जनआन्दोलन दिवसले दिएको सन्देश

अन‌ि यो पनि

३० वर्षीय निरङ्कुश पञ्चायती व्यवस्थाको विरूद्धमा सुरू गरिएको शान्तिपूर्ण जनआन्दोलन निष्कर्षमा पुगेको भन्दै चैत २४ गतेलाई जनआन्दोलन दिवसका रुपमा मनाउने गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि ऐतिहासिक दिनका रुपमा समेत सम्झना गरिने चैत २४ लाई यसपल्ट पनि स्मरण गरियो, तर पहिलाजस्तो जुन उत्साह र उमङ्गका साथमा यसदिनलाई मनाउने प्रचलन रहेको थियो त्यसमा भने निकै कमी आएको महसुस हुनपुग्यो । निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा फागुन ७ गतेबाट सुरू भएको जनआन्दोलन ०४६ साल चैत २४ गते ठोस उचाइमा पुगेको मानिन्छ । त्यसकै परिणामस्वरुप चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रसँग सम्झौता भएपछि देशमा प्रजातन्त्रको पुनर्बहाली हुनपुगेको थियो । त्यसलगत्तै त्यतिबेला दलहरुमाथिको प्रतिबन्ध हटेसँगै देशमा बहुदलीय शासन व्यवस्था लागू गरिएको थियो । यद्यपि, आन्दोलनले उत्कर्ष प्राप्त गरेको दिनका रुपमा यसदिनलाई स्मरण गर्ने गरिए पनि कतिपय समूहहरुले भने चैत २६ गतेलाई जनआन्दोलन दिवसका रुपमा मनाउँदैसमेत आएका छन् ।

वर्तमान परिप्रेक्ष्यमा २०४६ सालको ऐतिहासिक जनआन्दोलनको अर्थ र औचित्य के–कति छ भन्नेबारेमा पटकपटक बहस र छलफलहरु भैरहेका छन्, नभएका होइनन् । तत्कालीन समयमा देश र जनताका लागि परिवर्तनको आवश्यकता महसुस गर्दै जनआन्दोलनको नेतृत्व गर्न पुगेका नेपाली कांग्रेस, संयुक्त वाममोर्चा र अरु ससाना दलहरुले त्यस अवधिपछिको कालखण्डमा आफूलाई कति इमानदारितासाथ प्रस्तुत गर्न सके भन्ने विषयमा समेत बारम्बार मूल्याङ्कन हुने गरेको छ । देशमा प्रजातन्त्रको बहाली भएपछि पनि गरिएका विभिन्न आन्दोलनहरुमार्फत कहिले लोकतन्त्रको नाममा त कहिले गणतन्त्रको नाममा शासनसत्ताहरु सञ्चालन नगरिएका भने होइनन्, तर पात्र र प्रवृत्तिहरुको पुनरावृत्तिमात्रै देशले भोग्न बाध्य भएको तीतो यथार्थ अहिले पनि हामीसामु छ । देशमा पटकपटक परिवर्तनको नाममा व्यवस्थाहरु परिवर्तन भएका छन्, तर ती सबै परिवर्तनहरुका कारण सीमित वर्गले मात्रै लाभ प्राप्त गर्ने अवसरहरु पाउँदै आएका छन् ।
सर्वसाधारण जनताको ठूलो हिस्सा देशमा भएका अनेकौँ व्यवस्था परिवर्तनको स्वरुपबाट आजसम्म अप्रभावित रहन पुगेको यथार्थ छ ।

कुनै पनि आन्दोलन र क्रान्तिले न जनताको आर्थिकस्तरमा रुपान्तरण ल्याउन सकेको छ, न देशको भविष्यलाई नै उज्यालो मार्गमा अघि बढाउन सफल रहेको मानिन्छ । जनआन्दोलन दिवस मनाइरहँदा यी पक्षहरुलाई ओझेलमा राख्न सकिँदैन । अहिले समयले निकै कोल्टो फेरेको छ भनिन्छ, तर अझै पनि सर्वसाधारणहरुको आधारभूत आवश्यकताहरुमाथि सम्बोधन हुन नसकिरहेको अवस्था पनि त्यत्तिकै जिउँदो छ । आगामी वर्षमा जनआन्दोलन दिवस मनाउनुभन्दा पहिल्यै नेतृत्व तहले आफूलाई सच्याउनुपर्ने मात्रै देखिँदैन अझ विगतका वर्षहरुमा गरिएका कयौँ गल्तीहरुलाई लिएर प्रायश्चित्त पनि गर्नुपर्ने देखिन्छ । केवल औपचारिकता मात्रै निभाएर देश र जनताप्रतिको दायित्व पूरा हुन सक्दैन भन्ने कुरालाई पञ्चायती व्यवस्था पतन भएपछिको ३० वर्षभन्दा बढीको समयसम्म पटकपटक सत्ता र शक्तिको स्वाद प्राप्त गरेका दलहरुले अब पनि महसुस गर्न सकेनन् भने तिनले गरेको राजनीति देशलाई चक्रव्यूहमा पार्ने उद्देश्यतिर लक्षित छ भन्नलाई कन्जुस्याइँ गर्न हुँदैन । निरङ्कुशताविरूद्ध लड्दा प्राप्त भएको महान् उपलब्धिको आगामी दिनमा सदुपयोग हुन सकोस् भन्ने कामना गरौँ ।

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया