किशोर खनाल
आज साउने संक्रान्तिको दिन । आफूलाई मनपर्ने मीठोमीठो खाने दिन । विवाहित महिलाहरुका लागि नाच्दै माइत जाने दिन । झरीसँगसँगै आनन्द र खुसी हुने दिन । अनि, भगवान् शिवजीको प्रिय महिना । शिव पुकार्ने महिलाहरुका लागि रसिलो मौसम । वातावरण नै हरियाली हुने बेला । प्रकृतिसँग मीत लगाउने बेला । चराचुरूङ्गी छमछम नाच्ने समय । मयूर चरी खुसीसाथ शिव भगवान्लाई डुलाउने समय ।
‘वाह’ कस्तो रमाइलो महिना आयो साउन ! साउन महिनामा जताततै हरियाली हुने हुँदा सबैका लागि यो महिना रङ्गीन हुन्छ । बेलाबेलामा परिरहने झरीले सबैको मन रूझाएको हुन्छ । साउन लागेपछि नै पर्वको चटारो सुरू हुन्छ । महिला साउन लाग्नासाथ बेफुर्सदिला हुन्छन् । यसपटक पानी ढिला पर्दा ग्रामीण भेगका महिलाहरु रोपाइँमा व्यस्त नै छन् । सहरका महिलाहरुलाई साउन महिना लाग्दा नलाग्दै हरियो वस्त्रले ढाकिसकेको छ ।
झरी, प्रकृति र हरियो रंगको फ्युजन हो, साउन महिना । साउनको झरीमा नरूझेका मानिसहरु सायदै पाइन्छन् । भनिन्छ, साउनमा पनि नरूझेको मानिस अघि–पछि कहाँ रूझ्छ र ! साउनमा झरीले जमिनमात्र होइन, मायालुको मन पनि भिजाएको हुन्छ । साउनले सताउँछ सँगीलाई, आफ्ना प्राण प्याराको सम्झनामा । प्राण प्याराको सम्झनाले सताएपछि सँगीहरु गगन विरहीको शब्द सापट लिएर गाउँछन्–
‘पानीको रिमझिम बर्षात्को बेला
धीत मारेर किन रूझेकी
हिस्सी परेको मुहार तिम्रो
लाजले व्यर्थै किन छोपेकी
लाजले व्यर्थै किन छोपेकी ?’
साउने व्रतको चलन ः
भनिन्छ, साउन महिना भगवान् शिव खुसी हुने महिना हो रे ! शिवको मनपर्ने रंग हरियो भएकाले महिलाहरु हरियो वस्त्रमा सजिएर भगवान् शिवको व्रत लिन्छन् रे ! हुन पनि साउनमा त महिलाहरुले शिरमा रिबनदेखि खुट्टाको चप्पलसम्म हरियो लगाउँछन् ।
महिलाहरु हरियो टीका, चुरा, पोते, सारी लगाएर शिवको आराधना गर्छन् । उनीहरु साउनको सोमबार व्रत बस्छन् । ‘यसपटक त साउनमा चारवटामात्र सोमबार परेको छ, सोमबारे व्रत त लिनैप¥यो नि !’ भरतपुरकी भारती कुँवरले भनिन्, ‘बिहे नगर्दा राम्रो पति पाऊँ भनेर बसियो, अब त पतिको दीर्घायुमा बस्ने होला नि ।’ उनले थपिन्, ‘मेरो त श्रीमान् पनि श्रीमतीको दीर्घायुको कामना गर्दै व्रत बस्नुहुन्छ ।’
विवाहित महिलामात्र नभएर कुमारीदेखि वृद्धवृद्धा महिलासमेत सोमबारे व्रत बस्छन् । कोही महिलाहरु निराहार व्रत बस्छन् । केका लागि व्रत बस्नुहन्छ ? भनेर कसैले प्रश्न राखे बाहिर खुलेर बोल्न चाहँदैनन्, सँगीहरु । तर, विवाहित महिलाले पतिको आयु लामो होस् भनेर व्रत बसेका हुन्छन् भने अविवाहित महिलाहरु राम्रो पति पाइयोस् भन्ने कामनामा व्रत बसेका हुन्छन् ।
नारायणगढकी शर्मिला भट्टराई आफूले थाहा पाउने बेलादेखि नै साउने सोमबारको व्रत बसेको बताउँछिन् । साउन महिनामा सोमबारको व्रत बस्दा परिवारमा सबैको राम्रो हुन्छ भन्ने विश्वास भएकाले व्रत बसेको उनले बताइन् । भन्छिन्, ‘व्रतले सबैलाई राम्रो गर्ने जनविश्वास भएर बसेकी हुँ ।’
स्कुल पढ्ने किशोरीदेखि कलेज पढ्ने ठिटीहरु पनि साउने सोमबार व्रत बस्ने चलन छ । साउन सोमबार शिवमन्दिरमा धेरै किशोरी तथा महिलाहरुको भीड नै लाग्छ । थालीमा अक्षता र रातो टीका लिएर गएका किशोरीहरु लाइनमा बसेर भए पनि शिव भगवान्सँग हात जोडी असल वर माग्छन् । भगवान् शिवलाई खुसी पार्न नाचगान र भजनसमेत गाउने चलन छ, साउनमा । साउन सोमबारको व्रत बस्दा शिव भगवान् खुसी हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
हाम्रो समाजमा देखासिकी गरेर पनि व्रत बस्ने चलन छ । घरमा आमा, दिदी साउने सोमबार व्रत बसेको देखेर कुरा नै नबुझी बालबालिका समेत व्रत बस्ने गरेको पाइन्छ । ‘आमा र दिदी व्रत बस्नुभयो, त्यसैले म पनि बसेकी हुँ’, एक बालिकाले भनिन्, ‘खै, किन व्रत बस्छन् मलाई त थाहा छैन, फलफूल खान पाइने भएर हो कि !’
साउन महिनाको सोमबार व्रत बस्ने चलन नेवारी संस्कृतिमा छैन । तर, बाहुन–क्षेत्री व्रत बसेको देखेर उनीहरुमा पनि यो संस्कृति भित्रिएको छ । बौद्ध संस्कृतिमा पनि सोमबारे व्रत बस्ने कुरा उल्लेख छैन । सोमबारे व्रत बस्ने चलन कहिलेबाट सुरू भयो भन्ने कुरा हिन्दू धार्मिक ग्रन्थहरुमा पाइएको छैन । भागवत् शास्त्रमा जीवन मंगलमय बनाउन साउनको सोमबार शिवको उपासना गर्नु भन्ने कुरा उल्लेख छ ।
पानी छल्ने महिना ः
यस महिनालाई पानी छल्ने महिना पनि भनिन्छ । विवाहको पहिलो वर्ष नवदुलहीहरु साउन महिनामा पानी छल्न माइती घर जान्छन् । हिजोआज त नवदुलहीमात्र होइन, पुरानी दुलही पनि पानी छल्ने भन्दै माइत जाने गरेका छन् ।
‘पानी छल्न एक हप्ता माइत जाने सुरसारमा छु’, भरतपुर–१० की २३ वर्षीया विन्दा रानाभाटले भनिन्, ‘पहिल्यैदेखि चलिआएको चलन हो, मान्नुपर्छ ।’ हरियो वस्त्र लगाएर साउनमा माइत जानेहरुको ताँती नै देखिन्छ । ‘माइतीघरमा गएर आमासँग व्रत बस्नुको मज्जा नै बेग्लै हुन्छ नि’, विन्दाले भनिन्, ‘विशेषगरी, नवदुलही नै साउनमा माइत जान्छन् ।’
साउनमा झमझम पानी परेको हुन्छ । नवदुलहीहरु पहिलो वर्ष लोग्नेको घरमा परेको पानी छल्नका लागि माइत पुगेका हुन्छन् ।
सवै वस्त्र हरियो ः
भनिन्छ, साउन हरियो महिना हो रे ! यतिबेला प्रकृति पनि हरियो रंगमा डुबुल्की मारेकी हुन्छिन् । साउनमा विवाहित होस् या अविवाहित, सबै महिलाले प्रकृतिसँग मिल्ने हरियो वस्त्र लगाएका हुन्छन् । शिरको रिबन, टीका, पोते, चुरा, ब्लाउज र सारी सबै हरियो पोसाकमा सजिएका हुन्छन्, चेलीहरु । साउनमा किन हरियो लगाउँछन् महिलाहरु ? यसको उत्तर त धार्मिक शास्त्रमा छैन । भागवत् शास्त्रमा हरियो रंग शिवको मनपर्ने रंग हो भन्ने कुरा उल्लेख छ । त्यसैले, शिवलाई खुसी पार्न महिलाहरुले हरियो वस्त्र लगाएका हुन् । शिवको वाहन मयूर पनि हरियो हुन्छ । हरियो मयूरमाथि बसेका शिवलाई खुसी पार्न पनि हरियो रंग लगाएर उपसना गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
महिलाहरु हरियो वस्त्र धारण गरी फुरूङ्ग भएर व्रत बसेका हुन्छन् । साउनमा हरियो वस्त्र लगाउने चलनले हिजोआज फेसनको रुप लिएको छ । साना नानीदेखि कपाल फुलेका वृद्ध आमाहरु पनि हरियो चुरा लगाएका हुन्छन्, साउनमा । ‘साउनमा हरियो ब्लाउज र सारीमा हरियो चुरा छ्याङछ्याङ नबजाउने महिलाहरु को होलान् र खै !’ प्रेसिडेन्सीमा बीबीए पढिरहेकी अञ्जु खनालले भनिन्, ‘आफ्नो मनोकांक्षा पूरा होस् भनेर शिवलाई खुसी पार्नका लागि हरियो पहिरन लगाएकी हुँ । तर, हिजोआज साउनको हरियो पहिरन सबैका लागि फेसन पनि भएको छ ।’
मायाको मौसम ः
साउन माया मौलाउने मौसम हो । यही समयमा हो, वृन्दावनमा राधा र कृष्णले रासलीला रचाएका । त्यसैले होला, साउनलाई मायाको मौसम भनिन्छ । मौसम रसिलो हुनाले मायाको पनि रसपान गराउँछ । परदेशिएका प्रेमीको सम्झनाले सँगीलाई सताउँछ ।
भनिन्छ, साउनमा नगरेको माया अघि–पछि कहिले गरिन्छ र ! साउने झरीसँगै मायाको बर्षात् हुन्छ । त्यसैले त साउनमा रूझेर भए पनि मायाको पगरीमा बेरिएका हुन्छन्, ठिटाठिटीहरु । यही मौसममा शिवले पार्वतीलाई बेसरी रूचाएका थिए रे !
‘साउन महिना त माया गर्ने महिना हो । एसएलसी पास गरियो, साउन लागेपछि कलेज खुल्छ । अब झरीसँग कलेजतिरै माया वर्षन्छ’, एक ठिटोले भने, ‘साउनमा प्रेमीको सम्झनाले सँगीलाई सताउँछ, सँगीको सम्झनाले प्रेमीलाई ।
Discussion about this post