सन्तोष भुषाल
सामान्यतया खेलले सबैको ध्यान तानेको हुन्छ । अझै सनसनीपूर्ण र ९० मिनेटको छोटो समयमा नै हारजितको टुंगोमा पुग्ने फुटबलले कसको ध्यान नतान्ला र ? प्रसंग ब्राजिलमा १२ जुनदेखि आरम्भ भएर अहिले पूर्ण भैसकेको विश्वकप फुटबलको हो । यस विश्वकप फुटबलले प्रतियोगितामा भाग लिने र नलिने सबै राष्ट्रका नागरिकको ध्यान तान्यो, र यो स्वाभाविक पनि हो । त्यसको प्रभावबाट नेपाल पनि अछूतो रहने कुरा भएन । नेपाली टेलिभिजन च्यानलहरुले पनि खेलको प्रत्यक्ष प्रसारण गरेर खेलप्रेमी दर्शकहरुको विश्वकप फुटबल हेर्ने तिर्सना मेट्नुका साथै प्रतियोगिता स्थलमै रहेको अनुभूति हुने बनाइदियो ।
खेलभित्रका आर्थिक चलखेलका घटना हाम्रा लागि नौला थिएनन्, तर यसपटक भने बिलकुलै नौला दृश्य र नौला समाचार देखिए÷सुनिए । त्यो भने आश्चर्यलाग्दो घटना बनेको छ । केही दिनअगाडि नेपालको केन्द्रबिन्दुमा रहेको नारायणगढ बजारको मुख्य ठाउँ सहिदचोकमा एक विदेशी राष्ट्रको झन्डासहित सोही देशको जर्सी लगाएका सयौँ युवाहरुले निकालेको विजय जुलुस देख्दा चकित परिन्थ्यो । त्यस घटनाको केही दिन नबित्दै नारायणगढकै केही व्यापारीहरुले राति हुने खेलमा दिउँसै जम्मा भएर हारजितको सन्दर्भमा लाखौँलाखको बाजी थापेको देखियो । त्यति देख्दासम्म केही लेख्ने सोच बनेन, तर जब एक युवतीले आफूले समर्थन गरेको देशले हारेको कारण आत्महत्या नै गरेको समाचार सुनियो, तब केही नलेखी रहन सकिएन ।
युवती आत्महत्याको मनस्थितिमा पुग्नुमा उनको मात्र गलत मानसिकता र कमजोर आत्मबल दोषी थिएन । समाजमा जुन किसिमको वातावरण सिर्जना गरिएको थियो, त्यसको गहिरो प्रभावले उनलाई एकोहोरो बनाएको हुनुपर्छ । अधिकांश नेपालीहरुमा त्यो खेल र देशप्रति कत्रो मोह ? अनावश्यक चासो र मोहले निम्त्याएको परिस्थिति थियो त्यो, आत्महत्या । आजसम्म कुन देशले के गुण लगाएको छ हामी नेपालीलाई, र के आधारमा यतिविधि एकोहोरिएर यो वा त्यो देशको समर्थन गर्नु परेको छ हामी नेपालीले ?
एउटा नेपालीको लागि विदेशी–विदेशीले खेल्ने खेलले मनोरञ्जनबाहेक अरु कुराको मह¤व नराख्नु पर्ने हो । कसैको हार र जितसँग नेपालको सरोकार नै नरहेको खेलमा जुन टिमले राम्रो खेल्छ, उसैको समर्थन गरेर मनोरञ्जन लिनु उपयुक्त हुनेथियो । तर, खेल्ने खेलाडीहरुको मेहनतलाई हेर्ने व्यक्ति–व्यक्तिबीचको गौरवसँग जोडियो । यस्तो कार्य केवल उन्मादको नतिजा हुन सक्छ । जुन मुलुकको टिम भए पनि त्यही मुलुकका नागरिकहरु त जित्दा खुशी भए पनि हारमा विस्मात् गर्दैनन् भने ज्यान फाल्ने त कुरै हुँदैन । अरुले खेल्ने खेललाई प्रतिष्ठाको विषय बनाएर आफ्नो भाग्य सम्झी जुवा खेल्ने प्रवृत्तिले नेपालमा गलत संस्कृतिको बीजारोपण गरिदिएको छ । यो प्रवृत्ति जुवा, तासभन्दा पनि अझै खतरनाक हुन्छ । कम से कम जुवा र तासमा त आफूले जित्ने प्रयत्न आफैँले गरिन्छ, तर अरुले खेल्ने खेलमा खेलाडीको प्रयत्नमा निर्भर गर्ने गरी आफ्नो प्रतिष्ठाको नै जुवा खेल्ने गरिएको पाइयो । तर, यसो भन्नुको अर्थ जुवातास खेल्नु राम्रो हो भन्नेचाहिँ पटक्कै होइन ।
यस्तै अर्थहीन पक्ष÷विपक्ष भएर अनावश्यक जर्सी किन्ने, विजय जुलुस निकाल्ने र लाखौँको बाजी राख्ने पैसाले नेपाली फुटबलको विकासका निम्ति धेरै काम गर्न सकिन्थ्यो र आज आत्महत्याको समाचार पनि सुन्नुपर्ने थिएन ।
एक पटक गम्भीर भएर सोचौँ त, यसपटक विश्वकपमा हौसिएर देशभरका नेपालीले विदेशीको जर्सी र झन्डा किन्नमा खर्चिएको रकम, ठाउँठाउँमा बाजी थाप्न छुट्याएको रकम र समय–समयमा विदेशीको जितमा ¥याली निकाल्न गरिएको खर्चको कुल योग कति होला ? त्यो सबै रकम नेपालको फुटबलको विकासका निम्ति लगाएको भए कति प्रभावकारी हुनेथियो होला ? तर, आफूलाई खेलप्रेमी बताउनेहरुको ध्यान आफ्नो देशको खेल क्षेत्रलाई माथि उठाउनेतर्फ गएको पाइँदैन । उनीहरुले केवल सरकारले केही गरेन भन्दै आफ्नो जिम्मेबारीबाट पन्छिने मात्र काम गरेका छन् । लाखौँको बाजी थाप्नेहरुले आफ्नो देशको फुटबल टिमलाई आर्थिक सहयोग गरिदिएका भए त्यस पैसाको कति मह¤व हुनेथियो होला ? उनीहरुको प्रतिष्ठा बाजीको हारजितले होइन, पक्कै पनि आफ्नो देशको खेल क्षेत्रलाई सहयोग गर्दा बढ्ने थियो ।
अरु देशको पराजयमा दुःख मनाउ गर्ने हामी नेपालीहरुले आफ्नो देशको पराजयमा दुःख मानिदिए कति राम्रो हुन्थ्यो होला ? आज हामी विदेशीसँग खेल क्षेत्रमा मात्र होइन, ठाउँठाउँमा हारेका छौँ । तर, आफ्नो देशका निम्ति ज्यान अर्पण गर्न कोही तयार छैन । हामी नेपाली कोशीमा हारेका छौँ, टनकपुरमा हारेका छौँ । हाम्रो बुद्धलाई विदेशीले आफ्नो दाबी गरिरहेका छन् । सुस्तालगायतका विभिन्न ठाउँमा हाम्रो जमिन विदेशीले हड्पेका छन् । ठाउँठाउँमा देशका सीमास्तम्भ ढालिएका छन् । तर, कोही नेपाली आफ्नो राष्ट्रिय झन्डा बोकेर कोशीमा जान चाहन्न, टनकपुर र सुस्तामा जान चाहन्न । विदेशीको हेपाइ सहेरै सबै नेपालीहरु बसिरहेका छन्, तर त्यस हेपाइबाट आत्मग्लानि कसैलाई भएको छैन । विदेशीको जितमा विजय जुलुस निकाल्ने सबै युवाहरुले नेपालको राष्ट्रिय झन्डा बोकेर आफ्नो जितको खोजी गर्र्ने कामको सुरूवात गर्ने हो भने सिंगो राष्ट्र जुर्मुराएर उठ्न कति दिन लाग्ला र ? विदेशीको हारमा आफ्नो ज्यान नै अर्पण गर्न सक्ने साहस र ऊर्जालाई नेपालको पक्षमा लगाउन सके झुकेको हाम्रो शिर फेरि ठाडो बनाउने दिन धेरै टाढा छैन ।
¨¨
Discussion about this post