यौनिक हैरानी र न्यूनीकरण

अन‌ि यो पनि

पृष्ठभूमि

सामान्यतया बाल्यकालबाट किशोरावस्थामा प्रवेश गरेसँगै मानिसमा भएको शारीरिक तथा मानसिक विकास र परिवर्तनका कारण विपरीत लिङ्गीसँग रहन, बस्न, रमाउन मन लाग्नु, एकआपसमा आकर्षण बढ्नु, यौनका बारेमा कुराकानी गर्न उत्सुक हुनु, कुराकानी गर्नु र त्यस्ता कुराकानी गर्दा रमाइलो लाग्नु, एकआपसमा सामीप्यताको इच्छा हुनु आदि कुरालाई सामान्य नै मानिन्छ । तर, यी सवै कानुनबमोजिम उमेर पुगेका दुवै पक्षका बीचमा सहमति र दुवै पक्षमा इच्छा भएमा मात्र त्यो सामान्य हुन्छ । यदि कुनै पक्षको असहजता, अनिच्छा तथा बेमञ्जुरीमा त्यस्ता कार्यहरु भएमा यौनिक हैरानी भन्ने गरिन्छ ।

शब्दार्थ र परिभाषा

सामान्यतया यौनसँग सम्बन्धित कष्टलाई यौनिक हैरानी भन्ने गरिन्छ । नेपाली शब्दकोषले यौनिकलाई मैथुन क्रियासम्बन्धी, यौनबाट वा योनिबाट उब्जेको र हैरानीलाई दिकदारी, खिन्नता, खेद, थकाइ, श्रम, धामा, धपेडी, चाहिँदोभन्दा बढी मेहनत पर्नु भनी अथ्र्याएको पाइन्छ । कसैलाई कुनै प्रकारको बाधा पु¥याउने, नियतवश विभिन्न प्रकारका अनिच्छित व्यवहारहरु गर्ने, हैरान पार्ने, कसैलाई बिथोलिदिने, मानसिकरुपले विचलित पार्ने व्यवहार हैरानी हो । यौनसँग सम्बन्धित तर अनिच्छित कष्ट, दुःख, दिकदारीलाई यौनिक हैरानी भन्न सकिन्छ । यौनिकताका सन्दर्भमा हुने हैरानी यौनिक हैरानी हो । यौनसम्बन्धी शब्दहरुको प्रयोग गरेर कसैलाई जिस्काउनु, आँखा गाडेर अर्को व्यक्तिलाई मन नपर्ने वा असजिलो महसुस हुने गरी हेर्नु, छुनु, बोल्नु आदि यौनिक हैरानीभित्र पर्दछन् । त्यसका अतिरिक्त यौन उत्तेजना आउने खालका अश्लील तथा उच्छृङ्खल पुस्तक, तस्बिर, चित्र, चलचित्र आदि देखाउनु कसैलाई फोन गरेर वा विभिन्न विद्युतीय सञ्जालको प्रयोग गरेर यौनसम्बन्धी अश्लील कुराहरु गर्नु, विभिन्न अश्लील शब्द तथा चित्रहरु सुनाउनु, देखाउनु, चिमोट्नु, संवेदनशील अङ्ग छुनु आदि यौनिक हैरानीभित्र पर्दछन् ।

कानुनी व्यवस्था


(क) नेपालको संविधान

धारा ३८ महिलाको हक– महिलाविरूद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा र प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन ।

धारा ३९ बालबालिकाको हक– कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

(ख) बालबालिकासम्बन्धी ऐन, २०७५

दफा ६६ मा बालबालिकालाई अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने, देखाउन लगाउने, अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा बाल अश्लीलता प्रदर्शन गर्ने वा गराउने, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो शरीरको संवेदनशील अङ्ग छुन समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने, यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने÷गराउने कार्यलाई कसुर मानेको छ ।

(ग) मुलुकी अपराध संहिता २०७४

दफा २२४ मा आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई मञ्जुरीबिना (बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी नमानिने) करणीका आशयले समातेमा, निजको संवेदनशील अङ्ग छोएमा÷छुन प्रयास गरेमा, निजको भित्री पोसाक खोलेमा÷खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै बाधा÷अवरोध गरेमा, निजलाई अस्वाभाविकरुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आप्mनो अङ्ग निजलाई छुन वा समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारका शब्द मौखिक, लिखित वा सांकेतिकरुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा कसुर गरेको मानिने उल्लेख छ ।

दफा २२५ मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजमो अङ्ग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमले यौनजन्य अस्वाभाविक व्यवहार गरेमा कसुर मानिने उल्लेख छ ।

हालको अवस्था

यौनिक हैरानीको अवस्था भयङ्कर डरलाग्दो छ । हैरानीबाट पीडित भएकाहरु अधिकांश शारीरिक, मानसिकरुपमा विछिप्त भएर अन्धकारमय जीवन बाँचिरहेका छन् भने कति त आत्महत्याको बाटोसमेत रोजेका छन् । यौनिक हैरानीको कुरा गर्दा महिला, पुरूष वा तेस्रोलिङ्गी जोकोही पनि यस्तो कुकर्मबाट पीडित हुने सक्ने भए पनि महिला तथा बालिकाहरु यस्तो हैरानीको सिकार बढी हुने गरेका छन् । अझै भन्नुपर्दा आफ्नो जीवनमा कुनै न कुनै रुपबाट यौनिक हैरानी व्यहोर्नु नपरेको महिला भेट्न कठिन प्रायः छ भन्दा पनि अत्युक्ति नहोला । जबर्जस्ती करणीजस्ता अपराधको त सबै उजुरी आई नपुगेको अवस्थामा यौनिक हैरानीको तथ्याङ्कका वारेमा पूर्ण जानकारी त कसरी पाइएला र ? तैपनि, प्रत्येक ३ जनामा एक जना महिला यौनिक हैरानीको सिकार हुने गरेको एक अध्ययनले देखाएको छ । जसमा २७ प्रतिशत १३ वर्षभन्दा कम उमेरका, ४६ प्रतिशत १३ देखि १५ वर्ष उमेर समूहका र १६ देखि २० वर्ष उमेर समूहका १६ प्रतिशत रहेका छन् । यस्तो कुकर्ममा लाग्नेहरु ८७ प्रतिशत त आप्mनै परिचितहरु रहेको देखिएको छ । घटित घटनाहरुलाई नियाल्दा महिला तथा बालबालिकाहरु कोही कसैबाट सुरक्षित छैनन् जस्तै देखिन्छ । जन्म दिने बाबुदेखि परिवारका अन्य सदस्य, नियम तथा विधि बनाउने मानिसदेखि रक्षा/सुरक्षाको जिम्मा लिएका व्यक्तिहरु, शिक्षादीक्षा दिने गुरूवर्गहरुदेखि नैतिक शिक्षा, धर्म आदिको वकालत गर्ने व्यक्तिहरु, साथीसंगीहरु आदिबाट कुनै न कुनै रुपमा पीडित भएका घटनाहरु बाहिर आएका छन् ।

न्यूनीकरण र सजगता

प्रत्येक महिला तथा बालबालिकमा आफूमाथि हुन सक्ने यौनिक हैरानीको पहिचान गर्न र यसबाट बच्नका लागि विभिन्न सिपहरुको विकास गर्नुपर्दछ । आफूलाई मन नपर्ने यौनिक प्रवृत्तिका कुनै पनि व्यवहारहरु जस्तैः शरीरमा छुने, विभिन्न अङ्गहरुमा चिमोट्ने, हेरिरहने गरेमा, एक्लै कुनै ठाउँमा भेट्न खोजेमा दृढ भएर मलाई यस्तो व्यवहार मन पर्दैन, नाइँ अब उप्रान्त यस्तो भएमा उजुरी गर्छु आदि भन्नुपर्दछ । कसैले आपूmलाई सहयोग गर्ने बहानामा आपूmलाई मन नपर्ने गरेर नजिकमा आउने, अनिच्छित हाउभाउ गर्ने गरेको छ भने त्यस्तो हाउभाउ र सहयोगको स्वार्थबारे सोच्नुपर्दछ र दुव्र्यवहार हुने देखिएमा तत्कालै इन्कार गरिहाल्नुपर्छ । आपूmले राम्रोसँग विश्वास नगरेका व्यक्तिहरुसँग मोबाइल तथा विभिन्न सामाजिक सञ्जालहरुबाट आफ्ना निजी सूचनाहरु साटासाट गर्नु कदापि हुँदैन । कसैले पठनपाठनको बहानामा वा सहयोग गर्ने बहानामा वा माया गर्ने बहानामा नजिक आउने अनि अस्वाभाविक, अनावश्यक, आफूलाई मन नपर्ने व्यवहार गरेमा, फाइदा लिन खोजेमा बुझ्न सक्नुपर्छ र आफ्ना कुराहरु दृढतापूर्वक राख्न सक्नुपर्छ । आफूलाई कसैले यौनिक हैरानी दिएमा वा आफूबाट कुनै एउटा गल्ती भैहालेमा तत्कालै अभिभावक, परिवारका सदस्य वा विद्यार्थी भए शिक्षकलाई जानकारी गराई पुनः गल्ती गर्नुहुँदैन । व्यवहारहरुलाई सूक्ष्मरुपले नियाल्नुपर्दछ र गलत लागेमा सहेर बस्नुहुँदैन, तत्कालै नो भन्न सक्नुपर्छ तर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्नेतिर कदापि लाग्नुहुँदैन ।

निष्कर्ष

सर्वप्रथम त अपराधकर्मलाई न्यूनीकरण गर्नका लागि प्रत्येक मानिस स्वस्थ र संयमित बन्न जरूरी छ । शारीरिक र मानसिक स्वास्थ्य, नैतिक शिक्षा, पारिवारिक अनुशासन र जिम्मेवारीबोधले मात्र अपराध गर्न÷गराउन सक्दैन, जसका लागि समय लाग्न सक्छ । तर, प्रत्येक किशोरी तथा महिलाले यस्ता यस्ता कार्यहरु यौनिक हैरानी हुन्, आफूमाथि यस्तो अवस्थामा यस्ता यौनिक हैरानी हुन सक्छन् भन्ने जान्नु र त्यस्ता क्रियाकलापहरु भए गरेमा तत्कालै प्रतिकार तथा उजुरी गर्ने वातावरण बनाउन सके यौनिक हैरानी न्यूनीकरण गर्दै नियन्त्रण गर्न सकिन्छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया