हेटौंडा । सरकारको दबाबमा सभामुख सानुकुमार श्रेष्ठले पटक पटक स्थगित गरेको बागमती प्रदेश सभाको वैठक २४ गते बस्ने भएको छ । सूचनाटास गरेर स्थगित गरेको बागमती प्रदेशसभाको बैठक चैत २४ मंगलबारका लागि आव्हान गरिएको छ।
सचिवालयले एक सुचना जारी गर्दै चैत २४ गते मंगलबार दिनको १:०० बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख गरेको छ। बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको लामो समयपछि गत फागुन ५ गते बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको थियो ।
अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध आएको अविश्वास प्रस्तावको छलफल नगराउन वैठक स्थगित गरिएको थियो । प्रदेश सभाको वैठक कहिले राती अबेर र कहिले झिसमिसै बिहानै स्थगित गरेको सूचना जारी गरेका सभामुखलाई प्रदेश सभा सदस्यहरुले सरकारको रबर स्ट्यामको आरोप लगाएका थिए ।
नेकपा विभाजन पछि मुख्यमन्त्री पौडेल सुरक्षित भएपछि अहिले सभामुखले प्रदेश सभाको वैठक बोलाएको बुझिएको छ । दुई अघि काठमाडौमा भएको नेकपा एमाले बागमती प्रदेश ससदिय दलको वैठकमा प्रदेश सभालाई बन्धक बनाएको भन्दै केही सासदले गुनासो समेत गरेका थिए । समसामयिक विषयमा प्रदेश सभाको बैठकमा छलफल गर्न नपाएको भन्दै प्रदेश सभा सदस्यहरूले गुनासो गर्दै आएका थिए ।
प्रदेश सभा सदस्यहरूले सामाजिक सञ्जालमार्फत् सरकारको ध्यानकर्षण गराउन थालेका छन् । संसदलाई छलफल केन्द्र र नीति निर्माणको थलो नभई बन्धक बनाएर राखेको प्रदेश सभा सदस्यले आरोप लगाउँदै आएका छन् । २४ गते बस्ने प्रदेश सभा वैठकमा छलफल गर्ने विषयबारे सूचना उल्लेख गरिएको छैन ।
Discussion about this post