एउटा मन्दिर बन्दै थियो, वरिपरिका गाउँलेहरु आएर मन्दिर बनाउन श्रमदान गरिरहेका थिए । मन्दिर बनाउने वालाले गाउँ–गाउँका मान्छेहरुसँग सबै आएर थोरै–थोरै सहयोग गर्न प्रार्थना गरेका थिए । कसैले एउटा इँटा ल्याउनु, कसैले एउटा इँटा जोड्नु, कसैले एक ढुङ्गा ल्याउनु, कसैले एक ढुङ्गा जोड्नु, कसैले केही माटो बोक्दिनु, तर मन्दिर सबै मान्छेहरुको श्रमले निर्माण होस् ।
अत्यन्त समझदार रहे होलान् त्यस गाउँका मान्छेहरु, किनकि जब एउटा मान्छे मन्दिर बनाउँछ तब त्यो अहंकारको मन्दिर बन्न पुग्छ । तर, जब हजारौँ मान्छे मिलेर प्रेमले केही बनाउँछन् भने त्यो प्रेमले नै त्यो स्थानलाई मन्दिर बनाइदिन्छ । टाढा–टाढाबाट मान्छेहरु त्यो मन्दिर बनाउन आएका थिए । त्यो कुनै एक व्यक्तिको ढुङ्गाले मात्र बन्ने मन्दिर थिएन । काम सुरू भइसकेको थियो ।
एउटा मान्छे बिहानै आएर उभियो, चुपचाप उदास । उ कुनै काम गरिरहेको थिएन । उ एउटा रुखको तल चुपचाप उभिएको थियो । मन्दिर बनाउँदै गरेका दुई चार जना ऊ नजिक गए र सोधे, ‘मित्र, तिमी हातेमालो गर्दैनौ ? केही सहयोग गर्दैनौ ?’
त्यो मान्छेले भन्यो : म पनि चाहन्छु प्रभु मन्दिरमा सहयोग गरौँ, म पनि चाहन्छु कि यो आनन्द मलाई पनि मिलोस्, तर भोको पेटको मान्छेले के गर्न सक्छ र ? म भोको छु, भोको पेट कसरी श्रम गर्न सकिन्छ र ?
कुरा ठीकै थियो । उनीहरुले उसलाई आफ्नो घर लिएर गए । उसलाई पेटभरि भोजन गराए । त्यसपछि उनीहरु मन्दिर फर्केर आए । ती चार व्यक्तिहरु मन्दिरमा काम गर्न थाले । त्यो व्यक्ति फेरि त्यही रुखमुनि गएर उभियो जहाँ बिहान उभिएको थियो । केही छिनपछि उनीहरुले देखे, त्यो व्यक्ति उदास, त्यहीँ उभिएको छ, उसले न एउटा ढुङ्गा उठायो, न एउटा इँटा बोक्यो । उनीहरु फेरि ऊ नजिक गएर भनेः “महाशय, फेरि केही समस्या आइप¥यो कि ? तपाईँ फेरि पनि कुनै सहयोग गरिरहनु भएको छैन ।”
उसले भन्यो ,“म पनि चाहन्छु कि प्रभुको मन्दिरमा सहयोग गरूँ, तर भरिएको पेटले कसैले श्रम गर्न सक्छ र ?”
बिहान ऊ खाली पेट थियो त्यसैले श्रम गर्न सक्थेन, अहिले पेट भरिएको छ, त्यसैले श्रम गर्न सक्दैन । अब यो मान्छेले श्रम कहिले गर्छ ?
कोही यस कारण साधना गर्न सक्दैन किनकि ऊ गरिब छ, कोही धनी छ यस कारण साधना गर्न सक्दैन । कोही यस कारण साधना गर्न जान पाउँदैन किनकि पेट खाली छ । कोही भन्छ पेट भरिएको छ, त्यसैले हामी त्यतातिर जान पाउँदैनौ । मैले हर परिस्थितिको मान्छेहरु भेटेको छु र मैले पाएँ, हर परिस्थितिको मान्छेहरु यही भन्ने गर्छन् कि हाम्रो परिस्थिति यस्तै छ कि हामी केही गर्न समर्थ छैनौँ । अहिलेसम्म मैले एउटा मान्छे भेटेको छैन जसले मेरो परिस्थिति यस्तो छ कि, म केही गर्न समर्थ छु भनेको होस् ।
पक्कै पनि कुरा अर्कै छ, परिस्थितिहरु वास्तविक कारण हैनन् । असली कारण, जे हामी गर्न चाहदैनौँ, त्यसको लागि सधैँ जस्टिफिकेसन, त्यसको लागि सधैँ न्याययुक्त कारण खोज्छौँ र निश्चिन्त हुन्छौँ ।
यस्तो कुनचाहिँ परिस्थिति छ जसमा मान्छे शान्त हुन सक्दैन ? यस्तो कुन परिस्थिति छ जसमा मान्छे प्रेमपूर्ण हुन सक्दैन ? यस्तो कुनचाहिँ परिस्थिति छ जसमा मान्छे केही छिनको लागि मौन र शान्तिमा प्रविष्ट हुन सक्दैन ? ऊ हुन चाह्यो भने हर स्थितिमा, हर परिस्थितिमा बिलकुल हुन सक्दछ ।
युनानमा एक मन्त्रीलाई उसको सम्राटले फाँसीको सजाय दिएको थियो । बिहानसम्म सबै ठीक थियो । दिउँसो मन्त्रीको घर सिपाहीहरु आए, उनीहरुले घरको चारैतिर घेरे र भित्र गएर मन्त्रीलाई खबर गरे कि तपाईँलाई कैद गरिएको छ र सम्राटको आज्ञा छ कि, आज सन्ध्या ६ बजे तपाईँलाई फाँसी दिइयोस् ।
मन्त्रीको घरमा उसको मित्रहरु आएका थिए । एउटा ठूलो भोजको आयोजना थियो । त्यो मन्त्रीको जन्मदिन थियो । एउटा ठूलो संगीतिज्ञलाई बोलाइएको थियो । ऊ भर्खरै आफ्नो वीणा लिएर हाजिर भएको थियो । उसको संगीत सुरू हुनै लागेको थियो । संगीतिज्ञको हात गल्यो । वीणा उसले एकातिर राख्यो । मित्रहरु उदास भए । श्रीमती रुन थाली ।
तर त्यो मन्त्रीले भन्यो, ६ बज्न अझै धेरै बाँकी छ, तबसम्म गीत पूरा हुन्छ । तबसम्म भोज पनि पूरा हुन्छ । राजाको ठूलो कृपा, कमसेकम ६ बजेअघि फाँसी दिएनन् । तर वीणा किन बन्द भयो ? भोज किन बन्द भयो ? मित्रहरु किन उदास भए ? ६ बज्न अझ धेरै बाँकी छ । छ बजेसम्म केही पनि बन्द गर्ने जरुरत छैन ।
तर मित्रहरु भन्न थाले : अब हामी भोजन गर्ने कसरी ?
संगीतिज्ञ भन्न थाल्यो : अब म वीणा कसरी बजाऊ ? परिस्थिति बिल्कुलै अनुकूल रहेन ।
त्यो मान्छे हाँस्न थाल्यो जसलाई फाँसी हुनु थियो । उसले भन्यो : यो भन्दा अनुकूल परिस्थिति अरू के होला ? ६ बजे म मर्दैछु । के यो उचित हुँदैन कि म पहिला संगीत सुनुँ ? के यो उचित हुँदैन कि त्यो भन्दा पहिला आफ्ना मित्रहरुसँग म हाँसुँ, बोलुँ, भेटुँ ? के यो उचित हुँदैन कि मेरो घर एक उत्सवको स्थान बनोस् ? – किनकि साँझ ६ बजे मलाई सधैँको लागि बिदा हुनु छ ।
घरका मान्छेहरु भन्न थाले, कसैले वीणा बजाउने परिस्थिति अब रहेन, परिस्थिति अनुकूल रहेन कि अब कुनै भोज होस् ।
तर त्यो मान्छे भन्न थाल्यो, यो भन्दा अनुकूल परिस्थिति अरू के हुन् सक्दछ ? जब मलाई ६ बजे सधैँको लागि बिदा हुनु छ त के यो उचित हुँदैन कि बिदाको क्षणमा म संगीत सुनुँ ?
के यो उचित हुँदैन कि मित्रहरु उत्सव गरुन् ? के यो उचित हुँदैन कि मेरो घर एक उत्सव बनोस्, जाँदा जाँदै मेरो स्मृतिमा यो सानो पल सदाको लागि टिकोस् जुन मैले अन्तिम क्षणमा, बिदाइको क्षणमा अनुभव गरेँ ।
अतः त्यो घरमा वीणा बजी नै रह्यो र त्यो घरमा भोज चली नै रह्यो । यद्यपि मान्छेहरु उदास थिए, संगीतिज्ञ उदास थियो । तर त्यो मन्त्री खुसी थियो, ऊ प्रसन्न थियो ।
राजाले खबर पायो । राजा हेर्न आयो कतै त्यो मन्त्री पागल त हैन । जब ऊ पुग्यो, त्यहाँ वीणा बज्दै थियो, पाहुनाहरु जम्मा भएका थिए ।
राजाभित्र गयो, मन्त्री त आनन्दमग्न भएर बसेको थियो । राजाले सोध्योः तिमी पागल भएछौ । खबर पाएनौ, ६ बजे साँझ तिम्रो मृत्यु छ ।
उसले भन्योः खबर पाएँ, त्यसैले हामीले आनन्दको उत्सव तीव्र बनायौँ । त्यसलाई सिथिल गर्ने त कुनै कारण छैन, किनकि ६ बजे म बिदा हुन्छु, अतः हामीले आनन्दको उत्सवलाई तीव्र गरेका छौँ; किनकि यो अन्तिम बिदाको क्षण स्मरण रहोस् ।
राजाले भन्यो : यस्तो मान्छेलाई फाँसी दिनु व्यर्थ छ । जो मान्छे जिउन जान्दछ उसलाई मर्ने सजाय दिन सकिँदैन । उसले भन्यो ः म सजाय फिर्ता लिन्छु । यस्तो प्यारो मान्छेलाई आफ्नो हातले म मारुँ, यो ठीक हुन्न ।
जीवनमा अवसर के छ, परिस्थिति के छ, यो कुरामा निर्भर हुँदैन कि परिस्थिति कस्तो छ । त्यो त हामी त्यो परिस्थितिलाई कसरी लिन्छौँ, कुन एटिच्युडमा, कुन दृष्टिले भन्ने कुरामा निर्भर गर्छ ।
अतः मलाई ज्ञात छैन कि यस्तो कुनै परिस्थिति हुन सक्दछ, जसले तपाईँको जीवनमा तपाईँलाई प्रभुतिर जानबाट रोक्दछ । तपाईँ आफैँ नै आफूलाई रोक्न चाहनुहुन्छ भने दोस्रो कुरा हो । तब हर परिस्थितिले रोक्न सक्दछ ।
[शून्य कि नाव]
Discussion about this post