डुङ्गा र माछा छोडेर नयाँ उद्यम : माडीको बनकट्टामा बोटेको होमस्टे

अन‌ि यो पनि

माडी । खोलामा माछा मार्ने र डुङ्गा चलाएर जीवनयापन गर्ने माडी बनकट्टाका कन्ना बोटे डुल्दै, घुम्दै हिँड्ने पर्यटकलाई घरमा राखेर आर्जन गर्ने नयाँ उद्यममा लागेका छन् । नगरपालिका–१, बनकट्टामा सञ्चालनमा आएको बोटे सामुदायिक होमस्टेमा ८ नम्बर होमस्टे सञ्चालक हुन् उनी । माछाको खोजीमा डुल्दाडुल्दै वर्षौंअघि माडी–१, बनकट्टास्थित रिउ खोलाको किनार आएर बसेका उनको दिनचर्या पाहुनाहरुको स्वागतसत्कारमा बित्ने गरेको छ ।

‘पर्यटक डुल्न आउने निकुञ्ज र वनजंगल यहीँ छ । हाम्रो पनि कला–संस्कृति छ, त्यसैले किन होमस्टे नखोल्ने भनेर यता लाग्यौँ । गाउँमा होमस्टे बनेपछि रमाइला दिन आएका छन्, सुनसान हुने बस्तीमा गाडी हुइँकिन थाले, नयाँ पाहुना आउन थाले । आजभोलि पाहुनाको चहलपहल छ, खुसी छाएको छ, सबै उत्साहित छौँ’, उनले भने । उनका अनुसार यहाँ बस्न चाहने पाहुनालाई एउटा कोठाको ६०० रूपैयाँ लिने गरिएको छ । एउटा कोठामा तीन जनासम्म अट्छन् । सादा खानाको मूल्य १५० रूपैयाँ तोकिएको छ ।

शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदीकिनारमा आएका जंगली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने होमस्टे नम्बर १० का सञ्चालक सुकबहादुर बोटे बताउँछन् । पाहुनाहरु आउने क्रम बढेकाले जंगल र जंगली जनावरहरु हेर्दै पर्यटकहरु रमाउने गरेकोले होमस्टेका सञ्चालकहरु पनि उत्साहित भएको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जको आड र सोमेश्वर पहाडी जंगलको काखमा रहेको यो गाउँमा बोटे समुदायका १ सय २ घर छन् । माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भू–परिधि कार्यक्रम (ताल)को २५/२५ लाख रूपैयाँ अनुदानमा आफ्नो करिब २/२ लाख रूपैयाँ थप गरेर अहिले यहाँका दस परिवारले होमस्टे सञ्चालनमा ल्याएको बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोषप्रसाद बोटेले बताए । उनका अनुसार मङ्सिर महिनादेखि सञ्चालनमा आएका होमस्टेमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ । अन्य दुई घरवास निर्माणको चरणमा छन् । हाल होमस्टेमा ४० देखि ६० जनासम्म पाहुनाहरुलाई एकैसाथ राख्न सकिने क्षमता रहेको उनी बताउँछन् ।

होमस्टेमा जाने पाहुनालाई परम्परागत बोटे पोसाक लगाएका महिलाले टीका लगाएर सगुन दिने वा पानी छर्केर स्वागत गर्छन् । भान्सामा पाकेका रैथाने खानाले सत्कार गर्छन् । ‘माछाको तरकारी, माछाकै अचार (चोखा), घोंगी, तामाको चोखा, निहुरोको तरकारी खुवाउने गरिन्छ । बोटेहरुले धेरै चीजको चटनी बनाउँछन् । खानामा ट्वाक्क चोखा हुन्छ । यहीँकै चामल, तरकारी, कुखुरा, हाँस, माछाको परिकार तयार गर्छौं’, अध्यक्ष बोटेले भने ।

होमस्टे खुलेपछि सामूहिक माछापालन सुरू भएको छ । उनीहरुका मौलिक गीतहरु पनि छन् । साँझ महिला–पुरूष मिलेर सांस्कृतिक कार्यक्रम देखाउँछन् । ‘नेपालमा बोटे समुदायले मात्र चलाएको होमस्टे भने बनकट्टामा नै पहिलोपटक हो’, अध्यक्ष बोटेले भने ।

बोटे समुदायमा जग्गे गीत, सोहर्ना, गोलेनी, सोल्टी सोलोटनाजस्ता गीत र नाच छन् । उनीहरु मारूनी पनि नाच्छन् । जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाच हुन् । झन्डै मासिन र हराउन थालेका मौलिक गीत र नाचहरु खोजी गरेर पर्यटकलाई देखाउन थालेको नेपाल बोटे समाजका केन्द्रीय सदस्य जगनारायण बोटेले बताए ।

बनकट्टामै बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको बताउँदै केन्द्रीय सदस्य बोटेले भने, ‘मौलिक शैलीकै बनाउँदै छौँ, संस्कृति जोगाउँदै संरक्षण गरिनेछ ।’ होमस्टेमा पाहुनाहरुलाई विशेष परिकारका साथै उनीहरुको रूचिअनुसारको खानपिनको व्यवस्थापन, मौलिक नाचका साथै राष्ट्रिय निकुञ्जलगायत माडीका विभिन्न स्थानमा जिप सफारी, माडीका सोमेश्वर कालिका, वैकुण्ठधाम, शनि मन्दिर, बुलबुले ताल, रेवा त्रिवेणी, वैराठ धुनी, सीताराम गुफालगायतका स्थानको अवलोकन गर्ने वातावरण मिलाइने उनले बताए ।

संस्कृति नै लोप हुने खतरामा भएकोले होमस्टे सञ्चालनमा आएपछि जगेर्ना हुन्छ भन्ने विश्वास नेपाल बोटे समाजका केन्द्रीय सदस्य बोटेको छ । माडी–१, बनकट्टा र पाण्डवनगरमा गरी २२ वटा बोटे समुदायमा होमस्टे निर्माण गर्न सम्भाव्यता अध्ययन भएको उनी बताउँछन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया