धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–४ जिम्वालगाउँ ढुंगेनीमा गत पुस २४ गते राति ७५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका पाँच जना काठमाडौँबाट पक्राउ परेका छन् ।
सान्नानी सार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । सार्कीको हत्यामा संलग्न पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
वृद्धाले कान र घाँटीमा लगाएको गरगहना लुट्नकै लागि उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाका अनुसार लुटेरा समूहले गत पुस २४ गते राति २ बजे आफ्नै घरमा सुतिरहेको समयमा सान्नानीको हत्या गरेका हुन् ।
वृद्धाको हत्यामा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका–१ बस्ने २५ वर्षीय अनिल थिङ भनिने जयबहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–९ मा जन्म भई सप्तरीका ३२ वर्षीय साजन विक, मोरङको विराटनगर महानगर–३ घर भई काठमाडौँ थानकोट बस्ने वर्ष २४ का अविशराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–१३ माइतीघर भई नुवाकोट जिल्ला विदुर नगरपालिका–५ घर भई काठमाडौँ बाफल बस्ने ३३ वर्षीया पुष्पाकुमारी पौडेल र काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–२ घर भई काठमाडौँ कालीमाटी बस्ने ४२ वर्षीय सुन व्यवसायी धनबहादुर कालीराजलाई धादिङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ससुरालीमा बस्दै आएका अनिल थिङ भन्ने जयबहादुर सिंगारले लामो समयदेखि सान्नानीको बारेमा जानकारी लिँदै आएको र सोही योजनाअनुसार उनको हत्या गर्नकै लागि काठमाडौँमा भेटेर छलफल गरी योजना बनाएर चार जना साथी बोलाई हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
घटना भएदेखि नै धादिङ र काठमाडौँमा प्रहरीले खोजी कार्य सुरू गरेको थियो । घटनापछि शंकास्पद व्यवहार देखाउँदै आएका अनिल थिङ भनिने जयबहादुर सिंगारलाई फागुन १७ गते पक्राउ गरी बयान लिँदा घटनाको रहस्य खुलेपछि अन्य चार जनालाई गत माघ २५ गते पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सुनका गहना लुटपाट गर्ने योजना बनाई पहिलेदेखि ससुराली घरमा बस्दै आएका अनिल थिङ भन्ने जयबहादुर सिंगारले अन्य प्रतिवादीहरुलाई काठमाडौँमा बोलाई योजना बनाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले बताए । योजनाबमोजिम मध्यरातमा सान्नानीको घरमा पुगी टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरी गरगहना लुछेर टोली राति नै गाउँबाट राजधानी फर्केको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । ‘अनुसन्धानका क्रममा योजनाबमोजिम हत्या गरिएको खुलेको छ’, खड्काले भने ।
हत्या गरी सुनका गरगहना लुटेर काठमाडौँ फरार भएका उनीहरुले भोलिपल्ट पुष्पाकुमारी पौडेलमार्फत कालीमाटीका सुन व्यवसायी धनबहादुर कालीराजलाई ५० हजार ३८९ मा बिक्री गरी आएको रकम एकआपसमा बाँडफाँड गरेको अनुसन्धाानका क्रममा खुलेको प्रहरीले बताए ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
श्रीमान् र श्रीमती अलगअलग घरमा बसेको दिन पत्ता लगाई उनको हत्या भएको थियो । मृतक सार्कीको दुई छोरा काठमाडौँमा बस्दै आएका छन् भने छोरीको विवाह भइसकेको छ । घर कुर्नका लागि अर्को घरमा सुतेको दिन पारेर लुटेरा समूहले उनको हत्या गरेका थिए ।
Discussion about this post