‘हेर, कुनै दिन म पनि तिमीहरुजस्तै रातीपिरी मसक्क परेकी भरिली थिएँ । समयको परिवर्तनसँगै म यो अवस्थामा आइपुगेँ । भोलि तिमीहरु पनि मेरो स्थानमा अवश्य आउने छौ । तर, आज तिमीहरुबाट जान–अन्जानमा कुनै भूल हुनगयो भने तिमीहरुको अस्तित्व यत्तिकैमा समाप्त हुनेछ’, आमाबोटले पत्रदलहरुबाट छुट्टिन हतार गरिरहेका कोपिलाहरुलाई खबरदारी गर्दै भनिन् ।
‘हामी हजुरजस्तो मूर्ख छौँ र ?’ सानी कोपिलाले कटाक्ष गर्दै भनी ।
आमाबोट हुर्किएको बगैँचा चानचुने थिएन । सहरको नामुद घरानाको चिटिक्कको बगैँचा थियो । मालीहरु पनि एक से एक थिए । सबैजना बागमा खुब मन लगाएर रोपिएका हरेक वनस्पतिलाई आफ्नै सन्ततिझैँ माया, सेवा र स्याहार गर्दथे ।
त्यतिबेला हजुरआमा बोट हलक्क बढेर बैँसले ढपक्क ढाकिएकी र धपक्क बलेकी थिईन् । उनलाई देखेर नलोभिने त छिमेकमा कुनै माली थिएन । उनकै काखमा कोपिला बनेर टुसुक्क बसेकी थिइन्, आजकी आमाबोट ।
उनताकाकी कोपिलालाई पनि निकै हतार थियो पत्रदल छोड्न, पुष्पदलको घाँघर फिँजाउन र आफ्नो वरपर सुगन्धित अत्तर छर्केर छेउछाउ विचरण गर्ने भमरा, माहुरी वा पुतलीलाई लठ्ठ पार्न । हजुरआमाबोटको खबरदारीका बाबजुद आमाकोपिला फक्रिएरै छाडिन् । आफ्ना अङ्गमा लत्पत्याएर ल्याएको कुनै बेसोमतीको वीर्यले सिञ्चित भएर आफू गर्भवती भएको र त्यसपछिका दिनमा हरपल हरक्षण दरदरको ठोकर खाँदै यो अवस्थासम्म आइपुगेको हरेक पलको याद गर्दै आमाबोटले कोपिलाहरुलाई सम्झाउन कुनै कसर बाँकी राखिनन् । नवकोपिलाहरुलाई बैँसको उन्माद चढिसकेको थियो । किन सुन्थे त उनीहरु बूढीआमाका कुरा !
एकदिन एउटा भमराले त्यसैदिन मात्र ढकमक्क फुलेकी हिजोकी कोपिलालाई कानमा भन्यो, ‘प्रिय, आज मानिसहरुको प्रेम दिवस हो । अबको केही क्षणमा तिमीले प्रेमको नाममा बलिदानी दिनुपर्छ । त्योभन्दा पहिला तिमी मलाई तिमीलाई एकपटक माया गर्न देऊ न है !’
फूलले लाख बिन्ती गरे पनि भमराले मानेन, मान्दै मानेन । ऊ आत्महत्या गर्न तयार भयो । फूलले भमराको हालत देख्न सकिन र भनी, ‘मात्र एकपटक है त !’
बिस्तारै भमराले आफ्नो तिखो सुइरो नाजुक फूलको गर्भाशयमै पुग्ने गरी धसायो । बिचरी अथाह पीडाले आमा ! भनेर चिच्याई । भमराले उसको गर्धन पत्रदलनेरबाट फनक्क बटारेर उड्यो । उसको शरीरको भित्री भागबाट निस्किएको रंगीन लबड रंगहीन वातावरणमा फिँजिइरहेको थियो ।
भोलिपल्ट बिहान सुन्दर फूल भुइँमा झरिसकेकी थिई । उसका शारीरिक अवयवहरु क्षतविक्षत भैसकेका थिए । पर क्षितिजमा अनगिन्ती भमराहरु नारा–जुलुस गर्दैथिए, ‘हत्यारालाई फाँसी दे ।’
[email protected]
Discussion about this post