रमेशकुमार पौडेल
साउन महिना लागेको छ । यो बेला पानी त्यत्ति परेको छैन । नभए, असार–साउन लगातार पानी पर्ने महिना हुन् । नेपाली अर्थतन्त्रमा असार–साउनको ठूलो अर्थ र योगदान छ । यो बेला रोपिने धान नेपालीको मुख्य खाद्यान्न हो । नेपालीहरु मानो खाएर मुरी उब्जाउने अवसरका रुपमा लिन्छन्, असार–साउनलाई । झरीमा रूझ्नु र हिलोमा खेल्नु यो बेलाको दिनचर्या हो । झरी र हिलोसँग साइनो लगाउने अवसर यो बेला मात्रै जुर्ने गर्छ । लगातारको झरीले गलेको माटोनजिक पुग्नुभएकै होला । यस्तो माटोबाट आउने सुवास अथवा सुगन्ध पक्कै महसुस गर्नुभएको छ ।
यो सुवास चमेलीको फूलको वास्नाजस्तो पक्कै हुँदैन, अझ विदेशी अत्तरझैँ कताबाट हुनु ! खासमा भन्ने हो भने माटोबाट एक प्रकारको गन्ध आउने हो । झार कुहिएको, साना कीरा–गड्यौला कुहिएको अनि मलखाद पनि त मिसिएको हुन्छ नि माटोमा । हो, यी सबैको समिश्रणबाट आउने एक प्रकारको वासना फैलिएको हुन्छ खेतमा । पहिलो पटक खेतमा कोही पुगेको हुन्छ भने त्यसलाई वासना भन्ने मूर्खता कसैले गर्दैन । तर, पाँच मिनेट त्यहीँ बस्नुभयो भने त्यो गन्ध नभएर वासनामा नै रुपान्तरित हुन्छ ।
यो भयो नाकले महसुस गर्ने विषय । असार–साउनमा आँखाले पाउने शीतलता पनि उत्तिकै छ । बाढीपहिरो र डुबानको कुरुप प्रसंगलाई छाडिदिने हो भने यो बेला पूरै धर्ती एउटा क्यानभासमा रुपान्तरित भएको हुन्छ । त्यो क्यानभासका चित्रहरु चलायमान समेत हुन्छन् । तपाईं झ्यालबाट बाहिर हेर्नुहोस्, सबै कुरा मनमोहक लाग्छ । दैलोबाट बाहिर निस्कनुहोस्, स्वागत–सत्कार गर्नेको लस्कर नै लागेको
हुन्छ । भ्यागुताहरु ट्वार्र–ट्वार्र गरेका हुन्छन् । हामीलाई नै देखेर उनीहरु खुसी भएका हुन् भनेर नमानी सुखै छैन । कान्लाभरि बकुल्लाको लहर हुन्छ । गौँथली, चिबे, डाङ्ग्रे, भँगेरा, छपक्कै बसेका हुन्छन खेतभरि ।
धर्ती पनि जीवन्त भएको हुन्छ, यो बेला । हरियाली देख्ने बेला यही हो । खुला देख्ने बेला पनि यही हो । खेतको डिल नयाँ हुन्छ । हिलो माटोले पुरानो कान्लो छोपिएको हुन्छ । गह्राहरु भर्खर बिरूवा रोपेका बगैँचाजस्ता हुन्छन् । कुनै गह्राबाट पानी छचल्केर अर्कोमा खसेको
हुन्छ । कुनै आलीमा सानो निकास बनेको हुन्छ । त्यसबाट झरेको पानीमा ध्यान लगाएर हेरौँ, मानौँ त्यो आकासबाटै खसेको विशाल झर्ना नै हो । बित्ताभन्दा लामो हुँदैन, तर कल्पना गर्न सक्ने यत्रो तागत दिन्छ हामीलाई । यो तागत छ, असार–साउनको पानीमा । हामी कल्पना जति पनि गर्न सक्छौँ, जसले मनलाई आनन्दित बनाउँछ । यही कल्पनाबाट प्राप्त ऊर्जाले हामी काम पनि गर्न सक्छौँ, जसले हामी मानोलाई मुरीमा परिणत गर्छौं ।
लगातार १२ घन्टा काममा खट्दा पनि हामी भोकले लखतरान हुँदैनौँ र थाकेर चूर बन्दैनौँ । त्यसो त, खाजा पनि खाएकै हुन्छौँ । अरु बेला खाने खाजाले हामीलाई काम गर्ने दम दिँदैन, केवल भोक मार्नमात्रै सहयोग गर्छ । यो बेला भोकमात्रै मर्ने होइन, धेरै काम गर्ने ऊर्जासमेत जुटाइदिन्छ । आलीको कान्ला वा रुखको छहारीमा बसेर खाएको खाजाको स्वाद कुनै उच्चस्तरको होटलमा खोजेर पाइँदैन । तरकारीमा नुन, बेसार, भुटुन र मसलामात्रै मिसिएको हुँदैन, मंसिरको मीठो कल्पना मिसाएर भान्सामा तयार पारिएको त्यस्तो उम्दा खाजा अरु बेला खोजेर पनि पाइँदैन ।
असार–साउनले सामाजिक सम्बन्धलाई पनि जोड्न र कस्न मद्दत गरेको हुन्छ । बाउसे, हली, रोपहारको भूमिकामा समाजका सबै व्यक्तिहरु खेतरुपी रङ्गमञ्चमा रमाएका
हुन्छन् । मिलेर काम फत्ते गर्ने परिपाटी हुन्छ, यो बेला । मजदुरी गरे पनि, पर्म लगाए पनि सामाजिक सरसहयोग केन्द्रमा हुन्छ । अझ रोप्नलाई पानीको पालो लगाउने प्रचलन समेत हुन्छ । मिलेर काम गर्ने, सबैको काम गर्ने भन्ने भावना हुन्छ । कसैको खेत बाँझै रहँदैन । असार–साउनले मिलाइदिएको हुन्छ, समाजलाई यसरी ।
तर, अहिलेको अवस्था यस्तै छ त ? सबैको मनमा उठ्ने प्रश्न हो यो । असार–साउन झरीविहीन भएजस्तै यो बेलामा गतिविधिहरु पनि धेरै यान्त्रिक भएका छन् । गोरू लगाएर जोत्ने चलन हरायो, खेतमा ट्याक्टर दौडिन्छन् । ट्याक्टरको टर्रो आवाजमा चराको चिरबिर र भ्यागुताको मधुर ट्यार–ट्यार बिलाएको छ । चराहरु डराएका
छन् । मान्छेहरु अल्छी भएका छन् । आली–कान्ला ताछ्ने र मिलाउने क्रम पहिलाको जस्तो छैन । समाज मिलेर रोपाइँ गर्ने परिपाटी लगभग अन्त्य भएको छ । सीमापारिबाट आएका मान्छेलाई कामको जिम्मा लगाइन्छ ।
यस्तो बेला माथि वर्णन गरिएका सबै अवस्थाहरु उल्टो हुन जान्छन् । लाग्छ, यो क्रम सुरू भएको छ । हामी धान रोप्ने कामको जिम्मा पनि सीमा पार गरेर आएकाहरुलाई नै दिन थालेका छौँ । अनि, फुर्सदमा सीमापारिका टेलिभिजन च्यानल हेरेरै बिताउने गरेका छौँ । हरियो चुरा र हातमा मेहँदी, यो हाम्रो संस्कार त थिएन । अब यसमा आस्थाभन्दा उतैका सिरियलहरुको प्रभाव के–कति थियो, विचार गर्ने बेला आएको छ । साउनमा सुवास छाउनु पर्ने हो । अरु बेला नराम्रो गन्ध आउने र छुन पनि घिन लाग्ने हिलोमा सुवास आउने बेला हो यो । तर, बेला बदलिएको छ । साउन शान देखाउने समय बन्दै छ ।
कृषिमा उन्नति गर्न भनेर गरेको यान्त्रिकीकरणले सामाजिक सम्बन्धहरुलाई खुकुलो बनाएको त छ नै, मंसिरलाई कत्तिको भरिपूर्ण बनायो त्यसको लेखाजोखा गर्नुपर्ने भएको छ । पुराना संरचनाहरु भत्काएर मंसिरको भकारी भर्न गाह्रो भयो भने हामीले प्रविधिको सही होइन, टालटुले प्रयोग गरेका रहेछौँ भन्ने पुष्टि हुने छ । के हत्केलाको मेहँदीमा छ त्यो सुगन्ध ? या नाडीका चुरा छनछन गर्दा चराको चिरबिरदेखि खोलाको सुसेली र भ्यागुताको ट्यार–ट्यार बिर्सन सकिन्छ ?
Discussion about this post