चितवन, २५ फागुन । एउटा फिल्म या म्युजिक भिडियो चल्छ भने त्यसको पछाडि थुप्रैको हात हुन्छ। अगाडि कलाकार देखिए पनि ती कलाकारहरूलाई सफल बनाउनमा छायांकार, श्रृङगारकर्ता, सम्पादक, रंग संयोजक आदिको भूमिका महत्त्वपूर्ण हुन्छ। पर्दा अगाडिका व्यक्तिलाई चर्चामा ल्याउन पर्दा पछाडि बसेर संघर्ष गर्नेको कथा भने कमैले बुझेका हुन्छन्। त्यही भित्रको एउटा पाटो हो, छायांकन। चितवनका रवि कोइरालाले करिब डेढ दशकयता पर्दा पछाडिबाटै संघर्ष गरिरहेका छन्। साविकको शारदानगर गाविस वडा नं. ९ चन्द्रनगरमा जन्मिएका ४६ वर्षीया कोइरालाले दर्जनभन्दा बढी नेपाली सिनेमालाई आफ्नो क्यामेरामा कैद गरिसकेका छन्।
हाल भरतपुर १२ नौरंगेलाई स्थायीबासी कोइरालाले ‘हिरासत’, ‘अन्नदाता’, ‘बीच बाटो’, ‘लावारिस’, ‘जोश,’ ‘अफिसर’, ‘निर्जला’, ‘सूर्यास्त’, ‘कमिना’, ‘राजा’, ‘तिमी बिना मलाई जिउनु छैन’, ‘वीरबहादुर दंग पर्छ’लगायतका चलचित्रमा छायांकारको भूमिका निभाइसकेका छन्। यीबाहेक केही तामाङ र थारु संस्कृतिमा आधारित चलचित्र पनि खिचे। एक दशकभन्दा लामो समयसम्म काठामडौँलाई कर्मथलो बनाउँदै आएका उनी विगत डेढवर्षदेखि चितवनमै छन्। चितवनबाटै आफ्नो सम्पर्कमा आएका काम गरिरहेका उनी बताउँछन्।
तत्काल अर्को नयाँ चलचित्रको छायांकनका लागि उनी काठमाडौँ जाँदैछन्। समय फेरिँदै गएकोले पछिल्लो केही वर्षयता प्राविधिक कामको लागि जता बसे पनि काम पाउन सहज बनाएकोले कामको लागि राजधानी नै बस्नुपर्ने बाध्यता नहुने उनको बुझाई छ। सोहीअनुसार चितवनबाटै काम गरिरहेको उनी बताउँछन्। म्युजिक भिडियो र कभर गीतको भिडियो बनाउनको लागि चितवन जिल्लामै प्रशस्तै काम पाइने उनी बताउँछन्। मोफसलमै बसेर पनि हरेक किसिमको काम गर्न सक्ने सोचका साथ चितवनबाटै काम गर्दै आएको कोइराला बताउँछन्।
यसरी पलायो रहर
एसएलसी पछि हालका निर्देशक निरज घिमिरेसँग काठमाडौँ घुम्न जाँदा सुटिङस्थलमा पुगे। थानकोट पार्कमा घुम्न जाँदा चलचित्रको सुटिङ हेर्न पाएपछि छुट्टै रमाइलो लाग्यो। त्यतिबेला उनको ध्यान कलाकारभन्दा पनि क्यामेरा घुमाइरहेको व्यक्तिमा पर्यो। त्यसपछि उनलाई पनि क्यामेरा घुमाउने हुटहुटी चल्यो। त्यसपछि उनी क्यामेरा सिक्न भनेर स्टुडियो धाउन थाले। धेरथोर क्यामेरा चलाउने सामान्य ज्ञान पाएपछि विवाह, ब्रतबन्ध खिच्ने काम गर्न थाले। रिलवाला क्यामेराबाट सिकेका उनी डिजिटलको जमानासम्म आइपुगेका छन्। ‘त्यतिबेला कति महिनासम्म त क्यामेरा चलाउन पाउने लोभमा क्यामेरा बोक्ने काम मात्रै गरियो,’ उनी पछाडि फर्किन्छन्, ‘अहिले जस्तो सिक्न सजिलो पनि थिएन।’
क्यामेरा चलाउँदै जाँदा धेरै ठक्कर खाए। कति दिन भोकै पनि बसे। उनी भन्छन्, ‘कति दिन त खाना खानै नपाएर आलुको भरमा पनि काम गरियो।’ अहिले प्रविधिले सजिलो बनाएको उनले बताए। ‘हिजो सामान बोकेर हिँड्न पनि समस्या हुन्थ्यो, जनशक्ति बढी चाहिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले छोटो र छरितो भएको छ। पहिलेको तुलनामा धेरै नै सहज छ।’ हिजो रहरैले क्यामेराम्यान बनेका कोइरालालाई अहिले व्यावसायिक पेसा नै यही बनेको छ। यसैले घर परिवार धानिरहेका छन्। अहिलेका पुस्ताले युट्युबाटै सबैकुरा सिक्ने हुँदा पुरानोबाट प्रशिक्षण लिन नपर्ने उनको भनाइ छ।
Discussion about this post