पर्सा । पर्साको बगही–५, हरिहरपुर–९ तथा शिवोर्वा–५ का दलित महिलाको जीवनशैलीमा परिवर्तन आएको छ ।
स्थानीय पिपुल डेभलपमेन्ट युथ क्लब र दिव्य युवा क्लबले गरिबी निवारण कोषको सहयोगमा सो ठाउँमा रहेका संसारीमाई सामुदायिक संस्था, शान्ति सामुदायिक संस्था तथा शिवपार्वती सामुदायिक संस्थामा आबद्ध करिब एक सय जना महिलालाई आत्मनिर्भर बनाएको हो ।
अहिले सो ठाउँका महिला सबै आत्मनिर्भर रहेको गरिबी निवारण कोष पर्सा समन्वय समितिका अध्यक्ष रामनरेश यादवले बताउनुभयो ।
आफूहरु अहिले भैँसीपालन, बाख्रापालन, गाईपालन, सिलाइकटाइ लगायतका व्यवसायमा आबद्ध भएको र कोषका कारण नै आफूहरुको जीवनमा ठूलो परिवर्तन आएको संसारीमाई सामुदायिक संस्था बगही—५ की अध्यक्ष राधिका देवीको भनाइ छ ।
तीनवटा दलित बस्तीमा करिब २० लाखको अनुदान रकम कोषले आय आर्जनका लागि प्रदान गरेको र महिलाले पनि आफैँ बचत गरेर जीविका चलाउनका लागि ऋण दिई विभिन्न व्यवसाय सञ्चालन गर्ने गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
विशेषगरी, दलित तथा गरिब महिलाका लागि लक्षित गरी आफूहरुले पनि सीपमूलक व्यवसाय सञ्चालन गरेको र कोषले अनुदान रकम प्रदान गरेपछि दलित तथा विपन्न महिलाको जीवनमा व्यापक परिवर्तन आएको दिव्य युवा क्लबका कार्यक्रम संयोजक रामाकान्त पटेलले भन्नुभयो ।
भैँसी तथा गाईपालन गरी दूध बिक्री गरेर आफूहरुले महिनामा १२ हजार कमाउने गरेको हरिहरपुरस्थित शान्ति समितिकी कोषाध्यक्ष साम्राज्यदेवीले बताउनुभयो । रासस
Discussion about this post