काठमाडाँै । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरू गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभएको छ ।
मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रमलाई अगाडि बढाइएको उहाँले उल्लेख गर्नु भयो । सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको छ ।
कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । कोषको प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले कोरल शुज प्रालिले दुई हजार थान कपडाको झोला उपलब्ध गराएको निर्देशक युवराज ओडारीले जानकारी दिनुभएको छ । भक्तजनको जुत्ता राख्नका लागि उपलब्ध गराइएको झोला ६ महिनासम्मका लागि पुग्ने बताइएको छ । एक दशकको अन्तरालमा नेपालको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनुहुनेछ ।
यसैबीच विभिन्न राजनीतिक दलका नेताहरूले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।
बुधबार आयोजित साक्षात्कारमा नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको समस्या र सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने तयारी भइरहेको जानकारी दिँदै उहाँको भ्रमण नेपाल र भारत दुवै देशका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारत दुवै देशको सरकार स्थिर भएको अवस्थामा नेपालको जलविद्युत्को विकासबारे सहमति बनाउनुपर्ने उहाँको भनाइ थियो ।
एकीकृत नेकपा(माओवादी)का नेता राम कार्कीले भारतीय प्रधानमन्त्री नेपाल आउनुभन्दा पहिला भारतसँग विभिन्न समयमा भएका सहमतिबारे सरकार र राजनीतिक दलहरुबीच छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो ।
पूर्वमन्त्री भेषबहादुर थापाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच रहेका चुनौतीबारे नेपालले स्पष्ट कुरा राख्नुपर्छ भन्नुभयो । रासस
Discussion about this post