स्वास्थ्य पूर्वाधारहरुको अभाव

अन‌ि यो पनि

हाल कोरोनाको दोस्रो लहरले देशका कुनाकाप्चाहरुलाई नराम्रोसँग गाँज्न थालिसकेको छ । ठाउँठाउँका कहालीलाग्दा दृश्यहरु विभिन्न माध्यमहरुबाट सार्वजनिक भैरहेकै छन् । कोरोनाको पहिलो लहरमा देखाइएको जस्तो सतर्कता र प्राथमिक उपचारले मात्रै अब काम नदिने अवस्था आइसकेको छ । महामारी फैलिइरहेको यस प्रतिकूल अवस्थालाई हेर्दा यतिखेर गम्भीर सावधानी अपनाइएन भने महामारी भुसको आगोझैँ व्यापकरुपमा देशभरि फैलिँदै जाने कुरा निश्चितजस्तै छ । पहिलो लहर भारतबाट आएको र यो दोस्रो लहर पनि उतैबाट आएको त हो भनेर केवल विरोधमात्रै जनाएर अहिले पन्छिने अवस्था छैन । भारतमा सङ्क्रमितहरुको संख्या डरलाग्दो देखिनु र खुला सीमाका कारण देशमा कोरोना केस वृद्धि हुनुमा हात रहे पनि हामीमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिको पनि उत्तिकै भूमिका रहेको कुरालाई यहाँ नकार्न सकिँदैन ।

कोरोना सङ्क्रमणको तीव्ररुपमा भैरहेको वृद्धिले स्वास्थ्य पूर्वाधारहरुको अवस्थालाई समेत अहिले परिलक्षित गरिरहेको छ । देशका कतिपय अस्पतालहरुमा सङ्क्रमित बिरामीहरुको उपचारका निम्ति जनशक्ति अपर्याप्त रहेको कुराहरु अघि आइरहेका छन् भने स्वास्थ्य पूर्वाधारहरुको अभावलाई लिएर पनि ठूलो समस्या सिर्जना भैरहेका तथ्यहरु क्रमशः प्रकट पनि हुँदै गैरहेका छन् । कयौँ अस्पतालहरुमा भेन्टिलेटरको कमीसँगै अक्सिजनको अभाव र आइसियू कक्षहरु समेत पर्याप्त नहुँदा गम्भीर प्रकारका बिरामीहरु खतरामा पर्दै गएका छन् । अहिले नै अस्पतालहरुमा बिरामीहरु भरिएर नयाँ भर्ना हुन नपाइरहेको अवस्थाले कहालीलाग्दो तस्बिरलाई नै उजागर गरिरहेको छ, जसले भोलिका दिनहरुका लागि सुखद सङ्केत दिँदैन । अस्पतालहरुमा विशेषज्ञ सेवाको अभाव भने सधैँ जल्दोबल्दो मुद्दा हुने गर्छ, तर त्यसलाई प्रभावकारीरुपमा आजसम्म सम्बोधन गर्न सकिएको छैन । त्यसैले पनि कयौँ बाँच्न सक्ने अवस्थाका बिरामीहरु काललाई प्राप्त भैरहेका छन् । रोगविरूद्ध सङ्घर्ष गरिरहेका बिरामीहरुको बाँच्ने अधिकार सुनिश्चित गर्न पनि हरेक प्रकारका स्वास्थ्य पूर्वाधारमा कन्जुस्याइँ गरिएको नदेखिनुपर्ने हो, तर स्वास्थ्य सेवा पनि केवल काम चलाउ बन्दै गैरहेको देखिनु विडम्बनापूर्ण लाग्छ ।

देशका अधिकांश जिल्लाहरुमा गत वर्ष निर्माण गरिएका आइसोलेसन सेन्टरहरुको अहिले अस्तित्वसमेत छैन भने कन्ट्याक ट्रेसिङ त परको कुरा शङ्कास्पद बिरामीहरुलाई समेत उचितरुपमा चेकजाँच गरिएको पाइँदैन । एकातिर कोभिडका बिरामीहरु दिनानुदिन थपिइरहेका छन् भने अर्कोतिर आइसोलेसन कक्षहरुलाई अरु नै विभिन्न प्रयोजनका लागि उपयोग गरिरहेको समेत देख्न पाइन्छ । अझ कतिपय ठाउँमा त आइसोलेसन पुनः सञ्चालन गर्नका लागि भवनहरुको अभावसमेत देखाएर बच्ने गरिएको छ । विगत एक वर्षको अनुभवबाट पनि राम्रोसँग शिक्षा लिन नसकिएको उदाहरण हाल देखिइरहेको अस्तव्यस्त अस्पताल क्षेत्र र भताभुङ्ग रहेका आइसोलेसन सेन्टरहरुलाई हेर्दा नै थाहा हुन्छ । यथाशीघ्र राज्यपक्ष अस्पतालहरुमा देखिएको जनशक्तिको चरम अभावलाई सम्बोधन गर्न, स्वास्थ्य सेवालाई चुस्तदुरूस्त बनाउनका लागि उपकरण र प्रविधिहरुको प्रभावकारीरुपमा प्रयोग गर्न र अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको उपलब्धतालाई सहज बनाउन लागिपर्नु पर्ने देखिन्छ । समय रहँदै राज्यपक्षले कोभिड महामारीको यस सङ्गीन घडीमा आफ्नो जिम्मेवारीलाई महसुस गरोस् भनेर हामी भन्न चाहन्छौँ ।

 

 

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया