रत्ननगर । रत्ननगर नगरपालिकालाई मंगलबार साक्षर नगर घोषणा गरिएको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले संयुक्त रुपमा रत्ननगरलाई साक्षर नगर घोषणा गर्नुभएको थियो ।
योसँगै चितवनमा साक्षर नगरपालिका घोषणा हुने संख्या ३ पुगेको छ । यसअघि खैरहनी, चितवन नगरपालिका साक्षर नगर घोषणा भइसकेका छन् भने भरतपुर नगरपालिका साक्षर घोषणा हुन बाँकी छ ।
रत्ननगरका यसअघि घोषणा गर्न बाँकी रहेका वडाहरुलाई साक्षर बनाइएपछि नगरलाई नै साक्षर घोषणा गरिएको हो । यसअघि नगरपालिकाको १, ६, ७, ८, ९, १०, ११ र १३ नम्बर वडा साक्षर घोषणा गरिएको थियो । बाँकी रहेको २, ३, ४, ५ र १२ नम्बर वडालाई साक्षर घोषणा गरी नगरपालिकालाई नै साक्षर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
घोषणा सभामा ज्योतिर्मय सामुदायिक अध्ययन केन्द्रकी निवर्तमान अध्यक्ष शान्तीदेवी ढुङ्गानाले साक्षर कक्षा तथा साक्षर कक्षाको प्रभावकारितालाई समेटेर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको प्रतिवेदनअनुसार २०६८ सालको जनगणनालाई आधार मान्दा ६ हजार २ सय ७५ निरक्षरमध्ये साक्षर कक्षा सञ्चालनबाट ५ हजार १ सय १३ जना अर्थात् ९८.११ प्रतिशत नागरिक साक्षर वनेका छन् भने १.८९ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन् । रत्ननगरमा ४६ हजार ३ सय ६७ जनसंख्या छ ।
घोषणा गरिएका वडामध्ये सबैभन्दा उत्कृष्ट वडा नम्बर ६ रहेको पाइएको छ । वडा नम्बर ६ मा ९९.५५ प्रतिशत नागरिक साक्षर भएका छन् । नगरलाई साक्षर वनाउन ज्योतिर्मय सामुदायिक अध्ययन केन्द्र, नारी जागरण केन्द्र, स्थानीय स्वरोजगार केन्द्र र स्वास्थ्य तथा वातावरण समाजले जिम्मा पाएका थिए ।
घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत शहदेवप्रसाद श्रेष्ठले बाँकी रहेका निरक्षरहरुलाई निरन्तर कक्षा सञ्चालन गरी साक्षर बनाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुखअतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले साक्षर जिल्ला घोषणा गर्ने शिक्षा कार्यालयको लक्ष्य नजिक रहेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, चितवनका पूर्वजिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, संस्थापक नगरप्रमुख नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, नगरका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले सञ्चालन गरेको तथा वातावरण स्वास्थ्य समाजका अध्यक्ष ज्ञानेन्द्र रेग्मीले स्वागत मन्तव्य राखेको घोषणा सभा नगरपालिकाका कार्यकारी अधिकृत शहदेवप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । घोषणा सभाअघि रत्ननगरको नेपाल उच्च माविबाट विभिन्न जातजाति तथा विभिन्न संघसंस्थाको झाँकीसहितको ¥यालीले नगरपरिक्रमा गरेको थियो ।
Discussion about this post