कोरोना सङ्क्रमितको उपचारमा ध्यान देऊ

अन‌ि यो पनि

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरुका बेड भरिभराउ भएका छन् । पछिल्लो समय सबैजसो कोरोना सङ्क्रमितको उपचारमा अक्सिजन दिनुपरेको चिकित्सकहरुले जनाएका छन् । अस्पतालका बेडहरु बिरामीले भरिएपछि सङ्क्रमितहरुको प्यासेज र पेटीमा समेत उपचार गर्नुपरेको छ । कोरोना महाव्याधि भयावह बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको जनाएको छ । यतिखेर सरकारी तथा निजी अस्पतालहरुले क्षमताभन्दा माथि कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । केन्द्रीय राजधानी काठमाडौँमा कोरोनाको उपचारमा प्रयोग गरिने औषधिको समेत संकट देखिन थालिसकेको छ । कोडिड–१९ को यही अवस्था र अनुपातमा सङ्क्रमितको संख्या बढ्दै जाने हो भने अस्पतालका सबै बेड कोरोना सङ्क्रमितको लागि छुट्याए पनि धान्न कठिन पर्ने भएकाले सङ्क्रमण घटाउनुको विकल्प नरहेको विज्ञहरुले सुझाव दिएका छन् । अपत्यारिलो सत्य के हो भने कोरोनाको सुरूवात जहाँबाट भयो अहिले त्यो ठाउँ लगभग शून्यको अवस्थामा छ । कोरोना सङ्क्रमणको विस्तार भएका कतिपय मुलुकमा आफ्नो प्रविधि र ज्ञानविज्ञानको विकासले गर्दा नियन्त्रणमा सफलता हासिल गर्दै गएका छन् । दुर्भाग्य भनौँ, हामी नेपाली कोरोनाको भयावह स्थितिमा पनि अरुकै मुख ताकेर बस्न विवश भएका छौँ ।

संसारकै लागि टाउको दुखाइको विषय बनेको कोरोना महाव्याधि नियन्त्रणका लागि सरकारले जे–जसरी प्रतिकार्यमा जुट्नु पर्दथ्यो त्यसमा नराम्ररी चुक्यो । छिमेकी भारतमा कोरोना व्यापक हुँदा दैनिक हजारौँको संख्यामा नेपालीहरु बिनारोकतोक विभिन्न सीमा नाकाबाट स्वदेश फर्किए । जसले गर्दा कोरोना सङ्क्रमण नेपालका गाउँसहरसम्म विस्तार भयो । कमसेकम सीमामा कडाइ गरेर नेपाल भित्रिनेहरुलाई क्वारेन्टाइनमा राखेरमात्र गाउँ फर्काइएको भए सुदूरपश्चिममा भुसको आगोझैँ सङ्क्रमण तीव्ररुपमा फैलिने थिएन । र, पुनः निषेधाज्ञाको मारमा कोही पनि पर्नुपर्ने थिएन । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्नुको पछाडि शासकहरु नै जिम्मेवार देखिन्छन् । किनभने, देशमा कोरोना महाव्याधिले आक्रान्त भइरहँदा सरकार आफ्नो शासनको अवधि लम्याउन नै तल्लीन भइरह्यो । आफ्ना विरोधीहरुलाई तह लगाएर इतिहासमा प्रशंसा कमाउने लालसाले उद्घाटन र शिलान्यासमै रमाइरह्यो । माडीको अयोध्याधाममा राम–सीताको मूर्ति प्रतिस्थापन गर्दा होस्, निर्माणाधीन धरहरा उद्घाटन नै गर्दा होस् वा मेलम्ची खानेपानीको धारा उद्घाटन गर्दा नै किन नहोस् सरकारले प्रशंसा पाउने काममा हजारौँको भीड जम्मा गराएर कोरोना सङ्क्रमण फैलाउने काम ग¥यो । जनतालाई राम्रो काम गरिरहेको भ्रम सिर्जना गरेर प्रमुख मुद्दालाई अनदेखा गरिँदा अहिले कोरोनाको चपेटाले सबैलाई आक्रान्त पारेको छ ।

नेपालमा कोरोनाको स्केल ५० को हाराहारीमा झरिसकेको स्थितिमा सरकार नियन्त्रण भइसकेको ठानेर कुनै पनि प्रतिकार्यमा जुटेन । परीक्षण गरिएकामा कोरोना सङ्क्रमणको दर झन्डै ४० प्रतिशत देखिनु पक्कै पनि शुभसंकेत मान्न सकिँदैन । पछिल्लो समय ५ हजार ७२७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एकैदिन ३५ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण दर र मृत्युदरसमेत बढेको छ । कोरोना पहिलो लहरको उत्कर्षमा पुग्दासमेत एकैदिन ३५ जनाको ज्यान गएको थिएन । अहिले जनतालाई सरकार भएको अनुभूति हुन सकेको छैन । सरकारको उपस्थिति हुनु भनेको विज्ञप्ति निकाल्नुमात्रै होइन, आफ्ना जनता जोगाउन अग्रसर बन्नु पनि हो । जसका लागि सरकारले पहिलो प्रयास नै सीमा नाका बन्द गरी नेपाल फर्किन चाहेका नेपालीलाई क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरी उचित व्यवस्थापन गर्नुपर्ने थियोे । अहिले सङ्क्रमितहरु अस्पतालको पेटीमा अलपत्र अवस्थामा उपचार गर्न विवश भइरहँदा सरकारले वैकल्पिक प्रबन्ध गर्न सक्नुपर्छ । कोरोना रोकथामका नाममा सञ्चालित अस्पताल र क्वारेन्टाइनहरुलाई ‘कमाउने थलो’ बन्न नदिन सरकारले तत्काल व्यवस्थापनमा ध्यान दिनुपर्छ । हाम्रो चाहना उपचार अभावमा कसैले पनि ज्यान जाने अवस्था नआओस् भन्ने हो । यसतर्फ सरकार अतिसंवेदनशील बन्नु जरूरी देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया