बेलौरी (कञ्चनपुर), ३ साउन । जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रअन्तर्गतका गाउँलाई ‘हरियाली क्षेत्र’ बनाउने उद्देश्यले वृक्षरोपण सुरू गरिएको छ ।
शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले वन पैदावारका लागि स्थानीयको आरक्षप्रतिको निर्भरता न्यूनीकरणका लागि शुक्रबारदेखि वृक्षरोपणलाई अभियानका रुपमा थालनी गरेको हो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुष्करबहादुर सिंह, आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी र राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख हेमन्त यादवले संयुक्तरुपमा भीमदत्त नगरपालिका–१४ कटानस्थित ऐया र सरस्वती उपभोक्ता समूहमा वृक्षरोपण गरी अभियानको उद्घाटन गर्नुभएको हो । करिब एक महिना अघिमात्रै ऐया उपभोक्ता समूहमा मध्यवर्ती क्षेत्रको पहिलो गोबरग्यास नमुना समूह घोषणा भएको हो ।
यहाँका ३८ घरधुरीमध्ये ३२ ले गोबरग्यास प्रयोग गर्दै आएका छन् भने बाँकी घरमा निर्माणाधीन छन् । प्रकृति संरक्षण कोषसँगै अन्य संस्थाको सहयोगमा थारु समुदायको बाहुल्यता रहेको यस समूहका सदस्यले गोबरग्यास निर्माण गरेका हुन् । ऐया समूहले घर–घरमा गोबरग्यास निर्माण गरी दाउराका लागि आरक्षप्रतिको निर्भरता घटाएर संरक्षणमा महत्वपूर्ण योगदान गरेकाले यस समूहबाट नै वृक्षरोपण अभियानको सुरूवात गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताउनुभयो ।
‘वृक्षरोपणपछि समुदायका बासिन्दाको घाँस दाउराको समस्या आफ्नै खेतबारीमा समाधान हुनेछ ।’ अध्यक्ष सिंहले भन्नुभयो । वृक्षरोपणमा समूहका महिला÷पुरूष सदस्य सक्रियरुपमा सहभागी भएका थिए । दुवै समूहका सदस्यले आ–आफ्नो खेतबारी छेउमा बकाइनो, टाँकी, कोइरालो, अमला, लिप्टिस, बुज जाइन्ट, डेडोनिया, गोल्डमोहरलगायतका आधा दर्जनभन्दा बढी प्रजातिका ७०० बिरूवा रोपेका छन् ।
अध्यक्ष सिंहले मध्यवर्ती क्षेत्रलाई हरियाली क्षेत्र बनाउने लक्ष्यअनुरुप सुरू गर्नुभएको अभियानअन्तर्गत यसपछि भीमदत्त नगरपालिका–१९ बागाफाँटामा वृक्षरोपणको तयारी भइरहेको जानकारी गराउनुभयो ।
आरक्षका प्रमुख संरक्षण अधिकृत रेग्मीले बिरूवा रोपेपछि त्यसको स्याहारमा पनि स्थानीयले ध्यान दिए सामान्य घाँस दाउराका लागि संरक्षण क्षेत्रभित्र पस्नुपर्ने अवस्था नआउने बताउनुभयो । रासस
Discussion about this post