नेकपा एमालेमा आ–आफ्नै दाबी, चितवनमा हामी नै वैधानिक: नेता पाण्डे

अन‌ि यो पनि

भरतपुर । नेकपा एमाले चितवनमा समानान्तर कमिटी नबन्ने माधव नेपाल समूहका नेताहरुले दाबी गरेका छन् । सर्वाेच्च अदालतको फैसलाले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा पु¥याएको भन्दै माधव नेपाल समूहका नेता चितवन क्षेत्र नं १ बाट निर्वाचित, पूर्वअर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेले पुरानै कमिटीलाई वैधानिक मानिएको दाबी गरेका हुन् ।

पार्टीको नवौँ महाधिवेशनबाट अध्यक्षमा चुनिएका केपी शर्मा ओली नेतृत्वको एमाले नै वैधानिक पार्टी भएको दाबीका साथ चितवन नेकपा एमालेमा राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वती जिल्ला अध्यक्षमा चुनिएकी छन् । तर, नेता पाण्डे भने त्यो मान्न तयार छैनन् । पाण्डेले भने, ‘कसले कहाँ भेला गरेर कसलाई अध्यक्ष बनाउँछन् त्यो वैधानिक हुन सक्दैन । नवौँ जिल्ला अधिवेशनले बनाएको जिल्ला समिति नै वैधानिक हुन्छ ।’

चितवन पोष्टसँगको कुराकानीमा नेता पाण्डेले थप भने, ‘पुरानै कमिटी नै चलायमान छ भने किन चाहियो समानान्तर कमिटी ? हामी बनाउँदैनौँ । कसले बाहिर बनाए, कसलाई अध्यक्ष बनाए त्यो आधिकारिक हुँदैन ।’ कुराकानीकै क्रममा उनले अरुबाटै समानान्तर कमिटी बनाइएको सङ्केत गरेका थिए ।

नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष कृष्णभक्त पोख्रेल पुरानै कमिटीमा हुनुहुन्छ ? भन्ने प्रश्नमा नेता पाण्डेले भने, ‘कमिटीबाट कोही बाहिरिन सक्छन्, त्यसो भयो भन्दैमा कमिटी नै अवैधानिक त हुने कुरा आउँदैन । अध्यक्षले ठाउँ छोडे भने स्वतः उपाध्यक्ष त्यो कमिटीको अध्यक्ष बन्छन्, यही होला नि सर्वमान्य !’ २०७५ साल जेठ २ गतेकै अवस्थामा सर्वोच्च अदालतले फर्काएपछि त्यतिबेला बनेका सम्पूर्ण कमिटीहरु वैधानिक र सक्रिय भएको नेता पाण्डेको भनाइ थियो ।

उता, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले चितवनको जिल्ला अध्यक्ष पार्वती रावलले पछिल्लो समय पार्टी नेकपा नरहेको र पार्टी पुनः एमालेमै फर्किएको बताउँदै भनिन्, ‘पार्टीमा देखिएका विवादहरु समाधानको लागि आयोजक कमिटी बनेको हो र त्यो नै पार्टीको मूल धार हो ।’ उनले पुरानो कमिटीमा रहेका सबै नेता तथा कार्यकर्तालाई केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा फर्कन आह्वान गरिन् ।

उनले भनिन्, ‘हिजोको निर्वाचित जिल्ला कमिटीमा म सचिव थिएँ, त्यो कमिटीलाई रुपान्तरित गर्दै अहिले अधिवेशन आयोजक कमिटी बनाइएको छ, यो कमिटी नै मूलधार हो, जसको म अहिले चितवन अध्यक्ष छु, जसलाई केपी ओलीले नेतृत्व गर्नुभएको छ ।’ उनका अनुसार कसैलाई पार्टीबाट निकालिएको छैन । केपी ओलीले नेतृत्व गरेको मूलधारको कमिटी नै सर्वमान्य हुन्छ ।

नेकपा एमालेका जिल्ला इन्चार्ज कृष्ण खनालले चितवनको नवौँ जिल्ला अधिवेशनले बनाएका कमिटीहरु सक्रिय भएका कारण कुनै समानान्तर कमिटी बनाउने खाँचो नभएको बताए । उनले भने, ‘किन बनाउने समानान्तर कमिटी, अधिवेशनले बनाएको कमिटी छ, त्यो कमिटीको इन्चार्ज म हो, कमिटीबाट कोही जानुहुन्छ भने त्यसको ठाउँमा अर्को मान्छे आउने स्वाभाविक प्रक्रिया हो । नेकपा एमालेको ८१ जनाको जिल्ला कमिटीको अध्यक्ष (कृष्णभक्त पोख्रेल) जानुभयो, ८० जना त हामी छँदैछौँ ।’ उनले जिल्लामा कुनै पनि भातृ संगठनहरुमा समानान्तर कमिटी जरूरी नभएको बताए ।

इन्चार्ज खनालले थप भने, ‘चितवनका ९२ वटा वडा कमिटीमा पुरानै पदाधिकारी छन्, सातवटा पालिकामा कमिटी छ, जिल्ला कमिटी छ । सबैलाई अधिवेशनले निर्वाचित गरेकै हो, अरु किन कमिटी बनाउने ? हामीलाई चाहिएकै छैन, कसैले बनाउँछ भने त्यो थाहा छैन, हामी त पुरानै कमिटीमा छौँ ।’

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया