सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा पछिल्लो समय चिनीया पर्यटकको संस्था वृद्धि हुन थालेको छ । सौराहा आएका चिनीया पर्यटकहरुलाई उनीहरुको भाषा नबुझ्दा सेवा सुविधा र प्याकेज कार्यक्रम दिन अफ्ठयारो पर्ने गरेको छ ।
अंगे्रजी भाषा चिनीया पर्यटकले नबुझ्ने र चिनीया भाषा बोल्न व्यवसायीहरुले नजान्ने भएकाले सेवा प्रदान गर्न मुस्किल हुने गरेको सौराहाका पुराना व्यवसायी गिरिधारी चौधरीले बताउनुभयो । व्यवसायी र दिनहुँजसो पर्यटकसँग ठोक्किने पथ प्रदर्शक (गाइड) हरुलाई चिनीया भाषा सिकाउन सके चिनीया पर्यटकहरुको बसाइ पनि लम्ब्याउन सकिने व्यवसायीहरुको बुझाइ छ ।
‘अब हरेक व्यवसायी र गाइडहरुलाई चिनीया भाषा तालिम दिन आवश्यक छ’, व्यवसायी चौधरीले भन्नुभयो, ‘त्यसो नगरिए पर्यटकलाई सेवा प्रदान गर्न सकिँदैन ।’ सौराहाको आवश्यकतालाई मध्यनजर गरी सौराहानजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले गाइड र व्यवसायी तथा व्यपारीहरुलाई चिनीया भाषा तालिम दिन सुरु गरेको छ ।
काठमाडौं युनिभर्सिटी र नेपाल चाइना कार्यकारी परिष्दको सहकार्यमा बाधमारा मध्यवर्ती सामुदायिक वनले तीन महिने प्रशिक्षण सुरू गरेको हो । प्रशिक्षणको आइतबार एक कार्यक्रमका बीच काठमाडौं युनिभर्सिटीका प्रोफेसर वाङ सेङ्लीले उद्घाटन गर्नुभएको थियो ।
२०७० साल माघमा आयोजना गरिएको चिनिया भाषा तालिममा सहभागी भई आधारभूत ज्ञान हासिल गरेकाहरुलाई दोश्रो चरणको प्रशिक्षण सुरू गरिएको सामुदायिक वनका अध्यक्ष बीपी चौधरीले जानकारी दिनुभयो । प्रशिक्षणमा ५७ जना युवायुवती सहभागी छन् ।
उद्घाटन कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष हरिभक्त घिमिरेले सौराहामा चिनीया पर्यटकको बढ्दो आगमनसँगै यहाँका गाइडहरुलाई चिनिया भाषा जान्न आवश्यक रहेको बताउनुभयो । उहाँले सौराहाका प्रत्येक होटलमा चिनीया भाषा जान्ने गाइडको आवश्यकता रहेको र प्रशिक्षण कार्यक्रमपछि त्यो सम्भव हुने बताउनुभयो ।
लामो समय संरक्षणको क्षेत्रमा क्रियाशील रहेर सौराहामा व्यापार सुरू गरेका बासु ढुंगाना पनि सो तालिममा सहभागी छन् । ‘सौराहामा व्यापार तथा व्यवसाय गर्ने सबैले चिनीया भाषा जान्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘त्यसो हुन सके व्यक्तिगत विकास पनि हुन्छ पर्यटकलाई सेवा पनि दिन सकिन्छ ।’
कार्यक्रममा बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने, नेपाल चाइना कार्यकारी परिषद् चितवनका प्रमुख चन्द्रप्रकाश दुवाडी, सौराहाका व्यवसायी गिरिधारी चौधरी, सामुदायिक वनका सदस्य विनोद खनाललगायतले बोल्नुभएको थियो । उद्घाटन कार्यक्रम सामुदायिक वनका अध्यक्ष बीपी चौधरीको अध्यक्षतामा भएको थियो ।
Discussion about this post