काठमाडौं २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन्। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको बताएका हुन्।
‘हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन,’ उनले भने।
विदेशी पर्यटक आगमन सहज बनाइने
पर्यटनमन्त्री ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे। विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएकोले यसले छिट्टै परिणाम हासिल गर्ने उनको भनाइ छ। – रासस
Discussion about this post