चितवन, १४ फागुन । भनिन्छ, हरेकको जीवनमा सफलताको पछाडि कसै न कसैको हात रहेको हुन्छ। सफलता हात पार्न साङ्गहरुलाई जति सहज मानिन्छ शारिरीकरूपमा अशक्त र अपाङ्गहरुका निम्ति त्यति नै कठिन, त्यसमा पनि दृष्टिविहीन। कुनै न कुनै प्रतिभा भएर पनि मञ्च नपाएर मनभित्रै मुम्स्याएर राख्न बाध्य प्रतिभालाई हौसला र अवसर दुवैको लागि संगीत अनुसन्धान तथा विकास केन्द्र (एमआरडिएफ) नेपाल र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा गायन प्रतियोगिताको हुने भएको छ।
बैशाख १५ मा चितवनको सौराहामा आयोजना हुने प्रतियोगितालाई उप–राष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नेछन्। देशभर यस्ता कैयन प्रतियोगिता आयोजना भइरहेको अवस्थामा यो प्रतियोगिता अरुभन्दा पृथक रहने कार्यक्रम संयोजक राजु लामाले बताए। ‘शारिरीक, भौतिक र कमजोर आर्थिक पक्षका कारण आफूभित्र रहेको प्रतिभालाई समेत बाहिर ल्याउन नसक्ने दयनीय अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई हौसला एवं प्रोत्साहन गर्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने।
प्रतियोगीहरुलाई १ लाख बराबरको बिमासहित उनीहरुको शैक्षिक अध्ययनका लागिसमेत प्याकेजको घोषणा गरिएको छ। देशभरबाट लिइएको पहिलो अडिसनमार्फत १२ जना प्रतियोगी फाइनल राउण्डमा प्रवेश गरेको र उनीहरुमध्येबाटै उत्कृष्ट तीन जनालाई क्रमशः एकलाख, पचास हजार र पच्चीस हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गरिने छ।
Discussion about this post