आइसोलेसनमा थपिँदै कोरोना सङ्क्रमित : आइसियूमा आठ बिरामी, एक जनाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरस सङ्क्रमितलाई लक्षित गरी स्थापना गरिएका आइसोलेसनमा सङ्क्रमितको संख्या थपिँदै गएको छ । रित्तिएको भरतपुर अस्पतालको आइसोलेसन फेरि भरिँदै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमण देखिन थालेदेखि नै आइसोलेसन स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ ।

अस्पतालले स्थापना गरेको आइसोलेसनमा अहिले १८ जना छन् । तीमध्ये आठ जनालाई सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । बाँकी १० जनाको सामान्य शøयामा राखेर उपचार गराइरहेको उनले बताइन् ।

मत्थर हुँदै गएको सङ्क्रमितको संख्या देशैभर फेरि बढ्न थालेपछि चितवनमा पनि फाट्टफुट्ट देखिन थालेको छ । ‘पछिल्ला केही समययता सङ्क्रमणको दर सामान्य बढ्न थालेको छ’, उनले भनिन् । मंगलबारको तथ्याङ्क हेर्ने हो भने सक्रिय सङ्क्रमितको संख्या ७८ जना पुगेको छ । अस्पतालमा बसेका १८ जनाबाहेक बाँकी सबैजना होम आइसोलेसनमा छन् ।

एक सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरूषको कोरोना सङ्क्रमणका कारण मंगलबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल आएका उनको सोही दिन नमुना परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै सघन उपचार कक्षमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए । मंगलबार एक जना थपिएपछि कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११२ पुगेको छ । चितवन जिल्लाको कुल सङ्क्रमितको संख्या भने ६ हजार ९९२ पुगेको छ ।

२० वर्षमुनिका सङ्क्रमित बढ्दै

पछिल्ला दिनहरुको तथ्याङ्क हेर्ने हो भने चितवनमा २० वर्षभन्दा कम उमेर समूहका सङ्क्रमित बढ्दै गएका छन् । चैत महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने पनि १२ जना सङ्क्रमित २० वर्षभन्दा कम उमेर समूहका हुन् । चैतको २३ गतेसम्म जम्मा दुई जनामा सङ्क्रमण देखिएकामा २४ गतेदेखि ३१ गतेसम्ममा १० जना थपिएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत ढकालले बताइन् । विद्यालय उमेर समूहका व्यक्तिहरुमा सङ्क्रमणको दर बढ्दै गएपछि थप त्रास सिर्जना भएको उनले बताइन् । उनले भनिन्, ‘कुनै विद्यालयमा एकैचोटि धेरै जनामा सङ्क्रमण देखियो भने स्वास्थ्य सुरक्षालाई हेरेर पनि केही दिनलाई सम्बन्धित विद्यालय बन्द गर्न सकिन्छ । तर, सबै विद्यालय बन्द गर्ने कुरा केन्द्र सरकारको निर्णयअनुसारमात्रै हुन्छ ।’

स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न आग्रह

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अहिले चितवनका सबै स्थानीय तहको शिक्षा शाखामार्फत हरेक विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न निर्देशन दिइएको छ । काठमाडौँ र पोखरालगायतका ठूला सहरहरुमा विद्यालय उमेरका बालबालिका तथा किशोरकिशोरीहरुमा सङ्क्रमण बढ्दै गएपछि ती क्षेत्रसहित शैक्षिक क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गराउन स्वास्थ्य मन्त्रालयबाटै निर्देशन जारी भएकोले चितवनमा पनि स्थानीय सरकारको शिक्षा शाखामार्फत लागू गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए । विद्यालय क्षेत्रमात्रै नभई यातायात, उद्योग, व्यवसायलगायतका सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने विषयमा हरेक दिन छलफल हुने गरेको उनले बताए ।

उपचारका लागि भरतपुर अस्पतालको भर

चितवनमा कोरोना सङ्क्रमितको संख्या कम हुँदै गएपछि अहिले निजी अस्पतालहरुमा स्थापना गरिएको आइसोलेसन बन्द छन् । कुनै अस्पतालमा उपचारका क्रममा सङ्क्रमित देखिए भरतपुर अस्पताल पठाइन्छ, जसले गर्दा कोरोना सङ्क्रमितका लागि भरतपुर अस्पतालले मात्रै उपचार गर्दै आएको छ । यसअघि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित चितवनका दुईवटा मेडिकल कलेज र केही निजी अस्पतालहरुले उपचार गराउँदै आएका थिए । ‘अहिले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार निःशुल्क उपचार हुने भरतपुर अस्पतालमा मात्रै हो’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले भने, ‘कुनै बिरामीले आफ्नो इच्छाअनुसार उपचार गर्न चाहेमा मेडिकल कलेजहरुले उपचार गर्न सक्छ ।’

सङ्क्रमितको दर बढ्दै गएमा मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि आवश्यकताअनुसार सेवा उपलब्ध गराउनुपर्ने विषयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) र सरोकारवाला निकायबीच सोमबार बसेको बैठकले जिल्लाका निजी स्वास्थ्य संस्थाहरुले पनि आवश्यकताअनुसारको सेवा दिने निर्णय गरेको उनले बताए । ‘सङ्क्रमितको दर बढ्दै गयो भने भरतपुर अस्पतालको मात्रै भर परेर हुँदैन’, उनले भने, ‘आपतको बेला सबैले सहयोग गर्नुपर्छ भन्ने हिसाबले पनि निजी अस्पतालहरुले आवश्यक पर्दा सेवा दिने वातावरण बनेको छ ।’

स्थानीय तहमा कोरोना अस्पताल

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार चितवनका चारवटा स्थानीय तहमा कोभिड–१९ का लागि पाँच÷पाँच शøयाको अस्पताल खुलेका छन् । ‘जिल्लामा सबै स्थानीय तहलाई सहज होस् भन्ने उद्देश्यले चैत २७ गते स्वास्थ्य मन्त्रालयले इच्छाकामना गाउँपालिकासहित कालिका, राप्ती र खैरहनी नगरपालिकामा पाँच÷पाँच शøयाको अस्पताल स्थापना गरिसकेको छ’, उनले भने, ‘फिल्डमा २० शøयाको अस्पताल भएपछि उपचारमा थप सहज हुने विश्वास लिएका छौँ ।’ सङ्क्रमितको दर बढ्दै गएपछि भरतपुर अस्पतालको आइसोलेसनमा पनि पुनः शøया बढाएर ७५ पु¥याइएको छ । ‘हामीले भरतपुर अस्पतालमा फेरि ७५ बेड पु¥याइसकेका छौँ’, उनले भने, ‘अहिले भरतपुर अस्पतालमा चारवटा भेन्टिलेटर र १६ वटा आइसियू राखिएको छ ।’

आवश्यकता बढ्दै गयो भने रत्ननगर नगरपालिकाले केही समय टरौलीमा सञ्चालन गरेको २५ शøयाको आइसोलेसन पुनः सञ्चालन गर्न सकिने उनले बताए । माडी नगरपालिकाले चलाएको १० शøयासहित भरतपुर महानगरपालिकाले चलाएको वागीश्वरीको आइसोलेसनलाई पनि पुनः प्रयोग गर्न सकिने उनले बताए । ‘अरु ठाउँमा चलाउन सकिने भनेर निर्णय भए पनि वागीश्वरीको विषयमा छलफल भएको छैन’, स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने, ‘आवश्यक परे छलफल गरेर फेरि सञ्चालन गर्न सकिन्छ ।’ अहिले स्थानीय तहले सञ्चालनमा ल्याएका ती सबै आइसोलेसन बन्द छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...