राजाहरु झैँ नेताहरुका दिन पनि गए, भविष्य हुनेछ विशेषज्ञ र वैज्ञानिकको

अन‌ि यो पनि

ओशो ! राजनीति के हो ?
रविन्द्र !
राजनीति नीति हैन अनीति हो । थाहा छैन कुन बेइमानहरुले यसलाई राजनीतिको नाम दिए । नीति त यसमा केही पनि छैन । राजनीति होः शुद्ध बेइमानीको कला ।

मुल्ला नसरुद्दीनको छोराले उसलाई सोध्यो– ‘बुबा, तपाईं बडो राजनीतिको खेल खेल्नुहुन्छ; राजनीति के हो ?’ उसले भन्योः ‘शब्दमा भन्न गाह्रो छ, यो बडो रहस्यमय कुरो हो । तर, अनुभवमार्फत तँलाई बुझाउन सक्छु ।’ ‘बुझाउनु’ उसले भन्यो । छोरोलाई भन्योः ‘सिँढी चढ्’ भित्तामा भ¥याङ्ग थियो, छोरो चढ्यो । नसरुद्दीनले भन्योः ‘हामफाल, म समात्छु ।’ छोरो हच्क्यो । सिँढी अग्लो थियो; हामफाल्दा पिताको हात छुट्यो, सम्हाल्न सकेनन्, लडियो भने त हातखुट्टा भाँचिन्छ ।

नसरुद्दीनले भन्यो : ‘अरे, आफ्नो बाउलाई विश्वास गर्दैनस् ! हामफाल छोरा हामफाल ।’ पटक–पटक भनेपछि छोरो हामफाल्यो । नसरुद्दीनले ठाउँ छाडेर उभियो । दुइटै घुँडाको छाला गयो, नाकबाट रगत बग्न थाल्यो । छोरोले भन्यो ‘मतलब !’ तब नसरुद्दीनले भन्यो ः ‘यो राजनीति हो छोरा; आफ्नो बाउलाई पनि भरोसा नगर्नु । भुलेर पनि कसैलाई भरोसा नगर्नु – यो पहिलो पाठ ।’

धोखा नै धोखा छ । बेइमानी नै बेइमानी छ । गलाघोट प्रतियोगिता छ । राजनीति हिंसा हो र बडो चलाखीपूर्ण हिंसा हो । रगत कतै देखिँदैन तर हत्या भइसक्छ । हात नरङ्गीकनै हत्याहरु हुन्छन् । मान्छे पुछिदिन्छन्, उनीहरुको फेरि पत्तो पाइन्न, र कहीँकतै आवाज सुनिन्न ।

एउटा राजनेता कसैलाई आफ्नो फाटेको छाता बेच्ने प्रयत्न गरिरहेका थिए । तर, भावी ग्राहक छाताको हालत देखेर अलि हच्किरहेको थियो । एकदम नाईं भन्न नि सक्थेन । नेता बेला बेलामा शक्तिमा आउँदथे । अहिले त सत्तामा थिएनन्, हालत खराब थियो त्यसैले छाता बेचिरहेका थिए । तर, थिए त राजनेता, कहिले फर्केर ताकतमा आउने हुन्, कसले भन्न सक्छ र, त्यसैले ऊ एकदमै नकार्न पनि सक्थेन । त्यो भावी ग्राहकले उनलाई सोध्यो ‘नेताजी, मलाई छाताको आवश्यकता त छैन, तर तपाईंको छाता हो, पक्कै पनि केही खुबी होला । यसको खास खुबीचाहिँ के छ ? तपाईंको चीज र खुबी नहोस्, यो त हुने सक्दैन ।’ कहिले छाता त कहिले नेताजीको अनुहारमा हेर्दथ्यो । छाताको हालत त एकदम खराब थियो; त्यो त सित्तैँमा दिए पनि लिन योग्य थिएन । नेताजीले भने ः ‘यो छातामा बडो खुबीहरु छ । यदि तपाईंले एउटा कुराको मात्र ख्याल गर्नु भो भने यो छाता वर्षौं तपाईंको काम आउनेछ ।’ ग्राहकले सोध्योः ‘कुन कुराको ख्याल राख्नु पर्छ ?’ नेताजीले भनेः ‘बस्, यसलाई घाम र पानीबाट जोगाइराख्नू ।’

