भरतपुर । चितवन जिल्ला अदालत बार एसोसिएसनमा चुनावी सरगर्मी बढेको छ । यही साउन २३ गते हुने जिल्ला अधिवेशनका लागि दुईवटा प्यानलने उम्मेद्वार घोषणा गरेर चुनावी मैदानमा उत्रिएको हो ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीएलए) र प्रजातान्त्रिक कानुन व्यवसायी संगठन (डीएलए) चुनावी मैदानमा उत्रिएको बार चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीएलएमा नेकपा एमाले, एमाओवादी, नेकपा–माओवादी, राप्रपा र स्वतन्त्र कानुन व्यवसायीहरु रहेका छन् भने डीएलएमा काँग्रेस, स्वतन्त्रलगायत अन्य संगठनका कानुन व्यवसायीहरु रहेका छन् ।
पार्षद्सहित २० जनाका लागि दुई समूहका ४० जनाको उमेद्वारी परेको छ । जिल्लामा कुल १७० कानुन व्यवसायीहरु रहेकामा करिब १५ जना अनुपस्थित हुने संभावना रहेको बार एसोसिएसन चितवनले जनाएको छ ।
पीएलएतर्फ अध्यक्षमा चुडामणि सापकोटा, उपाध्यक्षमा भोलानाथ नेपाल, सचिवमा नुनराज सिलवाल र कोषाध्यक्षमा बामदेव अधिकारी चुनावी मैदानमा छन् ।
पीएलएतर्फ सीताराम कँडेल, महेश न्यौपाने, सूर्य बोहरा, विष्णु बास्तोला, विनोद मिश्र, विकास गुरुङ र विश्वराम महतोले सदस्यहरुमा उम्मेद्वारी दिएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै डीएलएबाट अध्यक्षमा निलकण्ठ अधिकारी, उपाध्यक्षमा मुन्नाविक्रम खाती, सचिवमा धर्मराज वाग्ले र कोषाध्यक्षमा लक्ष्मीप्रसाद पाठकले उम्मेद्वारी दिएका छन् ।
सदस्यहरुमा बेनीकृष्ण भट्टराई, सुरेन्द्रराज सुवेदी, विष्णुहरि कोइराला, बलराम पौडेल, श्रीराम दवाडी, कमलप्रसाद कोइराला र राधा उपाध्ययलेले डीएलएबाट उम्मेद्वारी दिएको बार चितवनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले प्रतिस्पर्धामा उत्रिएका प्रतिनिधिहरु मत माग्न र आफ्नो पक्षमा पार्न व्यवसायीसँग भेटघाटमा व्यस्त रहेका छन् । पीएलएका उम्मेद्वार चुडामणि सापकोटाले आफू स्वतन्त्र रहेकाले सबैले मत दिएर जिताउने विश्वास रहेको बताउनुभयो । यस्तै अर्का प्रत्यासी निलकण्ठ अधिकारीले पनि जित्ने दावी गर्नुभएको छ ।
Discussion about this post