भरतपुरबाहेक सबै पालिकामा चले विद्यालय

अन‌ि यो पनि

भरतपुर । चितवनको भरतपुर महानगरबाहेक अन्य ६ वटा पालिकामा भौतिकरुपमै विद्यालय सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढिरहेको भन्दै नेपाल सरकारले चितवनको भरतपुर महानगरका सबै विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरे पनि अन्य पालिकामा यथावत्रुपमा पढाइ सञ्चालन भएका छन् । विद्यालयहरुमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिएको उनको भनाइ छ ।

‘भरतपुर महानगरमा विद्यालयस्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो, अन्य पालिकामा विद्यालयस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जानकारी छैन’, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले भने, ‘भरतपुर महानगरबाहेक चितवनका सबै पालिकामा भौतिकरुपमा स्कुल सञ्चालन गरी पठनपाठन गरिएको छ ।’

चितवनका अन्य पालिकाका विद्यालयहरु बन्द गर्ने विषयमा सरकारले केही बोलेको छैन । स्थानीय पालिकाहरुले विद्यालय बन्द नगर्न भनेपछि मंगलबार सबै विद्यालयहरुले पठनपाठन गरेका हुन् । भरतपुर महानगरभित्र रहेका विद्यालय तथा कलेजहरु मंगलबारदेखि नै बन्द भए ।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिकाका सबै विद्यालयहरु नियमितरुपमा सञ्चालन भइरहेको बताए । उनले भने, ‘भोलि (आज बुधबार) प्राचार्यहरुको बैठक बोलाइएको छ, कुनै समस्या भए विद्यालय बन्द हुन सक्छ, नत्र नियमितरुपमा विद्यालय सञ्चालन हुनेछ ।’ उनले विद्यालयका विद्यार्थी, कर्मचारी तथा शिक्षकहरुमा कोरोना पोजेटिभ देखिएको कुनै सूचना नभएको बताए । उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको छ, हालसम्म कालिकाका विद्यालयमा सङ्क्रमणको जोखिम छैन ।’

राप्ती नगरप्रमुख प्रभा बरालले पनि राप्ती नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय नभएको बताइन् । उनले भनिन्, ‘बन्द गर्ने निर्णय भएको छैन, विद्यालयमा कोरोना भाइरस प्रवेश गरेको सूचना पनि हालसम्म छैन ।’ कोरोनाको जोखिम बढिरहेको हुनाले चाँडोभन्दा चाँडो परीक्षा सकेर बाबुनानीहरु अभिभावकको हातमा बुझाएर विद्यालय बन्द गर्ने उनको भनाइ थियो ।

माडी नगरपालिकाका विद्यालयहरु बन्द भएका छैनन् । माडी नगर उपप्रमुख ताराकुमारी काजी महतोले माडीका सबै स्कुलहरु मंगलबार सञ्चालन भएको बताइन् । उनले भनिन्, ‘माडीका स्कुलका कुनै विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएको छैन, स्कुलहरु सञ्चालन भइरहेका छन् । कोरोनाको जोखिम बढ्दै जाँदा भोलि बन्द गर्ने अवस्था पनि आउन सक्छ, तर अहिले तत्काल स्कुल बन्द गर्नुपर्ने अवस्था देखिएको छैन ।’

इच्छाकामना गाउँपालिका वडा नं–७ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय रानीखोलाको शिक्षकमा कोरोना देखिएपछि सो स्कुल अहिले बन्द छ । यसबाहेक, अन्य स्कुलहरु मंगलबार चलेको इच्छाकामना गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले इच्छाकामनाको एउटा स्कुलबाहेक सबै स्कुल सञ्चालन भइरहेको बताइन् । उनले भनिन्, ‘अन्य सबै स्कुल चलेका छन्, अरु स्कुलहरुमा सङ्क्रमण भएको जानकारी छैन ।’

यस्तै, खैरहनी र रत्ननगरका स्कुलहरु पनि मंगलबार सञ्चालन भएका छन् । स्कुलको परीक्षा चाँडो सकेर चाँडो बिदा गर्ने पक्षमा सबै पालिकाहरु रहेका छन् । भरतपुर महानगरका सबै स्कुलहरु बन्द भएका कारण कसरी परीक्षा लिने, कसरी वैकल्पिक कक्षाहरु चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाबाट अतिप्रभावित भएका १४ जिल्लाका सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो, जसमा भरतपुर महानगर पनि परेको कारण यहाँका सबै विद्यालय बन्द भएका हुन् ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले अनुकूल भएसम्म विद्यालयहरुले वैकल्पिक शिक्षण विधि अपनाएर पढाइ सञ्चालन गर्न सक्ने बताए । उनले भने, ‘शैक्षिक सत्रको लागि तोकिएको सामग्रीहरु पूरा नभए विद्यालयहरुले वैकल्पिक विधि अपनाउन सक्छन्, तर बाध्यात्मक अवस्था छैन ।’ उनले विद्यालयहरु अब परीक्षाको तयारीमा जुट्ने बताए ।

प्याव्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले संस्थागत विद्यालयहरुले अनलाइन कक्षाबाट बाँकी रहेका पाठ्य सामग्रीहरुलाई पूरा गर्न सक्ने बताए । उनले भने, ‘तोकिएका अध्ययन सामग्री पूरा भएका छन्, पढाइ चाँडै लिने र विदा गर्ने विषयमा छलफल भइरहेको छ ।’

रत्ननगर नगरपालिकाले आलोपालो कक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले सामुदायिक तथा निजी विद्यालयहरुमा आलोपालो कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिकृया

मुख्य समाचार

कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

–किशोर खनाल भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया