भरतपुर/ सवारी दुर्घटना कमगर्न सबैले जिम्मेवारी बोध गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । प्रहरी, यातायात व्यवसायी, सवारी चालकसँगै सर्वधारणले पनि जिम्मेवारी बोधगर्न सके मात्र सवारी दुर्घटना कम हुने उनीहरुले बताए ।
सिनर्जी एफएमले शहरी क्षेत्रमा हुने सवारी दुर्घटना कमगर्न के गर्न सकिन्छ भन्ने बिषयमा गरेको कार्यक्रम जनबहसमा सहभागि सरोकारवालाले सडकको अवस्था, सवारी चालकको उमेर, माधक पदार्थ सेवनगरी सवारी चलाउने, ट्राफिक प्रहरीको उपस्थिति कम र आवश्यक कारवाहि हुन नसक्दा दुर्घटना हुनेगरेको बताएका थिए । सर्वसाधारणका लागि सचेतनाको कमि हुनुपनि यसको अर्को कारण रहेको उनीहरुले बताए । कार्यक्रममा बोल्दै चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले आर्थिक बर्ष २०६९/०७० को तुलनामा २०७०/०७१ मा चितवनमा दुर्घटनाको संख्यामा कमी आएपनि यसलाई नियन्त्रणगर्न भने सबैको सहयोग आवश्यकपर्ने बताउनुभयो । माधक पदार्थ सेवन गरी सवारी चलाउने, सीटभन्दा बढि यात्रु ओसार्ने लाई निरन्तर कारबाहि भइरहेको भन्दै उहाँले रिक्सा र साइकल चालकलाई पनि कारबाहिको दायरामा ल्याउन लागिएको बताउनुभयो । बजार क्षेत्रको ट्राफिक अस्तव्यस्तता कमगर्न ठुला सवारीको प्रवेसमा नियन्त्रण गर्दै पार्किङलाई थप व्यवस्थित बनाउने उहाँले बताउनुभयो । कार्कीले सार्वजनिक सवारी साधन चलाउनका लागि १८ बर्ष नभई २४ बर्ष पुगेकालाई मात्र चालक अनुमति पत्र दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ नारायणी अञ्चल समन्वय समितिका सह–संयोजक बद्री पौडेलले सवारी दुर्घटना बढ्नुमा यातायात व्यवसायीहरु मात्र दोषि नरहेको बताउनुभयो । दुर्घटना बढ्नुमा सडक, प्रहरी र सर्वसाधारण पनि उत्तिकै दोषि रहेको उहाँको भनाई थियो । यातायात व्यवसायी तथा चालकहरुलाई नियम अनुसारगर्न निर्देशन दिइरहेको दाबी गर्दै उहाँले उनीहरुले नियम बिपरित गरे उजुरी गर्न आग्रह गर्नुभयो । पौडेलले उजुरीका लागि सहज बनाउन प्रत्येक सवारीमा यातायात व्यवसायी समितिका जिम्मेवार पदाधिकारीहरुको टेलिफोन नम्बर लेखिदिने प्रतिबद्धता जनाउनुभयो ।
ट्राफिक प्रहरी प्रमुख रमेशराज भेटवालले व्यस्त बजारमा ट्राफिक लाईट तथा जेब्रा क्रसिङ् राख्नका लागि तयारी भइरहेको भन्दै सहयोगको आग्रह गर्नुभयो । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले चितवनको ट्राफिक व्यवस्थापनका हरेक गतिविधिमा संघले सहयोग गर्दै आएको बताउँदै आगामि दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शहरी क्षेत्रमा हुने दुर्घटना कमगर्न फुटपाथ हटाउने देखि सीसी टिभि जोड्ने सम्मका काममा संघको भुमिका रहेको भन्दै ट्राफिक लाईट र जेब्रा क्रसिङ्का लागि पनि सहयोगगर्ने बताउनुभयो । नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष समेत रहेका हाड जोर्नी बिशेषज्ञ डा. कृष्ण पौडेलले सवारी दुर्घटना मध्ये ७८ प्रतिशत मोटरसाईकल दुर्घटना हुनेगरेको र शहरी क्षेत्रमा अत्याधिक दुर्घटना हुनेगरेको बताउनुभयो । दुर्घटनामा युवाहरु धेरै परेको भन्दै पौडेलले सडकको दुरावस्थाका कारण दुर्घटना बढेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सवारी चालकहरुले भने काठमाडौंमा जिर्ण भएका सवारी साधनहरु चितवन ल्याउने र यहिका जिर्ण अवस्थाका सवारी साधनलाई नहटाउनाले दुर्घटना बढेको बताएका थिए । उपस्थित सर्वसाधारणले नारायणगढ क्षेत्रको पार्कीङ व्यवस्थापनमा केहि सुधार आएपनि त्यो दिर्घकालीन नभएको बताए । उनीहरुले व्यस्तबजारमा ठुला सवारी साधान नियन्त्रण गर्न नसक्नु, सामान लोड अनलोडका लागि समय निर्धारण गरिएपनि त्यसको कार्यान्वयन नहुनु, सवारी साधनले सीट क्षमता भन्दा बढि यात्रु ओसार्नु तथा जथाभावी पार्किङ गरिनुले दुर्घटना बढाएको बताएका थिए । यसको नियन्त्रणका लागि प्रशासन र यातायात व्यवसायीले कडाई गर्न नसकेको गुनासो उनीहरुको थियो ।
Discussion about this post