन थियो, ‘सन्धि सम्झौताका मुद्दा अहिले थाती रहन्छ’, भारतले नेपालमा लगानी गर्दा आफ्नो देशको अनुकुललाई हेर्नु कुनै नौलो नभए पनि दुई देशको हितमा हुने कुरामा मात्रै सम्झौता हुने उहाँको भनाइ छ ।
‘भारतले आफ्नो स्वार्थ हेर्नु ठीकै हो । तर सन्धि सम्झौता गर्दा दुवै देशको हितमा सोच्नुपर्ने छ’, उहाँले भन्नुभयो । अहिले कुनै पनि सम्झौता नभए पनि पछि नेपालका प्रधानमन्त्री सुशील कोइराला भारत गएर सबै सन्धि सम्झौतामा हस्ताक्षर हुने पनि उहाँले जानकारी दिनुभयो ।
‘सबै दलहरुको सहमति लिएर हाम्रा प्रधानमन्त्री भारत भ्रमण गरेर सन्धि सम्झौता गर्नु हुनेछ’, उहाँले भन्नुभयो । मन्त्री पराजुलीले नेपालले आफ्ना हिमालको सदुपयोग गर्न सकेमात्रै पनि जलविद्युत् र खानेपानीमा नेपाललाई धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कृषि क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्दै उहाँले हालै सार्वजनिक भएको बजेटले कृषि क्षेत्रको विकासमा बजेट थप गरेको बताउनुभयो । ‘अघिल्लो वर्षको तुलनामा यो पटकको बजेटमा एक अर्ब २८ करोड रूपैयाँ बढी बजेट विनियोजित भएको छ’, उहाँले भन्नुभयो, ‘यसले कृषिजन्य बस्तु आयतमा प्रतिस्थापन र निर्यात बढाउने छ ।’
सो कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले सबै नेपालीबीच बन्धु बान्धबको भावना विकास हुनुपर्ने र एकले अर्कालाई सहयोगी भावनाले हेर्नुपर्ने धारणा राख्नुभयो । ‘हामी सबै नेपाली हौं । एकले अर्काको खुट्टा तान्ने हैन । सहयोगी बन्नुपर्छ’, उहाँको स्पष्ट भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा न्यायाधीश पराजुलीसहित समाजका विभिन्न क्षेत्रमा सहयोग पु¥याएका सातजनालाई सम्मान गरिएको थियो ।
पराजुली बन्धु समाजका केन्द्रीय अध्यक्ष कुलप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका महासचिव कृष्णप्रसाद पराजुलीलगायतले बोल्नुभएको थियो ।
Discussion about this post