भरतपुर । अचेल तरकारी किन्दा जो पनि झस्कन्छ । काठमाडौंमा परीक्षण गर्दा विभिन्न ठाउँमा उत्पादित तरकारीमा विषादीको अवशेष खान योग्यभन्दा झण्डै तेब्बर भेटिएपछि यस्तो अवस्था आएको हो । तर विषादी नै प्रयोग नगरिने प्राङ्गारिक कृषि उत्पादनले यो बेलामा पनि प्रोत्साहन पाएको छैन ।
प्राङ्गारिक कृषि उत्पादनको विकास र नीतिगत अवस्थाका बारेमा जानकारी दिन बिहीबार भरतपुरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था र राष्ट्रिय कृषक समूह महासंघले कार्यक्रम आयोजना गरेका थिए ।
प्राङ्गारिक कृषिले धेरै उत्पादन हुँदैन भन्ने भ्रमले व्यावसायिक खेतीमा लागेकाहरुले बढी रासायनिक विषादी प्रयोग गर्ने प्राङ्गारिक उत्पादनमा लागेका किसानहरुले बताए । बढी उत्पादन लिने होडले नै रासायनिक मल विषादीको प्रयोग बढेको उनीहरुको भनाइ थियो ।
‘प्राङ्गारिक खेती गरेमा उत्पादन कम हुन्छ भन्ने धेरैको भ्रम छ’, कार्यक्रम आयोजक संस्था राष्ट्रिय कृषक समूह महासंघ चितवनका सचिव कृष्णमुरारी घिमिरेले भने । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत सन्तोष पौडेल बढी उत्पादन लिनैका लागि रासायनिक विषादी र मल प्रयोग गर्ने होड चलेका बताउँछन् ।
‘रोप्दा, हुर्काउँदा, फुल्दा र फल्दामात्रै होइन, भण्डारण गर्दा पनि विषादी राख्ने चलन छ । विषादीको मात्रा, छर्ने तरिका र छरेको कति समयपछि बजारमा लैजानु पर्छ भन्ने कुरा पनि हेक्का राखिँदैन । व्यावसायिक होडले यस्तो भएको हो’, कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडलले भने ।
प्राङ्गारिक कृषिलाई प्रोत्साहन गर्न सरकारले विभिन्न नीति बनाए पनि व्यवहारमा लागू हुन नसकेको उनले बताए । सरकारले विसं २०६१ सालमा तयार गरेको राष्ट्रिय कृषि नीतिमा प्राङ्गारिक कृषिलाई प्रोत्साहन गर्ने उल्लेख गरेको उनले जानकारी दिए ।
प्राङगारिक कृषि अभियानमा लागेकाहरु प्राङ्गारिक मल विषादीले कम उत्पादन नहुने दावी गर्छन् । प्राङ्गारिक कृषिका क्षेत्रमा अभियान चलाउँदै आएका पर्यावरणीय सेवा केन्द्र चितवनका निर्देशक बसन्त रानाभाट रासायनिक मलले केही बढी उत्पादन दिएजस्तो देखिए पनि लागतका हिसाबले प्राङ्गारिक मल विषादी उपयुक्त हुने बताउँछन् ।
‘रासायनिक मल विषादीबाट प्राङ्गारिक मल विषादीभन्दा लगभग १५ प्रतिशत बढी उत्पादन लिन सकिने देखिएको छ । तर लागत भने प्राङ्गारिक मल विषादी प्रयोग गर्दा ५० प्रतिशत कम हुन्छ’, रानाभाटले भने । त्यस्तै भारतमा भएको एक अध्ययनले प्राङगारिक मल विषादी प्रयोग गर्दा धान र आलु धेरै फलेको पाइएको उनले जानकारी दिए ।
‘उत्पादनका दृष्टिले त्यत्ति ता¤िवक अन्तर पनि छैन । तर प्राङ्गारिक कृषिले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने सकारात्मक प्रभाव अत्यधिक छ । दिगो कृषिका लागि यो अपरिहार्य नै छ’, रानाभाटले भने । प्राङ्गारिक कृषिमा लागेका किसानहरु पनि यसबाट आफूहरु सन्तुष्ट रहेको बताउँछन् । सुरूमा मात्रै केही कम उत्पादन भए पनि पछि राम्रै हुने उनीहरुले बताए ।
चितवनको पूmलबारी गाविस वडा नं. ३ श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले २२ वर्षदेखि प्राङ्गारिक खेती गर्दै आएका छन् । यसबाट उनले अन्न धेरै फलाएका मात्रै होइनन् सन्तुष्टि पनि अपार पाएका छन् । तर देशव्यापी रुपमा ठूलो आकारमा यो अभियान फैलन नसकेको उनले बनाए ।
Discussion about this post