विषाणुकै रजगज (निबन्ध)

अन‌ि यो पनि

कोभिड र यसबाट म्युटेसन भएको विषाणुले अहिले दक्षिण एसिया त्यसमा पनि भारत र नेपालमा निकै रजगज गरेकै छ । ‘तँ’देखि ‘तपाईं’, ‘ऊ’देखि ‘उहाँ’ र ‘म’देखि ‘हामी’सम्म नै प्रभावित तुल्याइरहेछ अहिले । यो त मानवशरीरमा गम्भीर असर पु¥याइरहेका भाइरस भए । तर, देशरुपी देहमाथि हानि पुु¥याइरहेका त¤व पनि कम छैनन् भन्ने लाग्यो मलाई ।

म यस्तै केही सोचिरहेथेँ । एकदिन साँझ दूरदर्शनमा देखायो, पक्राउ परेको नक्कली प्रमाणपत्र बनाउने मानिस र मेसिन । तिनी पक्राउ परेका थिए काठमाडौँबाटै । जति समाचार सुन्दै गएँ उति नै भएँ दुःखी पनि । जुन विश्वविद्यालयको चाह्यो त्यही विश्वविद्यालयको, जुन तहको चाह्यो त्यही तहको, जुन सङ्कायको भन्यो त्यही सङ्काय र विषयको । द्रव्यअनुसार श्रेणी दिइने कस्तो काइदाको कोठे पजनी हुँदै रहेछ देशमा । त्यसै विषयलाई प्रसारण ग¥यो पौने नौ बजेको बिबिसीले पनि । त्यसको झन्डै ३ वर्षपछि होला अर्को त्यस्तै सुनेँ समाचार । कर्मचारीले फेल भएको विषयमा पनि नम्बर थपेर गोल्ड मेडल दिलाएको । मनले सोच्यो, ‘ओहो ! देशमा सज्जनहरुको भन्दा यस्तैको छ रजगज । सोझा, सीधा र विद्वत्ता हासिल गरेका युवा सेवा गर्ने अवसर नपाएर त्यो अति उष्ण खाडी राष्ट्रहरुमा तनमन जलाउन विवश छन्, तर यहाँ दुष्टहरुका कारण मुलुक बन्दै छ छियाछिया ।’ यी कुरा सुन्दा, देख्दा र भोग्दा कति पीडा हुँदो हो खेप्नेलाई झन् । मेरै मन र मुटु भित्रभित्रै दुख्न थाल्यो कुटुकुटु । मन बन्न थाल्यो एकतमासको । मनमा झन् पहिलेका सुनेदेखेका घटना घुम्न थाले चलचित्रझैँ ।

केही महिनाअघि सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगिछन् एउटी महिला । सामान्य चेकजाँचपछि भने चिकित्सकले, “पेटमा ट्युमर छ, छिट्टै शल्यक्रिया गरिएन भने खतरा हुन सक्छ, त्यसैले भरसक छिटो पैसा जम्मा गर्नुहोस् ।” ट्युमरै भएपछि र समय पनि थोरै भएको थाहा पाएपछि को नआत्तिएला र ! उनी कम्पित भइन् । परिवारजन भए चिन्तित । रोए छोराछोरी र पिरोलिए पति । पैसाको जोहो भयो बल्लतल्ल र पुगे आफन्तजन अस्पतालमा । निर्धारित रकम जम्मा गरिदिएपछि चिकित्सकले गरिदिए शल्यक्रिया । डिस्चार्ज भएर घर गए पनि पीडा बीसको उन्नाइस हुनुको सट्टा झन् एक्काइस बाइस हुन थालेपछि अर्को अस्पतालमा भर्ना भइन् उनी । बल्ल थाहा भयो, पेटमै औजारहरु छाडिदिएका रहेछन् चिकित्सकले र ट्युमर स्युमर भएको रहेनछ केही । राष्ट्रिय समाचारको रुप लिएको थियो यो त्रासद घटनाले त्यसबेला ।

कुनै वैध चिकित्सकबाट हुन सम्भव थिएन यस्तो अक्षम्य अपराध । गलत प्रेस्क्रिप्सन लेखिदिएर हजारौँ नरनारीलाई मृत्युको घाट पुग्न बाध्य पार्ने कार्य हुन सक्तैन कुनै सक्कली इमानदार चिकित्सकबाट । यस्तो गलत कार्य हुन सम्भव छ, जाली प्रमाणपत्रधारीबाट मात्रै । ‘कच्चा वैद्यको मात्रा यमलोकको यात्रा’ बूढापाकाले त्यसै बनाएका थिएनन् उखान ।

अभियान्त्रिक पनि जाली प्रमाणपत्रधारी छन् भन्ने आएकै छ सुन्नमा । त्यस्ता आभियान्त्रिकबाट कस्तो पूर्वाधार बन्ला र बनिरहेको होला ? आज छर्लङ्गिँदै छ, महिना नबित्दै ग्वार्लम्मै ढल्ने र भत्कने भवन, सडक र पुलहरुको अन्तर्य । द्रव्यमोहमा परी कमसल वा कम मात्रामा रड, सिमेन्टजन्य निर्माण सामग्री उपयोग गरिँदा पनि भएको हुन सक्छ यस्तो । यस्तो कृत्यमा कथित सक्कली इन्जिनियरहरुको पनि सुनेको छु संलग्नता । वायुयान चलाउने पाइलटका प्रमाणपत्रहरु पनि नक्कली भेटिएपछि हामी त के विश्व नै भयो स्तब्ध । यो स्थिति झन् भयावह छ, शैक्षिक संस्था र नेपाल प्रहरीमा पनि ।

हाम्रो देश राजनीतिक अतिवादबाट छ उत्तिकै ग्रसित । राणा शासन अन्त्य गर्ने सन्दर्भमा पैदा भएका दलहरु स्थापनाकालमा थिए उद्देश्यमूलक । पञ्चायती अतिवाद, यही कालमा पनि भूमिगतरुपमा कम्युनिज्मका नाउँमा एकभन्दा अर्को अतिवादी बन्दै एक दल परिणत भए अनेकौँ दलमा । प्रजातन्त्रको पुनर्बहालीपछि सैद्धान्तिक अतिवाद, स्वार्थान्धताको अतिवाद, अहङ्कारी सोचरुपी अतिवादजस्ता कयौँ अतिवाद भए पैदा । मलाई लाग्छ, यो देश अस्थिर र पिछडा रहनमा यस्तै अतिवाद छ जिम्मेवार । सशस्त्र सङ्घर्ष पनि हो अतिवादकै उपज । द्वन्द्वको दावानलमा लपेटियो मुलुक । रक्तवीजझैँ यस्ता अतिवादहरु उम्रिरहे झन्झन् ।

गणतन्त्रको स्थापनापछि पनि जन्मिए कैयौँ अतिवाद । एउटा अतिवाद यथार्थको धरातलमा अवतरित हुन नपाउँदै सँगै अरु कयौँ अतिवाद जन्मिए र पैदा गरे अस्थिरता र अराजकता । अखण्डतामाथि बोले धावा तिनले । भ्रष्टता र लुटतन्त्र झाँगिएको देखेपछि पशुपति शर्माले गाए ‘लुट्न सके लुट् कान्छा नेपालमै हो छुट ।’ हो, समकालीन समाजको जीवन्त वाणी थियो यो । हिजो पनि ब्रह्मलुट थियो र छ आज पनि । अख्तियार अनुसन्धान आयोगको रिपोर्ट भन्छ यही । अदुअआका अध्यक्ष भन्छन्,‘भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने मालपोत कार्यालय बन्द गरे हुन्छ ।’ के सरकारी के गैरसरकारी सर्वत्र, यहाँसम्म कि त्यो ! ‘म’ हुँदै परिणत भएको छ ‘हामी’मा पनि ।

असार मसान्तमा विकास निर्माणको नाउँमा, फर्निचर खरिदको नाउँमा यस्ता अनेकौँ नाउँमा बन्ने फर्जी बिल बन्छन् धेरै, त्यसलाई सुनपानी छर्केर पास गर्छ राजनीतिले । परेवालाई चारो छरेझैँ बाटोमा ग्राभेल छरेर अनि बनिबनाउ बाटोमा नाली खोस्रेझैँ गरेर, गोबरले आँगन लिपेझैँ गुणस्तरहीन अलकत्राले मुछेको मसलाले हल्का लिपेर, दुई–चार वृक्षरोपण गरेर हिच्किचाउन्नन् मौकामा छक्का मार्न थोरै पनि । यस्ता दुई नम्बरी कार्य गर्नमा सघाइरहेछन् निर्माण व्यवसायीले पनि । खाद्य तथा पेट्रोलियम पदार्थमा मिसावट, खाद्य पदार्थमा मिसावट, पिँधमा जमेको लेदोको सफाइबिनै बिक्री गरिने ग्यास, पेट्रोल पम्पमा कम पेट्रोल हावा धेरै, बजेट भाषणमा कर नलागे पनि कर वृद्धि गरियो भन्दै हरेक वस्तुमा गरिने चर्को मूल्य वृद्धि हुन् कालोबजारी ।

जुन सरकार आए पनि ब्युरोक्रेसीको असहयोग पनि कम छैन पीडाकारक । कर्मचारी देशका हुन् आधारस्तम्भ र हुन् ती स्थायी सरकार पनि । राजनीतिक नेतृत्वलाई सरकार बनाउन चाहिन्छ जनमत, तर चाहिन्न यिनलाई । यसैले यिनीहरु कुनै न कुनै रुपमा राज्य सञ्चालनका बनिरहेकै हुन्छन् हिस्सेदार । यिनले पूर्णतः सहयोग गरेमात्र सफल हुन्छ सरकार । निस्वार्थ सहयोग अपेक्षित हुन्छ सुरक्षा, सञ्चार, व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य, विकास आदि हरेक क्षेत्रमा यिनकै । यिनले गरे सहयोग हुन्छ समृद्धि र विकास तर मन, वचन र कर्मले प्रायःले गरेनन् काम । यसर्थ हुन सकेन कालोेबजारी नियन्त्रण, रोकिएन मानव तस्करी, सुन तस्करी, लागू पदार्थ ओसारपसार, सीमा असुरक्षा बढ्नुमा भन्दा अतिशयोक्ति हुन्न । गुटबन्दी पनि कम दुःखान्तकारक छैन हाम्रा निम्ति । दलभित्रका नेता उत्तरी ध्रुव र दक्षिणी ध्रुवजस्ता । गुट–उपगुट र उपोपगुण साना–ठूला हरेक दलभित्र छन् । उहिलेका भुरे टाकुरे राजारजौटा र सामन्तजस्ता ।

यिनले गर्नै दिन्नन् राम्रो काम । हरेक गुट–उपगुटका पात्रहरु भरिन्छन् डाहाले । एकअर्कालाई पाच्य हुन्न उन्नति । सरकारलाई निर्णयविहीन, निर्णय भइहाले कार्यान्वयन हुनै नदिने, केही गरी कार्यान्वयन हुनेतिर गए पूर्णतः लागू हुन नदिनेसम्म गतिविधिमा हुन्छन् यिनै क्रियाशील । एमसिसी प्रकरण यसैको हो एउटा दृष्टान्त । सरकार बनाउनेदेखि गिराउनेसम्मका खेलका पछि यिनकै भूमिका हुने गर्छ प्रबल । यातायातको व्यवहार पनि छैन कम त्रासद । भाडा, भीड, भाषा, सवारी चलाउने तरिका हुन्छन् प्राणान्तक ।

दलाल, चाहे ती म्यानपावर कम्पनीका हुन् या बिमा कम्पनीका या हुन् घरजग्गा कारोबारी वा व्यापारमा देखिएका बिचौलिया वा वर्तमानमा देखिएका भूमाफिया वा हुन् नदीजन्य पदार्थका अवैध दोहनकर्ता वा अन्य । एकाधलाई छाडेर आपराधिक मनोविज्ञानबाट सम्पृक्त हुन्छन् उनीहरु । अवैध नदीजन्य पदार्थ दोहनको विरोध गर्ने दिलीप मारिए धनुषामा क्रसर डनबाट । कतै न कतै केही न केहीमा जुका, भ्यात्लुङ, उडुस र मच्छेडले झैँ सोझासीधालाई चुस्न मान्दैनन् धक । सोझासीधा यिनका चंगुलबाट सक्तैनन् उम्किन । रोजगारीका लागि भन्दै तेस्रो मुलुक पु¥याउने र त्यहाँ डान्सबारमा काम गर्न लगाउने, देह व्यापार गर्न बाध्य पार्ने, कतिपयका मिर्गौला, आँखा, कलेजो आदि अङ्ग निकाल्ने र बेचिदिने गर्दछन् । राम्रो कमाइ हुने प्रलोभन देखाएर पीडितसँग पनि पैसा असुल्छन् र असुल्छन् खरिद गर्नेहरुसँग पनि । यस्ता आसुरी प्रवृत्ति कम छैनन् यहाँ । त्यसो त, सञ्चारमाध्यम पनि छैनन् कम पीडादायी । अतिरञ्जनाका लागि ख्याति कमाएका छन् भारतीय मिडियाले । त्यस्तै अतिरञ्जनातर्फ उन्मुख छन् नेपालका सञ्चारगृहहरु पनि । खासगरी, यिनले लिने अन्तर्वार्ता, समाचार, प्रस्तुति शैली, विषयवस्तुको उठान र बैठान, सामाजिक सञ्जालहरुको अतिशयोक्तिपूर्ण प्रयोग आदिले मुलुक साँच्चै नै छ त्रस्त । यसले समाजलाई सचेत तुल्याउनमा भन्दा आतङ्क सृजना गर्नमा गरिरहेछ मलजल । सामाजिक स्वीकृति र सत्संस्कृतितिरभन्दा विकृतितर्फ धकेलिरहेको अनुभूति हुन्छ केही प्रसङ्गहरु हेर्दा ।

यी विकृतिबाट उकासेर मुलुकलाई सही दिशा दिन जनता स्वयं अग्रसर हुनुको विकल्प देख्दिनँ म । जे भए पनि र जो भए पनि खराब खराबै हो । यस्ता पहिचान भइसकेका खराबीलाई निर्मूल पार्न अग्रसर हुनुको सट्टा तिनलाई बढिरहन दिनु पनि हो अपराधसरह । यसमा राज्य पनि दृढ भई शुद्धीकरण गर्न अझै क्रियाशील भएको पाउँदिनँ अझै । आखिर खराबीले मुलुकका मुटु, कलेजो र नसाहरु जर्जर भइसकेको छ परिस्थिति । यसलाई शुद्धीकरण गर्न अब हाम्रो पाठ्यक्रममा रहेको त्रुटि सच्याउँदै र त्यसमा रहेका अभाव परिपूर्ति गर्दै पाठ्यक्रममा व्यापक परिमार्जन गर्नुको छैन विकल्प । यसमा जति विलम्ब हुन्छ राष्ट्रिय चेतनामा उतिउति नै हुन्छ खती ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

–किशोर खनाल भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया