कसले सुन्छ– विपन्नको वेदनालाई !

अन‌ि यो पनि

विपन्नलाई न राजनीतिक परिवर्तनको मतलब छ न दुनियाँले देखेको समृद्धिमै चासो हुन्छ । रात्रि प्रहरमा गुटमुटिएर पेटको घुरघुरलाई एकछिन बिर्सन पुग्दा सायद विपन्न वर्गले चिल्ला गाडी या हवाइजहाजमा चढेको स्वप्ना होइन बरु खाली पेट भरिने गरी खाएको स्वप्नालाई शुभ भन्नुपर्ने विवशता छ । एक पेट लाउन अनि एक धरोको चिन्ता छ । अरूले फेसनका नाममा छोटा लाएको देखासिकीमा रत्तिभर चासो होइन बरु सकेजति लाज छोप्ने चाहनाले विपन्नको मुटु भक्कानिन्छ । सायद तिनले महलभित्र पसेर सम्भ्रान्तको संसारलाई नियाल्ने सपना बुन्नै चाहँदैनन् । धनाढ्य मालिकको कारलाई पुछेर चिल्लो पार्ने विपन्न बालकको हृदयले त्यसमा सवार भई यात्राको आनन्द लिनलाई अकल्पनीय ठान्नु पनि नौलो होइन रहेछ । चाहे जाडो याममा विकसित सहरको सुन्दर होटलमा भालेको डाकसँगै भाँडा माझिरहेको बालक होस् या ड्राइभर अनि गाडी मालिकको तुच्छ वचन र व्यवहारलाई चुपचाप सहने बालक; आखिर त्यहाँ अभावको हतौडा प्रहार सहनको सामथ्र्य राख्नै परेको छ ।

तराईको दूरदराजमा मालिकको भैँसीलाई घाँस काट्न गएकी आमासँग शरीरमा कम्मल बेरेर दुई हातले जाडो छेक्न कोसिस गरिरहेको बच्चाले तिनका अभिभावकलाई मोटरबाइक किनिदिन आग्रह गर्दैन । आफ्नै दौँतरी मालिकको नातिले भैँसीको तातो दूध खान अटेर गर्दा त्यो मीठो चीज आपूmले पाइएला भन्ने आशा गर्नु हुँदैन भन्ने कुरा उसले बुझ्छ किनकि त्यो घरमा पालिएका कुकुर र बिरालो ऊभन्दा निकै प्रिय हुन्छन् । ढिँडो, गुन्द्रुकको स्वाद र मिठासको आवश्यकता अनि यसैको खोजीको बाध्यता त्यहाँ अवश्य हुन्छ । राष्ट्रियतासँग हक र अधिकारका कुरा जोड्ने उच्च बौद्धिकता विपन्नका लागि चाहनाभन्दा नितान्त विपरीत बनिदिँदो रहेछ ।

हरेक श्रमजीवी नेपालीलाई पाखुरी बजारेर त्यसबाट प्राप्त लक्ष्मीकृपाको उत्सव मनाउने मूल अपेक्षाले कुत्कुत्याइरहन्छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक धरोहरले सम्पन्न भएर आज पनि हाम्रो मुलुकमा ‘हुँदा खानेका’ कारुणिक पीडाले कलेजी दुःखाइरहेकै छ । पुख्र्यौली पौरख पस्केर माणको जोहो गर्दा गर्दै रित्तिएको थोत्रो झोली थापेर छिमेकमा भिक्षा माग्नु परेको विडम्बना देशमा अद्यापि छ । हो मुलुक त सुनको कचौरा बोकेर विदेशीसँग विभिन्न नाममा भिख माग्दो हो तर बदलामा साम्प्रदायिक दुर्भावनाका किटाणु उपहार स्वरूप पाइरहिएको छ । श्रमजीवी वर्गको वकालत गर्ने सुकिलो कपडामा सजिएका नेतृत्व तिनैको पसिनामा लुछाचुँडी गर्न हिच्किचाएको लाग्दैन । अभावले थिचिएपछि रोगसँग मुकाबिला गर्दै कर्मलाई सरापेर यमढोका ढक्ढक्याउनेका चित्कार झनै दयनीय छन् ! अस्पताल वा छाप्रोको मृत्युशय्यामा साहुको ऋण सम्झेर वेदनाभित्र चुर्लुम्म डुबेको नेपाली बन्धुको पीडा कति हृदयस्पर्शी हुन्छ ।

लाजमर्दो कुरा राहतमा समेत भ्रष्टाचार हुन्छ, श्रम शोषण हुन्छ, बालश्रम शोषणका घटना पुराना बन्नै सक्दैनन् । बाध्यताले, अवसरले, व्यवस्थाले; प्राचीन युगको संस्कार र परम्पराबाट उम्कँदै गरेका राउटेदेखि बडेमानका घरमा पहरेदार राखेर चिल्ला गाडीमा सवार गर्ने व्यक्तिका बिचको असमानता छँदै छ । राजधानी या अन्य ठूला सहरमा; बोतल, प्लास्टिक, काटुन टिप्ने अर्थात् कमसेकम प्रकृतिलाई सफाइ गरिरहेका ती नेपालीलाई महलवासीले मात्र होइन चिसो रातमा सँगै सुत्ने गल्लीका भुस्याहा ककुरले समेत लखेटिरहेका हुन्छन् ।
आज पनि ओडारमा बस्ने नेपाली कति होलान्, तथ्याङ्क यकिन कहाँ छ र ! गाडी गुड्ने स्थानसम्मका समस्यालाई अलिअलि समेट्न थालिए पनि विकासको गन्ध थाहा नपाएका आफ्नै खाले संस्कारमा बाँच्ने नेपालीका कति पीडा पर्दा पछाडि छन् । विभिन्न सञ्चार माध्यमले खान्तलास गरेर यस्ता अनेकौँ पीडालाई तथ्यसहित पर्दाफास गर्नु अवश्य पनि गर्वको विषय हो । चेतना, शिक्षा, अवसरबाट टाढिएका दुर्गम हिमालवासी मात्र नभएर श्रमको उचित मूल्य नपाएका बोल्न नसक्ने र समस्या ओकल्ने कुरा नबुझेका सोझा सिङ्गो नेपालवासीको छाक टार्ने टीठलाग्दो दैनिकीले मुहार फेर्न सकेको लाग्दैन । सशस्त्र द्वन्द्वले, प्राकृतिक प्रकोपले, महामारीले या अन्य कारणले अर्थात् चाहेर पनि उद्यम गर्न नसकेका कैयौँ देशवासी गरिबीको रेखामुनि छन् । सबाल्टर्न वर्गको यो यथार्थ कुनै शब्दको खेल होइन, यथार्थ हो । गरिबी र असचेतनाका सिकार बनेर आज पनि छाउपडी प्रथा, देउकी प्रथा, कमैया प्रथा अनि झारा जस्ता विविध प्रथाले मानव अधिकारमा ग्रहण लगाइरहेको छ । यसमा दोष संस्कार मात्रै होइन राज्यले असमान रूपमा विकासलाई यस्ता अनेक आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक या अन्य कारणले कैयौँ नेपालीहरू गरिबीको चपेटामा थिचिएका छन् ।

