माडी । माडी–७, देवेन्द्रपुरस्थित परूई सामुदायिक वनमा रहेको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । देवेन्द्रपुर बजारबाट करिब एक किमी दक्षिणतर्फ रहेको यो क्षेत्र धार्मिक ऐतिहासिकस्थलको रुपमा परिचत रहँदै आएको छ । विशेषगरी, विभिन्न ग्रह–गोचर (शनि ग्रह) शान्ति गर्नका लागि शनिको पूजा गर्ने प्रचलन प्राचीनकालबाट नै रहँदै आएको जनविश्वास छ ।
शनिको पूजा शनिबारमात्रै रहने हुँदा विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको सो दिन बाक्लो उपस्थिति रहने गर्दछ । शनिको पूजा गर्नाले नौ ग्रहशान्ति हुने र अधुरा कामहरु बन्ने, घरपरिवार र मनमा शान्ति छाउनेजस्ता विश्वास रहेको मन्दिरका संरक्षक तथा युवा पण्डित सुदर्शन सुवेदी बताउँछन् ।
दसैँमा दक्षिण सोमेश्वर कालिका मन्दिरमा दुर्गादेवी भवानी र काली माताको पूजा–आराधना गरिनुका साथै हाँस, परेवा, बोका बलि दिने गरिन्छ भने विधिपूर्वक शनि भवानीको पूजा–आराधना पनि गर्ने गरिन्छ ।
माडी देवेन्द्रपुरकी स्व. धनमाया गुरूङ र स्व. हर्कबहादुर गुरूङले २०३२ सालमा घर बनाउन खोरिया फाँड्ने क्रममा २ फिटको शिवमूर्ति फेला पारेपछि यो क्षेत्रमा धार्मिक गतिविधि बढ्न थालेको उनले बताए । भगवान्को दर्शन गर्न देशका विभिन्न स्थानबाट भक्तजनहरु आउने गरेपछि स्थानीयहरुले त्यहाँ उठेको भेटी र गाउँमा रकम उठाएर मन्दिर निर्माण गरेर करिब १ वर्षसम्म नित्य पूजा चलेको उनी बताउँछन् ।
यसरी पूजा चल्दै गर्दा र मन्दिर निर्माणको कार्य चल्दै गर्दा भेट्टिएको शिवमूर्ति नै चोरी भएको र त्यहाँका सम्पूर्ण कार्यहरु अस्तव्यस्त भएपछि सबै भक्तजनहरुमा निराशा छाएको उनले बताए । पछि स्थानीयकै अग्रसरतामा केही तल २०५६ सालमा देवी मन्दिर बनाइएको थियो । देवी मन्दिर मिलिजुली आमा समूहको सक्रियतामा बनेको हो । देवी मन्दिरछेउमा र फेदीमा सत्तलहरु छन् । आकर्षक प्रवेशद्वार बनाइएको छ । सोही स्थानलाई महादेव निस्केको डाँडो भनिन्छ भने अहिलेसम्म त्यहाँ वनस्कङ्डी र तक्षक नागनागिनीको ज्येष्ठ महिनाको चण्डीपूर्णिमा पूजा गर्ने गरिएको पण्डित सुवेदी बताउँछन् ।
विसं २०३३/३४ सालमा यो स्थानमा देवी देउरालीको स्थापना गरेर पूजा गर्नुपर्छ भन्दै स्थानीय बुद्धिजीवीहरुले सोही स्थानको नजिकै रहेको उच्च स्थानमा सालको रुखमुनि देवीको स्थापना गरी पूजा सुरूवात गरेपछि गाउँका मान्छेहरुले पनि आपूmहरु गएको तीर्थस्थलबाट शिलाहरु ल्याउँदै पूजा गर्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पण्डित बताउँछन् ।
विसं २०३५ सालमा स्थानीय बासिन्दाहरुले झन्डै २५ भन्दा धेरै शक्तिपीठ र सिद्धपीठहरुबाट शिला ल्याएर स्थापना गरी दक्षिण कालिका र सोमेश्वर कालिकाको नाममा दक्षिण सोमेश्वर कालिका नाम राखेर सालको रुखमुनि एउटा मौलो र विभिन्न धार्मिक तीर्थस्थलबाट ल्याएका ढुङ्गाहरु सजाएर चैत्र रामनवमी र विजयादशमीमा पूजा सञ्चालन गरेर सुरूवात गरिएकोे थियो ।
विसं २०७३ सालको शारदा नवरात्रिमा श्रीमद्भागवत तथा दुर्गा पुजन उत्सव २०७३ को आयोजना गरी करिब १० लाख बचत गरी सोही रकमले यसै स्थानमा चौर, गणेश शिवमन्दिर र नेपालकै दोस्रो शनिदेवको मन्दिर र माडी भैरवको स्थापनासमेत गरिएको उनले बताए ।
सो मन्दिर क्षेत्रवरपर विभिन्न मनमोहक दृश्य, काठबाट निर्मित कलाकृतिहरु र प्राकृतिक सौन्दर्य रहेको तथा माडी उपत्यका राम्ररी देख्न सकिने गरी भ्यू–प्वाइन्टको निर्माण गरिएको र विवाह, व्रतबन्ध, सभा तथा सेमिनारहरु गर्न सकिने अध्यक्ष पण्डित बताउँछन् । मन्दिर क्षेत्रमा बागमती प्रदेश सरकारले विनियोजन गरेको १० लाख बजेटबाट शनि मन्दिर क्षेत्रमा पशुपतिनाथको मूर्ति, शनि मन्दिरको नजिकै १०८ वटा शिवलिङ्गको निर्माण गरिएको छ भने मन्दिरवरिपरि कङ्क्रिट कुर्सी राखिएका छन् ।
माडीकै ठूलो र अग्लो त्रिशूलसमेत सो क्षेत्रमा निर्माण गरिएको छ । हिन्दुधर्ममा शिवलिङ्गको दर्शन गर्नाले सन्तान नभएकालाई सन्तान हुनेजस्ता धार्मिक मान्यता रहँदै आएको जनविश्वास छ ।
Discussion about this post