भरतपुर । समाजसेवी मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गर्नुभएको छ ।
उहाँकै नामबाट दर्ता गरिएको मैयादेवी ट्रस्ट नेपाललाई श्रेष्ठले घरघडेरी प्रदान गर्नु भएको हो । नारायणगढको मेन रोडमा रहेको १४ धुर जग्गा र त्यसमा बनेको तीनतले भवन मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा श्रेष्ठले पास गरिदिनु भएको हो ।
ट्रस्टका महासचिव टंकनाथ पौडेलका अनुसार सो घरघडेरीको हालको चल्ती मूल्य १५ करोड बराबर रहेको छ । अविवाहित ८७ वर्षीया श्रेष्ठले सामाजिक सङ्घसंस्थालाई करोडौँ रूपैयाँ बराबरको भौतिक सम्पत्ति प्रदान गरिसक्नु भएको छ ।
उहाँ बस्ने गरेको देवघाटको घर जग्गा ओम शान्ति मैयादेवी ट्रस्टलाई यसअघि नै प्रदान गरिसक्नु भएको छ ।
त्यसैगरी, काठमाडौँको रविभवनमा रहेको घरजग्गा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई प्रदान गरिसक्नु भएको छ भने नारायणगढको कमलनगरमा रहेको नेपाली कांग्रेस चितवनको कार्यालय भवन भएको जग्गा पनि श्रेष्ठले नै प्रदान गर्नु भएको हो ।
Discussion about this post