जनता जति आफ्ना माग तेस्र्याइरहेको छ र सरकार जुन विषयमा भुलिरहेको छ, त्यो पनि गरिबीको उच्च पराकाष्ठासँग थुरिएको छ । हुन त भीरपाखा कर्मशील लाग्छन् तर स्वदेशको पौरख समुद्रपारी बलात्कृत भइरहेको छ । सत्तादौडको घोडेजात्राबाहेक अन्य खेल रुचिकर लाग्न छोडिसक्यो । अनमोल प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक दौलतले निर्वस्त्र प्रदूषण स्थल बन्नु परेको तीतो सत्य आजकै हो । भोकाएकी आमाको स्तनसँग झुत्ती खेल्ने नाबालकलाई कुपोषणको स्वाद प्राप्त भइरहेकै छ, आज पनि । गाँस, वास र कपासको आधार नभएकाहरूले चाहेर पनि उच्च शिरले राष्ट्रिय गान गाउनलाई छातिमा हात राख्न सक्दैन रहेछन् । मानवता, दया, करुणा सबै पैसामा बिक्न थालेका छन् । नेपालको संविधान भाग ३ को “मौलिक हक र कर्तव्य” अन्तर्गत समानताको हकभित्र स्पष्टीकरणमा “आर्थिक रूपले विपन्न भन्ने पदावलीको अर्थ सङ्घीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति सम्झनु पर्छ” भनी उल्लेख गरिएको छ । तर, समाजले तिनै निरीह दीनहीनमाथि अनावश्यक दोष थोपर्छ, देख्नेले ताली बजाउँछन् । जुन गरिबले राष्ट्रिय पोसाक लगाएर प्राण धान्ने अन्न उब्जाउँछ, उसलाई पाखे उपनाम मिल्छ । अत्याधुनिक युगको सुगन्धले भरिएको सुगम सहरका गल्लीहरूमा महङ्गीको बज्र प्रहार हुन्छ ।
छिँडीको अँध्यारो कोठालाई मासिक दाम तिर्ने श्रमजीवीको रडाको कति टीठलाग्दो लाग्छ ! साँझमा भुटुनको जोहो गर्न र चाडपर्वमा भुटन खुवाउने सङ्घर्षमा हजारौँको केश पाकिरहेको छ । सुकिलो कपडामा चट्ट आइरन लगाएर बैंकमा, निजी विद्यालयमा, पसलमा या अन्य संघ संस्थामा नै काम गर्ने होऊन्, यहाँ ती मनोवैज्ञानिक दर्दको बेग्लै र आ–आफ्नै पीडादायी संसार छ । सामान्य वर्गले राजनैतिक आन्दोलनमा कति प्राण होमिरहँदा आज देशमा तिनका पसिनामा होलि खेलिँदा भ्रष्ट्राचार भइरहेका तथ्य सार्वजनिक छन् ।

जति नियम बनून् तर मेनपावरमा घरखेत धितो राखेर ल्याइएको लाखौँको बिटो बुझाउँछन् अनि बिलमा चाहिँ तोकिएको रकम मात्र तिरेको प्रमाण बोक्नुपर्ने श्रमप्रेमीका पीडा उस्तै छन् । कति नेपालीले परदेशकै भूमिमा आफ्नो प्राण छोड्नु परेको, कतिका हत्या गरिएका हृदयविदारक घटना सञ्चार माध्यममा आइरहेकै छन् । मानवीय संवेदनाका प्रहार त हृदयविदारक छन् नै त्यसमा अभैm विदेशिएका परिवारले टहरो या छाप्रोमा सुखको चाड–पर्व मनाउन चाहँदाको रुन्चे हाँसो कति दयनीय हुँदो हो ! आखिर सामाजिक न्याय कहाँ छ, प्रश्न त उब्जिन्छ ।

देशसँग भने आय आधार कृषि उत्पादन गरी उत्पादकत्व वृद्धि गर्नदेखि आधुनिकीकरण र बजारीकरणको टड्कारो आवश्यकतासँग बाँझो खेतको बिलौना छ । औद्योगिकरणको विकासमा भौगोलिक, सांस्कृतिक विकास गर्दै विदेशी आकर्षणको पाटोले तङ्ग्रीन पाएको छैन । बढ्दो कर्जा सङ्कट, स्थानीय अवरोध, विद्युत योजना निर्माण र खरिद सम्झौतामा देखिएका चुनौती गरिबी निवारणका तगारा छँदै छन् । विप्रेषण आयलाई पुँजीमा रूपान्तरण गरी उत्पादनमूलक बन्न नसक्दा, गैर कानुनी वित्तीय कारोबार रोक्न चुनौती भइरहँदा अर्थविद्हरूको मन कुँडिएको हुन्छ । गरिबीलाई मापन गरेर पुँजी व्यवस्थापन गर्ने तथा वित्तीय स्थायित्व तथा पहुँच अभिवृद्धि गर्ने कुराका अप्ठ्यारा त्यहाँ जोडिँदा रहेछन् ।

सबै दोष सरकारको थाप्लोमा थोपर्ने विचारभन्दा आफैँले पनि होस्टेमा हैँसे गरेर ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने मन्त्रसँग तमाम नेपालीहरूले एकाकार हुन जान्नुपर्छ । गरिबी निवारणका खातिर सरकारले गरेका, थालेका र गरिरहेका कर्णाली रोजगार कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम, स्थानीय अग्रसरतालाई नयाँ ज्ञान र सीपसँग जोड्ने कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, नेपाल खाद्य सङ्कट सम्बोधन जस्ता अनेकन कार्यक्रमले ठोस परिवर्तन ल्याएको पनि देखिएन । राष्ट्रिय गरिबी निवारण नीतिको मस्यौदा निर्माण, रोजगार तथा आयमूलक कार्यक्रम सञ्चालन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम जति प्रभावकारी बन्छन् त्यति सामाजिक न्यायमा सुधारको आशा नै कसरी गर्न सकियो र !

लैङ्गिक समता अभिवृद्धि दर बढ्नु, विद्यार्थी भर्नादर वृद्धिबाट साक्षरता बढ्नु तथा बाल, शिशु र मातृ मृत्युदर घट्नु गौरवका विषय हुन् । सरकारले चालेको निःशुल्क प्रसूति सेवा, यातायात खर्च प्रदान, दुर्गम क्षेत्रका स्वास्थ्य कर्मीलाई दिइएका उत्प्रेरणादेखि गर्भ पतनका कानुनी मान्यताले अलिकति राहत दिइरहँदा बल्ल गरिबीको पीडामा मलमपट्टि पनि भएको लाग्छ । विभिन्न खाले खोप, पोलियो, हात्ती पाइले रोग उपचार सेवादेखि गरिबी निवारण कोषका कार्यले राम्रो उपलब्धि हासिल गरेको छ । युवा तथा साना व्यावसायी स्वरोजगार कोष, दिगो विकासका लक्ष्य, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरूले गरिबी निवारणमा लक्षित भएर गरेका उद्यमशील कार्यक्रमलाई व्यवहारमा उतार्दै जानु आवश्यक छ । मानवताको विषयभित्र बन्धुत्वको भाव जागृत बन्दो रहेछ । आज सरकारी मात्रै नभएर अन्य संघ संस्थाले समेत मानवताका लागि नेपालमा अतुलनीय भूमिका खेलिरहेका छन् । यी र यस्ता विशुद्ध मानवीय सेवामा समर्पित कार्यक्रम, मनकारी व्यक्ति र संस्थाका मानवीय व्यवहारले प्रत्यक्ष अप्रत्यक्ष तवरबाट विपन्नका वेदनाले आँसु ओभाउने अवसर पाउँदा रहेछन् । अतः सरकारले समृद्धि चाहने हो भने गरिबी उत्थान र त्यो मानव हृदयको घाउ धुने बाटो समात्न जान्नुपर्छ । युगले सत्ता लिप्सालाई काखी च्यापिरहँदा अस्थिर राजनीतिले समृद्धि र विकासमुखी आशाको ढोकामा तगारो हालेको भान हुन्छ । यसमा देशका नेतृत्व तह नै सबैभन्दा बढी दोषी हुने रहेछन् ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया