भरतपुर । चितवन र नवपरासीका विभिन्न पाँचवटा जेसीजहरुको संयुक्त आयोजनामा साउन ११ देखि १७ गतेसम्म विविध कार्यक्रमका साथ संयुक्त जेसीज सप्ताह मनाइने भएको छ ।
नारायणगढ जेसीज, गीतानगर जेसीज, गैंडाकोट जेसीज, पर्सा खैरहनी जेसीज र नारायणगढ लेडी जेसीजको संयुक्त आयोजनामा हुन लागेको जेसीज सप्ताहको आज आइतबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिने मूल संयोजक नमराज फुयाँलले जानकारी दिनुभयो ।
सप्ताहको वरिष्ठ अधिवक्ता एवम् महिला अधिकारकर्मी सपना प्रधान मल्लले उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा चितवनमा सामाजिक कार्यमा उदाहरणीय बन्न सफल तीनजना महिलाहरु प्राध्यापक गायत्री श्रेष्ठ, अधिवक्ता फूलमाया रानाभाट, र सडक बालबालिका पुनःस्थापना केन्द्र हाम्रो घरकी स्वयम्सेविका गोमा सिग्देललाई सम्मान गरिने जनाइएको छ ।
उद्घाटन समारोहको संयोजन नारायणगढ लेडी जेसीजले गर्नेछ । सप्ताहव्यापी रुपमा दैनिक विभिन्न जेसीजको संयोजनमा कार्यक्रम हुने नारायणगढ जेसीजका अध्यक्ष मनोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
साउन १२ गते गीतानगर जेसीजको संयोजनमा गीतानगरमा बिहान ११ बजेबाट स्वास्थ्य शिविर, श्रावण १३ गते नारायणगढ जेसीजको संयोजनमा देवघाटमा बिहान ७ः३० बजे जिन्सी सामग्री वितरण, साउन १४ गते गैंडाकोट जेसीजको संयोजनमा दिउँसो ३ बजे गैंडाकोटमा थिम सेमिनार आयोजना हुने नारायणगढ जेसीजका कार्यकारिणी उपाध्यक्ष बालकृष्ण कँडेलले जानकारी दिनुभयो ।
त्यस्तै साउन १५ गते नारायणगढ जेसीजको संयोजनमा मल्टिच्याप्टर ट्रेनिङ, साउन १६ गते पर्सा खैरहनी जेसीजको संयोजनमा माविस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिनेछ ।
साउन १७ गते नारायणगढ जेसीजको संयोजनमा समापन समारोह र छात्रवृत्ति वितरण कार्यक्रम राखिएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने जनाइएको छ ।
समापन समारोहमा पूर्व ऊर्जामन्त्री एवम् नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको नारायणगढ जेसीजका कोषाध्यक्ष एवम् जेसीज सप्ताहका मूल संयोजक फुयाँलले जानकारी दिनुभयो ।
Discussion about this post