भरतपुर । विशेष सूचनाको आधारमा वीरगन्ज प्रहरीले शुक्रबार राति दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट भंसार छली चोरीका सामान ल्याउँदै छ भन्ने सुराकीको आधारमा ना.२ख.४८४१ नं. र ना.४ख.५१०७ नं.को दुईवटा ट्रकलाई नियन्त्रणमा लिइएको वीरगन्ज प्रहरीले जनाएको छ ।
पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ स्थित रजतजयन्ती चोकदेखि दक्षिण १०० मिटरको दूरीमा फेला परेका दुईवटा ट्रकलाई चेकजाँच गर्दा सिलबन्दी अवस्थामा रहेको पाइएको थियो । ट्रकमा रहेका सामान शंकास्पद रहेकोले पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान मध्याञ्चल क्षेत्रीय इकाइ कार्यालय, पथलैया बारामा पठाउनेतर्फ आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच वीरगन्ज अञ्चल प्रहरी कार्यालयको सहयोगमा वीरगन्ज उपमहानगरपालिकाको रानीघाट क्षेत्रमा सरसरफाइ भएको छ । सरसफाइ गर्नेक्रममा सडकको पेटीमा इँटा, ढुङ्गा, गिटी, बालुवा तथा अन्य सामग्री थुपार्ने व्यक्तिहरुलाई नगरपालिकाको कानुनबमोजिम जरीवाना समेत गरिएको थियो ।
Discussion about this post