गैरचेपाङका सहारा बन्दै ‘चेपाङका बा’ केपी

अन‌ि यो पनि

भरतपुर । चेपाङ बालबालिकालाई आश्रयसहित शिक्षाको ज्योति बाल्दै आएका केपी किरण शर्मा परिवारविहीन अवस्थामा बेसहारा बनेका जोकसैका लागि सहारा बन्दै आएका छन् । समग्र चेपाङ जातिकै उत्थान र संरक्षणमा एक दशकभन्दा बढी समय बिताइसकेका छन् ।

तर, परिवारविहीन अवस्थामा समस्यामा परेका गैरचेपाङमाथि पनि उनले विभिन्न भूमिका निभाउँदै आएका छन् । विशेषगरी, चेपाङ समुदायकै क्षेत्रमा काम गर्ने उद्देश्यका साथ खाडी मुलुकबाट स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राहदानी च्यातेर चितवन झरेका शर्माले चेपाङ बालबालिकालाई जस्तै आश्रयसहितको व्यवस्थापन गर्न नसके पनि विभिन्न संघसंस्थासँग समन्वय गरेर बालबालिकालाई संरक्षण गर्दै आएका छन् ।

‘चेपाङका बा’ भनेर परिचय बनाएका शर्माले मंगलबारमात्रै रत्ननगर–११, मंगलपुरका ७ वर्षीय प्रवेश चौधरीलाई भरतपुर–९ मा रहेको एसओएस बालग्राममा भर्ना गरिदिएका छन् ।

तीन वर्षअघि आमाले छाडेपछि चौबिसै घन्टा मदिरापानमा तल्लीन बुबाबाट अभिभावकत्व ग्रहण गर्न नसकेपछि प्रवेश बेसहारा बनेका थिए । यही क्रममा शर्माले फेला पारेपछि १५ दिनको प्रयासपछि बालग्राममा भर्ना गर्न सफल भए । बालग्राममा राख्नका लागि स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर कागजपत्र मिलाउँदा समय लागेको उनले बताए ।

बालग्राममा यसअघि पनि दुई जना चेपाङको भर्ना गराइसकेका थिए । उनीहरु चारवर्षदेखि बालग्राममै बसेर अध्ययन गरिरहेका छन् । उनका अनुसार चेपाङबाहेक यसरी आश्रयसहितको पठनपाठनको व्यवस्था मिलाएको यो २१औँपटक हो । केही बालबालिका चितवनमा र केही बालबालिका भक्तपुर र बिराटनगरमा रहेका सामाजिक संस्थाको जिम्मामा आश्रयसहित शिक्षादीक्षा प्राप्त गरिरहेका उनको दाबी छ ।

‘प्रवेश चौधरीसहित २१ जनालाई विभिन्न संघसंस्थामा आश्रयसहित पठनपाठनको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘मैले जतिलाई गरेँ ती सबैले राम्रोसँग पढिरहेका छन् ।’ अभिभावकविहीन बनेका बालबालिकालाई संरक्षण गर्नु आफ्नो दायित्व भएकोले दायित्व निभाउने प्रयासमात्रै गरिएको उनको भनाइ छ । साना बालबालिकामात्रै नभई बेसहारा बनेका वयस्क तथा वृद्धवृद्धालाई पनि सहारा दिँदै आएका उनले बेवारिसे अवस्थामा रहेका र उपचारका क्रममा ज्यान गुमाएका १३ जनालाई आफैँले दागबत्ती दिएर दाहसंस्कार गरिसकेको उनले बताए ।

विसं २०६५ सालबाट संरक्षण गर्दै आएका उनले २०६८ सालबाट आधिकारिकरुपमा गामबेँसीको चेपाङ संरक्षण केन्द्र खोलेर संरक्षण गर्दै आएका छन् । हालसम्म ३८४ जना चेपाङलाई आश्रय दिइसकेका शर्माले सञ्चालन गर्दै आएको केन्द्रमा हाल १५२ जना आश्रित छन् ।

उनीहरुलाई विभिन्न दाताहरुकै भरमा पालनपोषणसहित पठनपाठनको व्यवस्था उनले गर्दै आएका छन् । चेपाङ बालबालिकाबाहेक सडकमा अलपत्र अवस्थामा कोही भेटिएमा उद्धार गर्ने र संरक्षणको व्यवस्था गर्ने उनको मुख्य काम बनेको छ । ‘चेपाङको संरक्षण मेरो मुख्य उद्देश्य भए पनि गैरचेपाङ समुदायका व्यक्तिहरु परिवारविहीन अवस्थामा अलपत्र भेटिएको खण्डमा उद्धार गर्ने, उपचार गर्ने र विभन्न संरक्षण केन्द्रमा व्यवस्था मिलाउनेलगायतका काम गर्दै आएको छु’, उनले भने, ‘मैले उद्धार गरेका, उपचार गरेका व्यक्तिहरुमध्ये हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् । उनीहरुलाई म आफैँले दागबत्ती दिएको छु ।’

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया