भरतपुर । एलोभेरा (घिउकुमारी) किसानले पाम एग्रोटेक प्रालिका थप दुईजनाविरुद्ध जाहेरी दिएका छन् । शुक्रबार ती किसानले ठगीको आरोपमा चितवन प्रहरीमा जाहेरी दिएका हुन् ।
विभिन्न जिल्लाबाट आएका किसानले पामकी तत्कालीन कार्यकारी अधिकृत कल्पना पौडेल र कुन्ता कार्कीले ठगी गरेको भन्दै जाहेरी दिएका हुन् । यसका संचालक रुद्र गिरी अघिल्लो हप्ताको शुक्रबार पक्राउ परेका थिए । कार्की गिरीकी श्रीमती हुन् ।
प्रहरीले गत सोमबार उनीविरुद्ध ठगी मुद्दा चलाइ १० दिनको म्याद लिई अहिले अनुसन्धान गरिरहेको छ । गिरीले अहिलेसम्म किसानबाट २१ करोड संकलन गरिसकेका छन् । जाहेरीमा किसानहरुले एलोभेराको पात र बिरुवा बिक्री नहुँदा किसानले अहिलेसम्म ब्यहोर्नु परेको नोक्सानको क्षतिपूर्ति गिरीले दिनु पर्ने माग राखेका छन् ।
दैलेख, तनहूँं, पाल्पा, काठमाडौंलगायत जिल्लाबाट किसान यहाँ आएका छन् । किसानले एलोभेराबाट आम्दानी नभएको र डेढ वर्षदेखि पात र बिरुवा बिक्री गर्न सञ्चालकले चासो नदिएको पीडा पोखेका छन् । गिरीले तीन महिनामा पात र छ महिनामा बिरुवा आफैंले किन्ने भन्दै संझौता गरेका थिए ।
सुरूमा बिरुवा दिउन्जेल चासो जनाएपनि पछि गिरीले किसानको फोन नउठाउने, मोबाइल स्विच अफ गरेर बस्ने, किसानलाई खाली चेक दिएर पठाउँदै आएका थिए । घिउकुमारीबाट ३१९ जना किसान ठगिएका हुन् ।
Discussion about this post