राजनीति शोषण हो, धोखा हो, प्रवंचना हो । राजनीति प्रवंचनाको शास्त्र हो ।

आश्वासन देऊ र सुन्दर आश्वासन देऊ । र, आश्वासन दिन नडराऊ, किनकि त्यसलाई कसैले न पूरा गर्दछ न गर्नु पर्नेछ । हो, पाँच÷सात वर्षमा, नयाँ चुनाव आउँदासम्म, मान्छेहरु तिमीबाट दिक्क हुनेछन् । केही फिक्री नगर । तिम्रो भाइ, भतिजाहरु तबसम्म मान्छेहरुलाई आफ्नो आश्वासनबाट राजी गर्नेछन्, उनीहरु सत्तामा आउनेछन् ।

जनताको स्मृति अत्यन्त कमजोर छ, उनीहरु सजिलै भुल्दछन् कि तिमीले आश्वासन दिएका थियौ तर पूरा गरेनौ । यदि तिमीलाई चुनावमा हराए नै भने पनि तिम्रै काकाको छोरा, तिम्रै भाइ बन्धु सत्तामा बस्नेछन् । उनीहरु पनि त्यत्ति नै धोकेबाज छन् । यसरी राजनीतिको खेल चल्दछ । र, यो दुई चक्काहरुको बीचमा जनताहरु पिसिन्छन् ।

जसरी राजाहरुको दिन गयो त्यसरी नै राज नेताहरुको दिन जानु पर्दछ । यो थाहा पाएर तिमी चकित हुनेछौ । किनकि आजभन्दा पाँच सय वर्षअघि कसैले एक दिन यस्तो आउनेछ जब राजाहरुको दिन समाप्त हुनेछ भनेको भए कसैले पनि मान्ने थिएन । कसैले मान्न सक्थेनन् कि राजाहरुको पनि दिन जानेछ । यो हुनै सक्दैन । राजा त स्वयम् परमात्माले बनाएका हुन् । उनकै प्रतिछवि हुन् । उनीहरु त उहाँकै प्रतिनिधिहरु हुन् पृथ्वीमा । उनीहरु कसरी जान सक्दछन् ? राजाहरुबिना त पृथ्वी डगमगाउने छ । राजा सुखी त प्रजा सुखी । राजाबिना त प्रजा नै कसरी बच्लान् ? यो कल्पनाभन्दा बाहिर थियो होला । तर, तिमीले देख्यौ कि राजा गए । अब सिर्फ पाँच किसिमका राजा बचेका छन् । बच्नेछन् – पाँच किसिमका राजा बच्नेछन् । चार तासका र पाँचौँ इङ्ल्याण्डको । इङ्ल्याण्डको राजा बच्नेछ किनकि उसको स्थिति पनि तासको राजाहरुभन्दा भिन्न छैन ।

बस, बाँकी राजाहरु त गए ।

म तिमीलाई भन्छु कि राजनेताहरु पनि जाने नजिक छन् । उनीहरुको समय पनि गयो । घिस्रिरहेका छन् । अब धेरै बेर छैन । उनीहरुको मृत्युको घडी पनि नजिकिँदै छ । उनीहरुले पनि धेरै उपद्रव गरिसकेका छन् । यो शताब्दीले उनीहरुको अन्त देख्नेछ । राजनेताको अब कुनै भविष्य छैन, न हुन सक्दछ ।

दुनियाँमा एक अर्कै किसिमको शासनको आवश्यकता छ ।

राज नेताको हैन – विशेषज्ञको; राज नेताको हैन – वैज्ञानिकको; राज नेताको हैन – बुद्धिमत्ताको ।

तब दुनियाँ एक अर्कै किसिमको दुनियाँ हुनेछ । तर, आज त्यो कल्पना गर्न नि कठिन छ । राज नेताको कुल धन्दा नै यही हो कि कुनै पनि तरिकाले तिम्रो छाती थिचिरहनु । र, न केवल तिम्रो छाती थिच्नु, बरु तिमीलाई यो पनि सम्झाइरहनु कि उ तिम्रो छातीबाट हट्यो भने तिम्रो अत्यन्तै नोक्सान हुनेछ । तिम्रै हितमा ऊ तिम्रो छातीमा बसेको छ । राज नेताको काम यत्ति होः तिमीलाई चुसिरहने र तिमीलाई भनिरहने कि यो तिम्रै हितमा भइरहेछ ।

एउटा साहेबले एक आलसी र कामचोर मान्छे नोकर राख्यो । त्यो नोकर अरू कोही नभएर चुनावमा हारेको एउटा नेता नै थियो । एकदिन उसले नोकरलाई भन्योः ‘जाऊ, बजारबाट सब्जी ल्याऊ ।’ नोकरले भन्योः ‘साहब, म यो सहरमा नयाँ हुँ, हराएँ भने ।’ यो सुनेर मालिक आफैँ बजार गएर सब्जी किन्यो र नोकरलाई भन्योः ‘ल, यसलाई पकाऊ ।’ यसमा नोकरले भन्योः ‘साहब, यो ग्यास चुलोको मलाई बानी छैन । कतै सब्जी जल्यो भने ?’ यो सुनेर मालिकले आफैँ सब्जी पकाएर नोकरलाई भन्योः ‘अब खाना खाऊ !’ नोकरले बडो सहजभावले भन्योः ‘हजुर, हरेक कुरामा नाईं भन्न राम्रो लाग्दैन ! हजुरले भन्नु भो, त्यसैले खानेछु ।’

तिमी सोध्दछौः राजनीति के हो ? यसो चारैतिर आँखा खोलेर हेर । जहाँ धोका देख्छौ, बुझ त्यहाँ राजनीति छ । जहाँ बेइमानी देख्छौ, बुझ्नु त्यहीँ राजनीति छ । जहाँ खल्ती काटिएको देख्छौ, बुझ्नु त्यहीँ राजनीति छ । जहाँ तिम्रो गर्दन कसैले दबाउँछ र भन्छ म सेवक हुँ, जनसेवक हुँ – बुझ्नु त्यही राजनीति छ । ध्यान राख्नुः गर्दन कसैले सीधै थिच्दैन । मान्छेहरु खुट्टा दबाउनुबाट सुरू गर्दछन् । अनि बढ्दै बढ्दै गर्दनसम्म पुग्छन् । …

राजनीतिको व्यर्थतालाई बुझ । र, राजनेतालाई यति आदर दिन बन्द गर । के कारण हो कि राजनेतालाई यति टाउकोमा उठाएर हिँड्छौ ? यो छुद्र, क्रूर शक्तिको पूजा हो । यो हिंसक संगीनहरुको पूजा हो । राजनेताको ताकत के हो ? किनकि संगीनहरु उनीहरुको हातमा छ । सत्ताको पूजाले तिमीभित्रको यो कुराको खबर दिन्छ कि न तिमीमा संस्कार छ, न तिमीमा समझ छ ।

आउन देऊ राजनेतालाई, जान देउ राजनेतालाई । उपेक्षा गर । राजनेताहरुको जति उपेक्षा हुन्छ, त्यति नै राम्रो हो – मोरारजी देसाइ आउँदा न कुनै भीड जम्मा होस्, न कसैले फूलमाला लगाओस् । आऊन्, जाऊन् । तब उनीहरुलाई पनि थाहा होस् कि दिन गएछ । तर, तिमी रमिते छौ । तिमी हिँडदछौ । जहाँ भीड हिँड्यो, त्यतै तिमी पनि हिँड्यौ । तिम्रो भीडले शक्ति दिन्छ राजनेताहरुलाई । यो भीडलाई बिदा गर ।

कतै सत्सङ्मा बस । कहीँ कोही हरि गुण गाइरहेछ, त्यहाँ बस । जहाँ कतै चार मस्त पागल प्रभुचर्चामा संलग्न छन्, त्यहाँ बस । केही प्रेमको गीत गाऊ । केही करुणाको कृत्य गर । केही ध्यानमा डुब्ने गर । समय यस्तो ठाउँहरुमा लगाऊ । राजनीतिलाई उपेक्षित गर, उपेक्षा देऊ । यसैलाई म विद्रोह भन्छु ।

म राजनीतिको विपरीत क्रान्ति सिकाउँदिन; विद्रोह सिकाउँछु । राजनीतिबाट ढाड फर्काउ । यी राजनेता आफैँ उदास र व्यर्थ हुन् । तिनीहरुलाई थाहा होस् कि मान्छेहरुलाई अब कुनै रस रहेन । जति तिम्रो रस तिनीहरुमा कम हुन्छ, त्यति नै तिनीहरुको बल कम हुन्छ । जति तिनीहरुको बल कम हुन्छ त्यति नै राजनीतितिर दौडने मान्छेहरुको संख्या कम हुन्छ । बिस्तारै बिस्तारै आफ्नो जीवनलाई आफ्नै हातमा लिऊ ।
हंसा तो मोति चुँगै (१९७९)

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया