चुनौतीपूर्ण बन्दै कोरोनाको दोस्रो लहर

अन‌ि यो पनि

पृष्ठभूमि

कोरोना भनेर चिनिने निकै परिचित, अहिलेको संसारको मुख्य समस्याको रुपमा रहेको र विश्वका प्रायः सबै देशहरुमा आजसम्मका दिनमा समेत तीव्रतर ढङ्गले फैलिई विध्वंस मच्चाइरहेको एक किसिमको भाइरसजन्य रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भनी नामकरण गरेको छ । विश्वव्यापी महामारी भएको यस अवस्थामा यो रोगको बारेमा हामी सबैमा सही ज्ञान हुनु आवश्यक छ । यो आलेख तयार गर्दाका दिनसम्म विश्वका २२१ देशमा यो रोग फैलिइसकेको, १४ करोड ९० लाखको हाराहारीमा सङ्क्रमित भएका, ३१ लाख ४० हजारको हाराहारीमा मृत्यु भएका र १२ करोड ७० लाखको हाराहारीमा निको भएका छन् । आजसम्म सबैभन्दा बढी अमेरिकामा सङ्क्रमित र मृत्यु भएका छन्, त्यसपछि भारत र तेस्रो नम्बरमा ब्राजिल रहेको छ । नेपालमा ३ लाख ५ हजारको हाराहारीमा सङ्क्रमित, ३ हजार २०० को हाराहारीमा मृत्यु र २ लाख ८० हजारको हाराहारीमा निको भएका छन् । अहिले त कोरोनाको भाइरसले रुपरंग परिवर्तन गरी नयाँ अस्तित्वमा देखा परेका र यो क्रम तीव्र बनाउँदै लगेर संसारलाई चुनौतीसमेत दिइरहेको देखिन्छ । नेपाललगायत संसारका धेरै देशमा यो महामारीको दोस्रो लहर फैलिइरहेको छ । यस्तो चुनौतीपूर्ण रोगलाई लापर्बाही नगरी व्यापक जनसहभागिताबाट मात्र नियन्त्रण गर्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले समेत भनिरहेको छ ।

वास्तवमा यो रोगका सम्बन्धमा हालसालै आएका विभिन्न चर्चा र परिचर्चाहरुले यो रोगसम्बन्धी सही सन्देश सबैमा पु¥याउनु उचित कर्तव्य पनि भएकोले यो आलेख तयार गरिएको हो ।

१. कोरोना (कोभिड– १९) के हो ?

कोभिड–१९ (कोरोना) अरु रूघाखोकीजस्तै एक किसिमको रूघाखोकी, फ्लु वा इन्फ्लुएन्जा नै हो । सर्वप्रथम चीनको वुहान राज्यमा २७ डिसेम्बर २०१९ (२०७६ पौष १४) मा देखा परेको कोरोना भाइरसको समूहभित्र पर्ने एक नयाँ भाइरस (कोभिड– १९) ले विश्वव्यापी महामारीको रुप लिएको छ । जुन एउटा असाध्य सङ्क्रामक रोग हो, कोरोनाले श्वासप्रश्वास प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अङ्गहरुलाई असर पार्ने गर्दछ । कहिलेकाहीँ पाचन प्रणालीलाई पनि असर पार्दछ भने शरीरको रोगप्रतिरोधात्मक प्रणालीलाई समेत असर पार्दछ, मिर्गौलामा क्षति पु¥याउँछ र मृत्यु गराउँछ । यो भाइरसले प्रसारण हुने क्रममा आफ्ना विशेषताहरुलाई परिवर्तन गर्दै लैजाने र नयाँ भेरियन्ट घातक भाइरसको रुपमा वृद्धि विकास भएको पाइन्छ । हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमताले यो नयाँ भाइरसलाई पहिचान गर्न नसक्दा रोगविरूद्ध लड्ने क्षमतामा कमी आउने भएकोले यो भाइरसले मानिसलाई मृत्युको मुखमा पु¥याउने गरेको हो ।

२. कोभिड–१९ सर्ने तरिका

हाल कोरोनाको दोस्रो लहर महामारीको रुपमा फैलिइरहेको र भाइरस नयाँ भेरियन्टमा देखा परेकोले यो रोग अझ बढी सङ्क्रामक भएको पुष्टि भएको छ । श्वासप्रश्वास प्रक्रियाद्वारा फैलिने यो रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा र श्वास फेर्दा निस्कने थुकका साना–ठूला छिटा वा कणहरुसँगै यो रोगका भाइरस पनि निस्कन्छन् र अरु व्यक्तिले श्वास फेर्दा उनीहरुको श्वासप्रश्वास प्रणालीमार्फत शरीरमा प्रवेश गर्छन् । यति मात्र होइन कि यस्तो रोगबाट सङ्क्रमित व्यक्तिले अरु व्यक्ति तथा अन्य कुनै पनि वस्तुलाई हातले छोएपछि साबुनपानीले हात नधोई सोही हातले आँखा, नाक, मुख छुँदा पनि त्यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्दछ । त्यस्तै हात मिलाउँदा, अङ्कमाल गर्दा, सँगै बसउठ गर्दा, सँगै सुत्दा, जुठो खाँदा, एउटै रूमाल वा लत्ताकपडा प्रयोग गर्दा पनि सर्न सक्छ । यसरी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सर्ने यो रोग अन्य रोगको तुलनामा धेरै छिटो सर्ने प्रकृतिको हुन्छ ।

३. कोभिड–१९ हुँदा देखा पर्ने लक्षण तथा चिन्हहरु

यो रोग लाग्दा सुरूमा ज्वरोका साथमा रूघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखा पर्दछन् । जस्तैः ज्वरो आउने (१००.४ डिग्री फरेनहाइट वा सोभन्दा बढी), टाउको दुख्ने, सुख्खा खोकी लाग्ने, नाक बग्ने वा नाक बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुृने, शरीर दुख्ने, आँसु आउने, मांसपेशी दुख्ने, शरीरका जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाकवाक लाग्ने, बान्ता आउने, स्याँस्याँ हुने, सास फेर्न निकै कठिन हुने, कडा निमोनियाका लक्षणहरु देखा पर्ने र मृत्यु हुन सक्ने आदि ।

५. कोभिड–१९ बाट बढी प्रभावित हुन सक्ने व्यक्तिहरु

यस रोगमा रूघाखोकी लाग्दाजस्तै लक्षणहरु देखिएता पनि यो रोगको भाइरसले शरीरको रोगविरूद्ध लड्ने क्षमतामा कमी ल्याउने र सामान्य लक्षणहरु जटिल बन्दै जाने अवस्थाको सृजना गराउँछन् । मुख्यतया अल्लि कडा खालको समस्या निम्तन सक्ने वा सबैभन्दा बढी प्रभावित हुने व्यक्तिहरु ५ वर्षमुनिका बच्चा (यद्यपि, हालसम्म बच्चाहरु तुलनात्मकरुपले त्यति प्रभावित भएको पाइँदैन), ६५ वर्षभन्दामाथिका व्यक्ति, गर्भवती, मधुमेहका रोगी, क्षयरोग, दम, निमोनिया वा अन्य श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्ति, मुटु, कलेजो, मिर्गौला कमजोर भएका व्यक्ति आदिमा कहिलेकाहीँ यो रोग जटिलतातर्फ गई व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

६. कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका उपायहरु

यो रोगबाट बच्न एकदेखि अर्को व्यक्तिको सम्पर्कमा नजाने, कसैले कसैलाई नछुने र अनिवार्यरुपमा गुणस्तरीय मास्कको प्रयोग सावधानीपूर्वक गर्नु पहिलो उपाय हो । जोकोही व्यक्ति पनि कोभिड–१९ बाट सङ्क्रमित हुन सक्ने भएकोले आमने–सामने नपर्ने, नछुने वा कसैको घरमा नजाने उपाय नै रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय हो । यसका साथै जथाभावी हिँड्डुल नगर्नु, सामाजिक तथा भौतिक दूरी कायम गर्नु र पटकपटक साबुनपानीले मिचिमिची हात धुनु नै यसको अर्को राम्रो रोकथाम र नियन्त्रणको विधि हो । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राखेर होसियारीका साथ एक जनाले मात्र आवश्यकताअनुसार बिरामीको हेरचाहमा खटिनुपर्छ वा अस्पतालको आइसोलेसनमा राख्न सकिन्छ ।

कोभिड–१९ को कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने । स्कुल÷कलेजहरु, बढी भीडभाड हुने सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, हाटबजार, अन्य बजार, फिल्म हल, सैलुन, योगकेन्द्र, मठमन्दिर आदि पूर्णरुपमा बन्द गर्ने । सार्वजनिक बस सेवा नचलाउने, विभिन्न खालका मिटिङ, गोष्ठी नगर्ने र लकडाउन गर्ने वा निषेधाज्ञा (कफ्र्यु) जारी गरी सर्वसाधारणलाई घरबाट निस्कन नदिएर घरभित्रै बस्न आग्रह गर्ने, रोग देखा परेको स्थानमा सिल गर्ने वा परिस्थिति मूल्याङ्कन गरी आवश्यक ठाउँमा मात्र कडा लकडाउनसमेत गर्न सकिन्छ, नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेर पनि रोगको सङ्क्रमण फैलनबाट बचाउन सकिन्छ । यसैगरी, यो रोग समयमै पत्ता लगाई सङ्क्रमण फैलन नदिन रगत (एन्टिजिन परीक्षण) तथा घाँटीको श्रावको परीक्षण (पिसिआर)समेत गर्नुपर्छ ।

जे होस्, यो रोग रोकथाम र नियन्त्रणका लागि व्यक्तिगत सम्पर्कमा नजाने वा एकदेखि अर्को व्यक्तिबीच कम से कम २ मिटरको दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, पटकपटक साबुनपानी वा स्यानिटाइजरले हात धुनेजस्ता आदि उपायहरु अवलम्बन गर्न सकिन्छ ।

७. कोभिड–१९ को उपचारका विधिहरु

वास्तवमा यो रोग लागेपछि हाम्रो शरीरले रोगविरूद्ध लड्ने क्षमता विकास गर्दै जान्छ, भाइरसलाई परास्त गर्दछ र रोग आफैँ निको भएर पनि जान्छ । तैपनि, बिरामीको अवस्था हेरेर यदि कडा खालको लक्षण देखिएमा अस्पतालमै भर्ना गरेर विशेष उपचार गरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ । अन्यथा, यो रोग लाग्दैमा तर्सिन पर्दैन, बरू लक्षणअनुरुपको औषधि खाने, जस्तैः ज्वरो आउने र टाउको दुख्ने भएमा सिटामोल खाने, सन्तुलित आहार लिने, घरायसी उपचार गर्ने, उचित स्याहारसुसार गर्ने, योग अभ्यास र प्राणायाम गर्ने आदि ।
घरायसी उपचार र व्यवस्थापनअन्तर्गत बिरामीलाई अलग्गै कोठामा राखी उचित रेखदेख गर्ने, घरमै आराम गरेर बस्ने, प्रशस्त झोलिलो र पौष्टिक खानेकुराहरु खुवाउने, मनतातो नुनपानीले मुख कुल्ला गर्ने, स्तनपान गर्ने बच्चा हो भने थप स्तनपान गराउने, बिरामी तथा उसलाई रेखदेख गर्नेले समेत मास्क वा व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई) लगाउने र कडा खालका लक्षणहरु देखिएमा मात्र सुविधासम्पन्न अस्पतालमा लैजाने आदि उपायहरु अपनाई यो रोगको उपचार गर्न सकिन्छ ।

अन्तमा, अहिलेको सन्त्रासपूर्ण रोगको कारक त¤व कोरोना भाइरस (कोभिड– १९) लाई सामान्य मान्नुहुँदैन । यो भाइरसको सङ्क्रमण र फैलावट अझै केही समय रहने देखिन्छ । अहिले नेपाललगायत विश्वका धेरै देशमा कोरोनाको दोस्रो लहर फैलिन थालेको छ । यो लहरले पनि धेरैलाई सङ्क्रमण गराउने र मृत्युसमेत गराउन सक्ने सम्भावना देखिन्छ । यो रोग यसपटक अझ बढी सङ्क्रामक भएर देखा परेको छ भने यसले युवा तथा बालबालिकालाई पनि असर गरेको देखिन्छ । रोगबाट जोगिन सुरक्षाका विभिन्न माथि उल्लेखित विधिहरु अपनाउनुपर्ने हुन्छ, खोप लगाउन लक्षित गरिएका व्यक्तिहरुले खोप लगाइ सुरक्षित रहन सकिन्छ, एकपटक खोप लगाएकाले दोस्रो डोजसमेत तोकिएको समयमा लिनुपर्छ र राज्यले निर्धारण गरेका सुरक्षा मापदण्डका उपायहरु अपनाउनुपर्छ । एकपटक कोरोना सङ्क्रमण भएका वा खोप लगाइसकेका व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण पुनः देखिएको अवस्था पनि छ, किनकि यो खोपको प्रभावकारिता जम्मा ६५ देखि ७० प्रतिशतमात्रै रहेको छ । कोरोनाका यस्ता खतरनाक अवस्थामा आफैँ लकडाउन हुने र सबै सचेत हुनुबाहेक यो रोगबाट बच्ने अरु उपाय छैन । अस्तु ।

(लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक तथा मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।)

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया