पाँच सामुदायिक विद्यालय खारेज

अन‌ि यो पनि

रत्ननगर । शिक्षालाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेको रत्ननगर नगरपालिकाले नगरभित्रका पाँचवटा सामुदायिक विद्यालय खारेज गरेको छ ।

विद्यार्थी संख्या ज्यादै कम भएपछि तीन वर्षको अवधिमा पाँचवटा सामुदायिक विद्यालय खारेज गरिएको हो । कुनै विद्यालयमा शिक्षक अभाव हुने र कुनै विद्यालयका शिक्षकले विद्यार्थी नपढाई तलब खाने भएपछि पाँचवटा विद्यालय खारेज गरी त्यहाँ रहेका विद्यार्थी र शिक्षकलाई निकटका विद्यालयमा पठनपाठन गराउने व्यवस्था मिलाइएको हो ।

रत्ननगर–८ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय मनहरा, वडा नं–५ मा रहेको पार्वती आधारभूत विद्यालय, वडा नं–९ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय सिसै, रत्ननगर–१२ मा रहेको बाघदेवी आधारभूत विद्यालय र आधारभूत विद्यालय टरौली खारेज गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

मनहराका शिक्षक र विद्यार्थीलाई चित्रसारी मावि, पार्वतीका शिक्षक र विद्यार्थीलाई बछौली मावि, सिसैका शिक्षक र विद्यार्थीलाई कपरफोरी मावि, बाघदेवीका शिक्षक र विद्यार्थीलाई पञ्चकन्या मावि, टरौलीका विद्यार्थीलाई झुवानी माविमा व्यवस्थापन गरिएको छ । खारेज भएका विद्यालयका शिक्षकहरुलाई भने आवश्यकता हेरी नगरका अन्य विद्यालयहरुमा समेत पठाइएको नगर शिक्षा अधिकारी शर्माले बताए ।

शिक्षा नियमावलीअनुसार एउटा कक्षामा ५५ विद्यार्थी हुनैपर्ने नियम छ । एउटा कक्षामा २८ जना विद्यार्थी भएको विद्यालयलाई नगर शिक्षा समितिले विद्यार्थी बढाउन सचेत गराउने र १३ जनाभन्दा कम विद्यार्थी भएको विद्यालयलाई समायोजन तथा खारेज गर्ने व्यवस्था रहेको छ । सो नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न भर्ना अभियान सञ्चालन गरेको थियो । अभियान सञ्चालन गर्दा पनि विद्यार्थी संख्या वृद्धि नभएपछि बाध्य भएर विद्यालय खारेज गरिएको हो । रत्ननगरले खारेज गरेका पाँचवटा सामुदायिक विद्यालयमा नौं जनादेखि अधिकतम ४० जनामात्रै विद्यार्थी रहेको पाइएको छ ।

रत्ननगरले नगरका चारवटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेको छ । सामुदायिक विद्यालयलाई मजबुत बनाउन विद्यार्थी संख्या ज्यादै न्यून रहेका सामुदायिक विद्यालयहरुलाई निकटका विद्यालयमा समायोजन गरिएको मेयर नारायण वनले बताए । ‘हामी सामुदायिक विद्यालयलाई मजबुत बनाउन चाहन्छौँ’, उनले भने, ‘कतै शिक्षक अभाव हुने र कतै विद्यार्थी नभएर शिक्षकले पढाउनै नपर्ने अवस्था आएपछि समायोजन गरिएको हो ।’ उनले शिक्षक र विद्यार्थीको अनुपात मिलाएर शिक्षक सिकाइलाई प्रभावकारी बनाउने योजना रहेको बताए ।

पाँचवटा विद्यालय खारेज भएपछि रत्ननगरमा अब सामुदायिक विद्यालयको संख्या २७ मा झरेको छ । रत्ननगरले शिक्षालाई अर्थपूर्ण बनाउन नगरभित्रका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेको हो । ‘सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना छ’, मेयर वनले भने, ‘त्यसका लागि थोरै विद्यार्थी भएका विद्यालयनजिकका विद्यालयमा समायोजन गर्ने नीति लिइएको हो ।’

प्लस टु खारेजीको विरोध

रत्ननगर नगरपालिका वडा नं–९ मा रहेको मोहना माविमा सञ्चालनमा रहेको प्लस टु खारेज गरिएको भन्दै अभिभावकले विरोध गरेका छन् । रत्ननगर नगरपालिकाले विद्यार्थी संख्या कम भएपछि आगामी शैक्षिक सत्रदेखि सो विद्यालयमा कक्षा ११ र १२ बन्द गर्ने निर्णय गरेको थियो ।

प्लस टु खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै अभिभावक र विद्यालय व्यवस्थापन समितिका केही सदस्यहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अभिभावकका तर्फबाट मेघनाथ पौडेल र विद्यालयका तर्फबाट व्यवस्थापन समितिका सदस्य विष्णुहरि देवकोटाले प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

दुवै पक्षले बुझाएको ज्ञापन पत्रमा सो विद्यालयमा गरिएका प्लस टु खारेजीले गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्ने सपनामाथि तुषारपात भएको उल्लेख छ । सात दिनभित्र निर्णय नसच्याए अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु आन्दोलित हुने ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया