परासी । नवलपरासीको कावासोती नगरपालिकाको सम्पन्न नगरपरिषद्ले आगामी आर्थिक वर्ष २०७१÷७२ का लागि करिब ११ करोडको बजेट पारित गरेको छ ।
जसअन्तर्गत चालूतर्फ साढे चार करोड र पुँजीगततर्फ साढे छ करोड गरी करिब ११ करोडबराबरको अनुमानित आय–व्यय बजेट पारित गरिएको हो ।आयअन्तर्गत आन्तरिकमा एक करोड ५० लाख र बाह्य अनुदान नौ करोड ५० लाखबराबर प्राप्त हुने अनुमान गरिएको छ ।
यसैबीच, विगत १० वर्षदेखि उठ्दै आएको कावासोतीको फोहोर नगरपालिका घोषणासँगै डम्पिडसाइटको अभावमा बन्द हुँदा नगरपालिका क्षेत्र दुर्गन्धित भएको छ ।
चोक, गल्ली, खाली भूभाग जताततै फोहोर तथा फोहोर जलाइएका खरानीका थुप्राले बजारलाई कुरुप बनाएको छ । पटकपटक नगरपालिकामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले फोहोर व्यवस्थापनका लागि समिति गठन गर्ने कार्यबाहेक अन्य ठोस कार्य गर्न सकिरहेको छैन ।
फोहोर व्यवस्थापनका लागि नगर विकास समितिका अध्यक्ष सुरज गुरूडको अध्यक्षतामा डम्पिडसाइट निर्माणार्थ समिति गठन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने भनिए तापनि अहिलेसम्म पेस नगरेको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले जानकारी दिनुभयो ।
डम्पिडसाइटका लागि देवचुली नगरपालिकासँग पनि समन्वय गरेर अगाडि बढ्न सकिने उहाँको भनाइ छ ।
Discussion about this post