‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने मूल विषयमा केन्द्रित हुँदै आज १११औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर मनाइँदै छ । नारी मुक्तिको सवाललाई लिएर महिला दिवस मनाउने परम्परा बाहिरैबाट विकसित भए पनि हाल नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यसलाई मनाउने क्रम विकसित हुँदै गएको पाइन्छ । आज महिलामाथि हुने धेरै प्रकारका हिंसाहरु हाम्रो समाजमा विद्यमान छन्, जसमा प्रमुखरुपमा लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन दुव्र्यवहार, प्रथाजन्य संस्कार एवं व्यवहार तथा विवाह प्रचलनजस्ता क्रियाकलापहरुले महिलाहरुलाई पछि पार्दै लगेको देखिन्छ । विकसित देशका महिला र अल्पविकसित देशका महिलाहरुलाई गरिने व्यवहारमा कुनै तुलना नै हुन नसक्ने अवस्था रहेको वर्तमान समयमा नारा उस्तै रहे पनि कम विकसित देशका महिलामाथि हुने शोषणको कथा भने निकै दर्दनाक छ ।
महिलाहरु आज जबर्जस्तीमा मात्र परेका छैनन्, अझ उनीहरुलाई वस्तुसरह विक्रीवितरण गर्ने प्रवृत्ति पनि कम भएको देखिँदैन । महिलाहरुको सवालले जतासुकै प्राथमिकता त पाइरहेको हुन्छ, तर जब कार्यान्वयन गर्ने अवस्था आउँछ त्यसलाई भने ओझेलमा पार्ने गरिन्छ । अतिविकसित युरोप, अमेरिकाजस्ता क्षेत्रहरुको तुलनामा विशेषगरी एसियाका महिलाहरुमाथि हुने दमन निकै चर्को छ । महिलामाथि पुरूषले हैकममात्र जमाएका छैनन्, अझ उनीहरुलाई दासको रुपमा व्यवहार गरेका कयौँ उदाहरणहरु देख्न सकिन्छ । यस्तो स्थिति आउनुमा महिलाले महिलालाई गर्ने व्यवहार पनि ठूलो कारकका रुपमा विद्यमान छ । महिला नै महिलाहरुको पक्षमा सशक्तरुपले उभिन नसक्नु र बच्चादेखि नै छोरा र छोरीप्रति प्रदर्शन गरिने भेदभावपूर्ण व्यवहारलाई लिएर पुरूषकै स्वरमा स्वर मिलाउनुले महिला अधिकारले खास अर्थमा सम्मान पाउन नसकेको हो भन्दा अन्यथा हुँदैन । महिलामाथि हुने कुनै पनि हिंसाविरूद्ध समाजलाई सचेत नबनाएसम्म दिवसमात्रै मनाउनु र महिला मुक्तिका गीतमात्रै गाउनुको खासै कुनै अर्थ रहँदैन ।
महिलाहरुका नाममा विगतमा गरिएको ३३ प्रतिशत आरक्षणले पनि उनीहरुलाई दयाको पात्रभन्दा माथि उठ्न दिएको देखिएन । जनप्रतिनिधिहरुको हकमा महिलाहरुको प्रतिनिधित्व त्यसअनुरुप रहे पनि कार्यकारी अधिकार भने पुरूषहरुकै नियन्त्रणमा अहिले पनि छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा महिलाहरुको उपस्थिति नहुने गरेको होइन, तर प्रतिस्पर्धात्मकरुपमा उनीहरु अघि आउन भने सकेका छैनन् । सामाजिक मान्यताको विरूद्धमा नारीहरुकै कमजोर हस्तक्षेपकै कारण यस्तो अवस्था आएको हो । अल्पविकसित देशमा महिला दिवसले महिला मुक्ति आन्दोलनलाई केही सहयोग पु¥याएको देखिए पनि खास दिनमात्रै तामझाम हुने तर अरु दिन उसरी नै पुनरावृत्त हुने हुनाले महिला मुुक्तिको प्रश्नले कहिल्यै निकास पाउन नसक्ने सम्भावना त्यत्तिकै जीवित देखिन्छ । समाजमा आमूल परिवर्तनका लागि लड्ने मानसिकताले जबसम्म सशक्त ढङ्गले काम गर्दैन तबसम्म महिला दिवस औपचारिकताभन्दा माथि कहिल्यै उठ्न सक्दैन । करिब एक सय १० वर्षभन्दाअघि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरू गर्दा त्यसको उद्देश्य महिलाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरुपमा सशक्तीकरण र समान अधिकारको वकालत गर्ने थियो । आज त्यो उद्देश्यले कुन रुपमा काम गरिरहेको छ भन्नेबारेमा अब मूल्याङ्कन हुनुपर्छ ।
Discussion about this post