रूम्जाटार ।
‘ठाडे, टोड्के देउराली
चिप्ले चौर पसल
अरुको माइतीभन्दा
हाम्रै माइती असल’
यी गीतका शब्द निकै प्राचीन संस्कृति मानिने पर्मेली गीतको हो । रूम्जाटारको विशेषताकै रुपमा लिइने पर्मेली मेलामा गाइने पर्मेली गीत विस्तारै लोप हुन थालेको छ । रूम्जाटारमा साउन पहिलो सातादेखि कोदो रोप्ने पर्म सुरू भए पनि अहिले गीत गाउने पर्मका हूल देखिँदैनन् ।
“अहिले त मोबाइलमा गीत बजाएर कोदो रोप्ने चलन सुरू भइसक्यो”–स्थानीय रामहरि गुरूङले भन्नुभयो– “पहिले त मादल, बाँसुरी र बाच्छेबाजाबिना पर्मको हूल नै मेलामा पस्दैनथ्यो ।” गुरूङको बाहुल्यता रहेको सिद्धिचरण नगरपालिका–१२ र १३ रूम्जाटारमा दर्जनौँ पर्मका हूल व्यस्त छन् ।”
एउटा हूलमा १० देखि ६० जनासम्म छन् । एक दिन एक जनाको मेला सकेपछि अर्को दिन अर्काको मेलामा सहयोग गर्ने यो परम्परा सयौँ वर्ष पुरानो हो । अझै माइती र चेलीका रुपमा चेलीले कोसेली दिएपछि माइती पर्मका लागि पक्का हुने र पर्म सकिएपछि हुक्काई खाने चलन अझै छ ।
“पर्मेली गीत राम्रो गाउने बूढाबूढी मान्छेबाहेक अहिले पाइन्न”– स्थानीय नानुमाया गुरूङले भनिन्– “अहिले त यहाँ बस्ने अधिकांश विदेशिएपछि बाहिरको मान्छे पर्ममा खोज्नुपर्ने अवस्था आइसकेको छ ।”
पूर्वकै प्रसिद्ध संस्कृतिका रुपमा परिचित पर्मेली मेलाको मुख्य पहिचान नै सङ्कटमा परेको रूम्जाटारवासीको गुनासो छ । “अहिलेकाले गीत गाएर कोदो रोप्दैनन्”– पर्मेली गाउनमा चर्चित रूम्जाटारकी ८१ वर्षीया मनरत्न राई भन्छिन्– “हामी गाउनेहरु पनि अब त नसक्ने भइसक्यौँ ।”
नेपाल एकीकरणका बेला झागल गुरूङको नेतृत्वमा आएर गुरूङ सेनाका रुपमा आउँदा यहीँ बसोबास गरेको इतिहासमा उल्लेख छ । दुई सय वर्षअघिदेखि सुरू भएको यो चलन अहिले लोप हुने अवस्थामा पुगेको हो । कोदो रोप्ने, गोड्ने, टिप्नेमात्रै नभएर धान रोप्दा पनि पर्म लगाउने चलन अझै जीवित छ । तर पर्मको मुख्य विशेषता पर्मेली गीत भने आगामी केही वर्षमा सुन्न मेलामा नभएर क्यासेटमा सुन्नुपर्ने अवस्था भएको स्थानीय पदम गुरूङको भनाइ छ ।
Discussion about this post