वैशाखमै परीक्षा सक्ने तयारीमा चितवनका विद्यालय

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरसको दोस्रो लहरको असर सबैभन्दा पहिला शिक्षा क्षेत्रमा परेको छ। दोस्रो लहर सुरू हुनासाथ सबैभन्दा पहिला नै विद्यालय बन्द भए। चितवनको सात स्थानीय तहमध्ये भरतपुरका सबै विद्यालय तथा कलेजहरु यतिबेला बन्द छन्। चितवनका ६ पालिकामा चलेका विद्यालयहरु यतिबेला अन्तिम परीक्षाको तयारीमा जुटेका छन्। कोरोनाकै कहरका कारण जेठमा हुने परीक्षालाई यहाँका पालिकाहरुले झन्डै एक महिनाअगाडि सारेका छन्।

शिक्षा विकास समन्वय इकाइ भरतपुरले एसइई परीक्षाबाहेक अन्य कक्षाका सबै परीक्षालाई अगाडि ल्याइएको जनाएको छ। इकाइ प्रमुख भूमिलाल सुवेदीका अनुसार कोरोनाको सङ्क्रमण उच्च रहेको हुँदा सबै पालिकाहरुलाई छिटो परीक्षा सक्न सर्कुलर गरिएको छ। उनले भने, ‘एसइई परीक्षाबाहेक चितवनका सबै पालिकाका विद्यालयस्तरीय परीक्षा वैशाखभित्रै सकिन्छ।’

उनका अनुसार कोरोना भाइरसकै प्रकोपका कारण यसवर्षको शैक्षिक सत्र जेठको अन्तिमसम्म पुर्‍याइएको थियो। असारमा नयाँ भर्नाको कार्यक्रम थियो। सुवेदीले भने, ‘अहिलेलाई परीक्षा चाँडै सकेर अभिभावकको हातमा विद्यार्थी सुम्पौँ, नयाँ भर्ना विषयमा कोरोना सङ्क्रमणको अवस्थाले निर्धारण गर्ला।’

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले प्ले गु्रपदेखि कक्षा ३ सम्म लिखित परीक्षा नलिने भएको छ। महाशाखा प्रमुख महेन्द्र पौडेलले भने, ‘कुनै मन्टेश्वरीले लिखित परीक्षा लिन पाउँदैनन्, कक्षा ३ सम्म लिखित परीक्षा हुँदैन, अन्य कक्षाको परीक्षा वैशाख २७ मा सकिन्छ।’ उनले भरतपुर महानगरभित्रका विद्यालयहरुमा वैशाख १९ गतेबाट परीक्षा सुरू हुने बताए। उनले भने, ‘कक्षा ८ को परीक्षा पनि १९ गतेबाट हुन्छ, कोरोनाको कारण परीक्षा अगाडि सारेका हौँ।’

राप्ती नगरपालिकामा पनि वैशाखभित्रै सबै कक्षाको परीक्षा सक्ने तालिका सार्वजनिक भएको छ। राप्ती नगरप्रमुख प्रभा बरालले वैशाख १७ गतेबाट परीक्षा सुरू हुने बताइन्। उनले भनिन्, ‘चाँडै परीक्षा सकेर विद्यार्थीलाई घरमै बस्ने वातावरण बनाउन लागेका हौँ, नतिजा अनलाइन प्रणालीबाट घरमै बसेर हेर्न मिल्ने बनाइन्छ।’

खैरहनी नगरपालिकामा पनि कक्षा ८ को परीक्षा १९ गतेबाट र अन्य कक्षाको वैशाख १५ गतेबाट गर्ने निर्णय भएको छ। खैरहनी नगरप्रमुख लालमणि चौधरीले २७ गतेसम्म सबै परीक्षा सकिने बताए।

इच्छाकामना गाउँपालिकाले पनि वैशाख महिनाभित्रै परीक्षा सक्ने तयारी गरेको छ। गाउँपालिका प्रमुख गीता गुरूङका अनुसार परीक्षाको मिति तोक्न बैठक बस्न बाँकी छ। उनले भनिन्, ‘बैठक बस्न बाँकी छ, परीक्षा छिटो गर्छौं र यही महिनामै सक्छौँ।’

कालिका नगरपालिकाले पनि जेठमा हुने परीक्षालाई सारेर वैशाख १९ गते ल्याएको छ। नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले भने, ‘कोरोना कहरका कारण परीक्षा चाँडै गर्नु परेको हो। अध्यापन गर्नुपर्ने पाठ्यपुस्तकका सामग्रीहरु सबै सकिएको जानकारी आएको छ।’ माडी र रत्ननगर नगरपालिकाले पनि यही महिनामै सक्ने गरी परीक्षाको तयारी गरेका छन्। कोरोनाको सङ्क्रमण बढ्दै जाँदा परीक्षा गर्न नै समस्या आउने हुनाले परीक्षालाई चाँडै सक्न चितवनका पालिकाहरु जुटेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया