कोरोना नियन्त्रणमा हाम्रो दायित्व

अन‌ि यो पनि

नेपालमा कोरोना भाइरसको सङ्क्रमण डरलाग्दो गरी फैलिँदै छ । जनता पुनः बन्दाबन्दीको पिँजडामा थुनिनु परेको छ । पहिलो चरणको कोरोना केही मत्थर भएर जनजीवन सामान्य हुँदै गएको अवस्थामा एक्कासि नयाँ रुपको डबल म्युटेन्ट कोरोना देखा परेकाले थप त्रसित बनाएको छ । कोभिड–१९ बाट थलिएका व्यवसायहरु तङ्ग्रिन नपाउँदै नयाँ प्रजातिको कोरोना सङ्क्रमणले थप अस्तव्यस्त बनाउने पक्का देखिन्छ ।

पहिलो चरणको कोरोनाका लागि विकास गरिएको खोपले नयाँ प्रजातिमा रुपान्तरित कोरोनालाई नियन्त्रण गर्ने÷नगर्नेबारे विश्व स्वास्थ्य संगठन नै निष्कर्षमा पुग्न सकेको छैन । यस्तो अन्योलताको बीच तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिनुले भविष्यमा भयावह अवस्था नआउला भन्न सकिन्न । विगतमा लामो समयको कोरोना लकडाउनका कारण कैयौँको रोजगारी गुमेको वा न्यून वेतनमा काम गर्नु परेको जगजाहेर नै छ ।

कोभिड–१९ ले च्याप्दै लगेपछि अघिल्लो चैत ११ गते सरकारद्वारा लकडाउन घोषणा गरिएको थियो नेपालमा । मितिले यसरी लकडाउन गरिएको १३ महिना भएको छ । यसबीचमा आजका मितिसम्म सङ्कटबाट पार पाइने कुनै संकेत मिलेको छैन । कुनै पनि क्षेत्र अछूतो छैन, न पर्यटन न त शैक्षिक क्षेत्र, न स्वास्थ्य क्षेत्र न त कृषि नै । यावत् क्षेत्र कोभिडको चक्रव्यूहमा फसेका छन् । लाखौँ मानिस मृत्यु वरण गर्न बाध्य भएका छन् । करोडौँ यसबाट पीडित जीवन बिताउन बाध्य छन् । यसक्रममा न विकसित भनिएका मुलुक जोगिएका छन्, न त आफूलाई आधुनिकताको शिखर चढ्दै गएको दाबी गर्ने मुलुक नै । एक प्रकारले वर्षैभर पक्षघात रोगीको अवस्थामा पु¥याइदियो, पूरै विश्वलाई कोरोनाले । न यता फर्कन सक्ने न त उतै लर्कन सक्ने !

यतिखेर अस्पतालमा बेड नभएर सङ्क्रमितहरु छटपटाइरहँदा गत वर्ष त तयारी गर्न समय नै भएन भन्यो राज्यले, तर अहिले त प्रशस्त समय थियो । यस अवधिमा कतिवटा अस्पताल थपिए ? यी अस्पतालमा कतिवटा बेड उपलब्ध छन् ? कतिवटा भेन्टिलेटर थपिएका छन् ? ती कहाँ छन् ? गत वर्ष नै कोरोना सङ्क्रमितलाई उपचार गर्नबाट विभिन्न बहानामा पन्छिरहेका निजी अस्पताललाई नियमित गर्न यस अवधिमा के–कस्ता नीतिगत व्यवस्था गरियो ? के–कस्ता कानुन बनाइयो ? त्यसको परिणाम के आयो ? अहिले यी प्रश्नहरुको उत्तर खोज्नुपर्ने भएको छ । संसद् अधिवेशन एउटा पनि विधयेक पारित नगरीकन राजनीतिक खिचातानीमा सकियो । जब कि, यस अवधिमा बनाउनुपर्ने धेरै कानुन थिए । राज्यले यसका लागि आवश्यक पर्ने व्यवस्था गर्न त परैको कुरा भयो, पिसिआर टेस्ट सक्कली हो कि नक्कली हो भन्नेसमेत अनुगमन गरी यसै भन्न नसक्ने अवस्थामा छ । त्यसैले, विदेश जानका लागि एयरपोर्टमा पुगेका पिसिआर रिपोर्टमा शङ्का लागेर फर्किन बाध्य भएका छन् ।

हाम्रो राज्यले दिएको रिपोर्ट विदेशको एयरलाइन्स कम्पनीले पत्याउँदैन र यात्रुलाई फर्काइदिन्छ । राज्य त्यसलाई सामान्यरुपमा लिन्छ । विपत् तथा महामारीले गरिब र विपन्न निकै मर्कामा पर्ने रहेछन् भन्ने विगतको अनुभवले देखायो । खानाको अभावमा सयौँ किलोमिटर पैदलै हिँडेर गाउँ फर्किएका लस्कर त पोहोर पनि देखिएकै थियो र अहिले पनि छ । यस्ता नागरिकलाई गाउँमै राखेर उत्पादनमा जोड्न सरकारले के योजना बनायो ? गत वर्ष अर्बौँ रूपैयाँ राहतको नाममा बाँड्ने तर लक्षित समुदायका व्यक्तिले नपाउने अवस्था भोगियो ।
संसारका धेरै मुलुक र खुला सीमा जोडिएको भारतमा कोरोना फैलिँदै गर्दा नेपालले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक र सामाजिक गतिविधिका सबै क्षेत्र खुला ग¥यो । नेपालमा मानव आवतजावत उच्च प्राथमिकतामा प¥यो, पर्यटनका सबै ढोका खुला भए ।

धेरै देशले भारतबाट हुने उडान कम वा बन्द गरेपछि उडानबाट विदेश आवतजावत गर्न भारतीयहरुको रोजाइको बाटो नेपाल बन्यो । त्यस्ता भारतीय, भारतमा काम गरेर वा हरिद्वारको मेला भरेर देश फर्किएका नेपालीको माध्यमबाट नयाँ–पुराना रुपका कोरोना नेपाल भित्रिने क्रम जारी रह्यो । यता, देशभित्र स्कुल–स्कुलमा लाखौँ विद्यार्थी शून्य भौतिक दूरीमा जम्मा हुँदै थिए र ती हरेक दिन घरमा परिवारका अन्य सदस्यसित शून्य दूरीमा कोरोना साटासाट गर्दै थिए । आर्थिक अर्थ नराख्ने राजनीतिक जमघट पनि उत्तिकै चलिरहे । अरु त अरु कोभिडविरूद्धको खोप लगाउने केन्द्रमा भएका भीडमा पनि कोरोना फैलिन शून्य दूरीको वातावरण बनिरहेको थियो ।
नेपालमा कोरोनाको सङ्क्रमणमा निकै कमी आयो, सङ्क्रमितमा पनि उच्च मनोबल देखियो । तुलनात्मकरुपमा नेपालीमा कोरोना कम घातक देखियो । यो राम्रो पक्ष हो, तर खासगरी तिहारपछि आएर ठूला भोजभतेर, जमघट, सभा–सम्मेलन, भीडभाडका बाबजुद नेपालमा कोरोना सङ्क्रमणमा कमी आएपछि नेपालमा कोरोनाप्रतिको सजगतामा कमी आयो । हामी यतिसम्म हौसियौँ कि नेपाली हावापानीमा कोरोनाको खास प्रभाव रहँदैन भन्न थाल्यौँ, त्यसैले यहीँ कतै गल्ती भएको छ ।

गरिबीको रेखामुनि रहेका त्यस्ता व्यक्तिलाई राहत दिन राज्यले आफ्नो प्रणालीमा कहाँ के सुधार ग¥यो ? छिमेकी देशबाट अनियन्त्रित तवरले स्वतन्त्ररुपमा आवागमन हुँदा त्यसले गत वर्ष ठूलो सङ्कट ल्यायो । यसपटक सरकारले यसलाई व्यवस्थित गर्न के तयारी गरेको छ ? कोरोनाविरूद्धको भ्याक्सिन यतिबेलासम्म कैयौँ देशले आफ्ना ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायलाई लगाइसके । हामीकहाँ अरुले दान र अनुदान दिएको बाहेक के–कति भ्याक्सिन आए ? कहाँ लगाउन पाइन्छ ? महाव्याधि, महामारी तथा विपद्को समयमा भ्रष्टाचारजन्य घटना हुने सम्भावना ज्यादै धेरै हुने विगतको अनुभवले सिकाएको छ । यस्तो कार्यलाई नियन्त्रण गर्न के तयारी भयो ? बरू, यस काममा संघीय सरकारभन्दा कैयौँ गुणा स्थानीय सरकार प्रभावकारी देखिएका छन् । सत्ताको स्वार्थ र खिचातानीबाहेक संघीय सरकारले यो अवधिमा कुनै तयारी गरेन ।

कोरोना भाइरसले विश्व मानवजातिलाई सङ्कटग्रस्त बनाएको छ । विकसित र शक्तिसम्पन्न भनिएका मुलुकहरुले सबैभन्दा बढी पीडा बेहोरिरहेको अहिलेको सन्दर्भमा नेपालजस्तो मुलुकका लागि त झनै कष्टकर बनेको छ । भर्खर राजनीतिक स्थिरतातर्फ पाइला चालिरहेको र अर्थतन्त्रको जग निर्माणको अभियानमा जुटेको नेपालले यही बीचमा विनाशकारी भूकम्पको पीडा बेहोर्नुप¥यो । अहिले कोरोनाविरूद्धको लडाइँमा सिङ्गै मुलुक रहेको छ । यो समय कति लामो रहन्छ अनुमान गर्न कठिन छ । यो पृष्ठभूमिमा हामीलाई महामारीको अवस्था र कोरोनापछिको अवस्थाबारे पर्याप्त छलफल र विश्लेषण गर्ने, क्षतिको अनुमान गर्ने र क्षतिलाई कसरी पूर्ति गर्न सक्छौँ भन्ने सन्दर्भमा व्यापक छलफल र विश्लेषण गर्ने अवसरका रुपमा लिनु जरूरी छ ।

मानिसको जमघट हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा, समारोह, सम्मेलन, पर्व, उत्सव स्थगित गरेर सामाजिक दूरी कायम गर्नेतर्फ सबैले हेक्का राख्नुपर्छ । सरकारी निकायबाट आदेश, निर्देश र अपिलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्ने छैन । कोरोनाविरूद्धको भाषण र आश्वासनभन्दा एक्सन अहिलेको आवश्यकता हो । कोरोना प्रतिरोधका लागि सरकारले कोरोना सङ्क्रमणपूर्व र संक्रमणपश्चात् गरिनुपर्ने कार्ययोजनाको मार्गचित्र नै बनाएर प्रतिरोधमा उत्रिन विलम्ब गर्न हुन्न । यसर्थ, कोरोना जोखिमको सामना गर्न विमानस्थल र सीमा नाकामा उच्च सतर्कता अपनाउने, कोरोना सङ्क्रमित देशहरुमा गरिने आवतजावत केही समयका लागि स्थगित वा उच्च सतर्कताका साथ गर्ने, अस्पतालहरुलाई साधनस्रोतसम्पन्न पारेर तयारी अवस्थामा राख्ने, ठूला सभा–सम्मेलन, भोजभतेर नगर्ने, रोगप्रतिरोध क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा, उपचाररत बिरामीहरुको रेखदेखमा विशेष चनाखो रहने, सचेतनामूलक कार्यक्रमहरुलाई सहज र व्यापक बनाउनेजस्ता काम राज्य र सबै नागरिकको प्रमुख दायित्वभित्र पर्छ ।
मानव जमघट धेरै हुने विद्यालय, कलेज, ठूला उद्योगधन्दा, सिनेमाघर, सार्वजनिक यातायात, सपिङ मल, व्यस्त गल्ली आदि परिस्थितिको गाम्भीर्यता सूक्ष्म आँकलन गरेर अहिलेलाई बन्द गर्नु स्वागतयोग्य पहल ठहर्नेछ । सङ्क्रमणबाट बच्न सर्वसाधारणले अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने मास्कको सहज उपलब्धता, भाइरस परीक्षण कीट तथा स्वास्थ्य संस्थाको पर्याप्त सुदृढीकरण व्यवस्थापनमा सरकार चनाखो रहनुपर्छ ।

कोरोनाको सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिकले आआफ्नो तर्फबाट बेलैमा सजगता अपनाउनुपर्छ । सरकारको मात्र भर र गाली गरेर पूर्वतयारीमा बेवास्ता ग¥यौँ भने हामी सबैका लागि गम्भीर आत्मघाती भूल नहोला भन्न सकिन्न । प्रत्येक घरघरमा कोरोनाविरूद्धको तयारी आवश्यक हुन्छ । घरको सरसफाइमा प्रयोग हुने डिटोल, साबुन, दिनहुँ प्रयोग हुने खाद्यान्न दुई–तीन महिनालाई पुग्ने गरी राख्नुपर्छ । रूघाखोकीको औषधि, ज्वरो नाप्ने थर्मामिटर आदि स्वास्थ्यका सामान्य सामग्रीको पनि बेलैमा जोहो गर्नु राम्रो हो । बालबच्चा र वृद्धवृद्धाको राम्रो हेरचाह, मासुजन्य वस्तुको सेवन नगर्ने, घरपालुवा जनावरबाट टाढै बस्ने तथा स्वास्थ्यकर्मीको सुझावअनुसार दिनचर्या बिताउनु श्रेयस्कर हुन्छ ।

कोरोना भाइरसको समस्या विश्वव्यापी भएकाले आत्तिएर मानसिक तनावमा बस्नुभन्दा पनि सतर्कता एवं सयंमतापूर्वक सामना गर्ने उच्च मनोबलका साथ दिनचर्या बिताउनु बुद्धिमानी हुन्छ । एकताबद्ध भई भाइरसविरूद्ध लड्दै अर्थतन्त्रमा न्यून क्षति अहिलेको प्रमुख कार्यसूची हो । नेपालमा पनि आधुनिक औषधिको साथै नेपाली परम्परागत औषधि, जडीबुटी व्यापकरुपमा प्रयोग भए । कोरोनाको चपेटा सामना गर्ने क्रममा नेपाल पनि आफ्नो इतिहास र सभ्यतामा समाधान खोज्न थाल्यो । शिष्टताको र अपनत्व दर्शाउन दुई हात जोडेर नमस्ते गर्ने, जथाभावी नखाने, सा¤िवक खानामा जोड दिने, योगाभ्यास गर्ने, समाजमा भौतिक दूरी राख्ने र सरसफाइमा जोड दिनेजस्ता परम्परागत चलन व्यापकरुपमा अवलम्बन गर्न थालिए ।

कोरोनाको उपचारका साथसाथै रोकथामका उपायहरु अवलम्बन गर्न सरकार र सरोकार पक्षले कुनै कसर बाँकी राख्नुहुन्न । अहिलेसम्मको अध्ययन र अनुभवबाट कोरोना सङ्क्रमितमध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिए तापनि ढुक्क हुने गरी निश्चित उपचार विधि पत्ता लागिसकेको छैन । कोरोनाविरूद्धको खोपको प्रभावकारितामा विविधता देखिन्छ ।

पछिल्ला अध्ययन र अनुभवले उपचारभन्दा पनि रोकथामका उपायहरु प्रभावकारीरुपमा अवलम्बन गर्नु बुद्धिमानी ठहरिएको देखिन्छ । मानिसले आफ्नो बानीबेहोरा र आहारविहार स्वस्थकर बनाएमा कोरोना भाइरस सङ्क्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात् गर्नेतर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ । हेलचेक्र्याइँ र लापर्बाहीले भविष्यमा ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । कोरोना हाहाकारको अतिरञ्जित प्रचारप्रसारले सर्वत्र त्राहिमाम् छाएको छ । अनुशासित, स्वस्थकर बानीबेहोरा र दृढ आत्मबल तथा सकारात्मक सोचबाट कोरोनालाई परास्त गर्न सकिने अनुभवसिद्ध तथ्य हो । विश्वभर महामारीका रुपमा सल्किएको अदृश्य शत्रु कोरोनासँग लड्न सरकार, सरोकार तथा मानव समुदायबीच सचेतना, सतर्कता, संवेदनशीलता, संयमता, सद्भाव, सहयोग र सहकार्यको खाँचो देखिन्छ ।
अहिलेसम्म बनेका खोप शतप्रतिशत प्रभावकारी नभएकाले सामाजिक जमघटमा, कार्यक्षेत्रमा र घरबाहिर निस्किँदा सुरक्षित भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात धुने कुरालाई कडाइका साथ पालना गर्नैपर्छ । कृषिलगायत उत्पादनका प्राथमिक क्षेत्र, उद्योगधन्दा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था र अन्य अत्यावश्यक सेवा सञ्चालन रोक्नुपर्ने कुनै कारण छैन । यी गतिविधिका कुनै इकाइमा कोरोना सङ्क्रमण देखिए त्यही इकाइको गतिविधिमात्रै निश्चित समयका लागि बन्द गर्न सकिन्छ ।

अहिले कोरोना सङ्क्रमण हामी सबैको साझा चुनौती भएको छ । यसको सामना गर्न देश राजनीतिकरुपमा पनि एकताबद्ध हुन आवश्यक छ । सत्तारुढ दल र विपक्षमा रहेका दलहरु सँगै बसेर सौहार्दपूर्णरुपमा सहकार्यको वातावरण बनाउन आवश्यक छ । आपसी छलफल र उपयुक्त विधिद्वारा कोरोना सङ्क्रमण नियन्त्रणमा नआएसम्म देशलाई चुनावमा नहोम्ने उपाय खोजिनुपर्छ । कोरोना सङ्क्रमण खेपिरहेका मतदातालाई सत्ता चयनमा खासै चासो नहुन सक्छ । चुनावपछि पनि स्थायी सरकार बन्ने पक्का छैन । अहिले हाम्रो सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया