सम्मान र अपमानको हिसाबकिताब मान्छे जातिमा मात्रै हुन्छ, यो जातिलाई छाडेर संसारका अरु कुनै प्राणीमा यस्तो हिसाब, चर्चा र यसको अस्तित्व हुँदैन । संसारका सबै मान्छेले सम्मान चाहन्छन्, अपमान मन पराउँदैनन् । जसले सम्मान गर्छ उसलाई मन पराउने र अपमान गर्नेलाई भित्री मनैदेखि तिरस्कार गर्ने मान्छे जातिको खास विशेषता हो ।
सम्मान पाउँदा मान्छेको शरीरमा जति चाहिन्छ उतिनै तापक्रम रहन्छ, तर जब मान्छेले आफू अपमानित भएको महसुस गर्छ तब उसको शरीरको तापक्रम ह्वात्तै बढ्छ, उच्च रक्तचाप माथि उक्लिन्छ, रगतका नसाहरु फुल्न थाल्छन्, दिमागका साना–साना नसामा रगत छिटोछिटो बग्न थाल्छ । यसरी नसा फुल्दा कहिलेकाहीँ साना–साना नसाहरु फुट्न पनि सक्छन् र उस्तैपरे मान्छेको ज्यानसमेत जान सक्छ । त्यसैले, मान्छेको जीवनमा अपमान डरलाग्दो मनस्थिति हो । यस्तो अवस्थामा मान्छेको दिमागले ठीक काम गर्न सक्दैन र अपवादलाई छाडेर यस्तो अवस्थामा भए गरिएका कामहरुको परिणाम भयानक हुन जान्छ । यही कारण हो संसारका सबै मान्छे अपमानबाट जोगिनका लागि हरदम प्रयत्नशील रहन्छन् । यसपटक एउटा अपमान र त्यसको परिणामबारे चर्चा गरौँ, जुन अपमानको घटना भूतपूर्व भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले महसुस गर्नुभएको थियो ।
सन् १९७१ मा भएको लोकसभा निर्वाचनमा इन्दिरा गान्धीले धाँधली गर्नुभएको हो, उहाँलाई उचित कानुनी कारबाही गरिपाऊँ भन्ने तत्कालीन भारतका उपल्ला नेता राजनारायणले इलाहावाद हाइकोर्टमा दिनुभएको निवेदन उपर बहस हुने दिन थियो सन् १९७५ मार्च १८ । प्रधानमन्त्री गान्धी केही समयभित्र अदालतभित्र प्रवेश गर्ने सूचना आउनुअगावै राजनारायणका वकिलले न्यायाधीश जगमोहनलाल सिन्हालाई बयान दिन आउने प्रधानमन्त्रीलाई यो अदालतभित्र भएका मान्छेहरुले के तरिकाले सम्मान गर्ने हो भन्ने जिज्ञासामा न्यायाधीशले गान्धी आउँदा कोही पनि कुर्सीबाट उठ्न नपर्ने र नमस्कार पनि गर्न नपर्ने बताए । अदालतभित्र १५० भन्दा ज्यादा मान्छे थिए ।
प्रधानमन्त्री गान्धी अदालत प्रवेश गर्नुभयो र सबैलाई नमस्कार गर्नुभयो । तर, कसैले पनि नमस्कार फर्काएनन् र बसेको कुर्सीबाट पनि कोही उठेनन् । जिन्दगीमा यति ठूलो अपमान उहाँले कहिल्यै महसुस गर्नुभएको थिएन । अदालतमा पाँच घन्टा बहस भयो । गान्धीले धेरैपटक पसिना पुछ्नुभयो । फर्केर जाने बेला पनि गान्धीले सबैलाई नमस्कार गर्नुभयो, तर कसैले नमस्कार फर्काएनन् । त्यो अपमानको चोट खप्न उहाँलाई धेरै मुसिकल भयो । उहाँ सरासर भ¥याङबाट ओर्लिनुभयो र कार चढेर फर्किनुभयो । यो घटनाको पाँच दिनपछि अर्थात् २३ मार्च १९७५ मा इन्दिरा गान्धीलाई अदालतले बर्खास्त गरिदियो । ६ वर्ष चुनावै लड्न नपाउने बनाइदियो । यस्तो भनिन्छ कि त्यही साल गान्धीले भारतमा इमर्जेन्सी लागू गर्नुमा केही अन्य कारणमध्ये यो अपमानवाला कारण एक थियो । त्यो अपमानले इमर्जेन्सी लागू भयो । राजनीति कचल्टियो । भारत केही समयका लागि अशान्त भयो । भारतीय जनताले निकै ठूलो कष्ट महसुस गरे । त्यो अपमान यति भयानक हतियार साबित भयो, जसले सिङ्गो भारतलाई तरङ्गित बनाइदियो ।
अब अपमानको प्रसंग नेपालको । नेपालको इतिहासमा यतिधेरै अपमानका बचनहरु कहिल्यै सुनिएको थिएन, यसपटक सुनियो, महसुस गरियो । सडकमा राजनीतिक असन्तुष्टि व्यक्त गर्ने क्रममा सम्मानित संस्थाको प्रतिनिधित्व गर्ने राष्ट्रपति विद्या भण्डारीलाई मनलाग्दी गालीगलौच गरियो । त्यसले राष्ट्रपतिमाथि घोर अन्याय भयो । त्यो गालीगलौचले सामान्य अपमान गर्दैन, यसले त राष्ट्रपति भण्डारीको मनमुटु नै चिर्छ । राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्ने भएको हुँदा ती शब्दले सबै नेपालीको मनमा कोतर्छ । बोल्नै नहुने शब्द बोलेर यसपटक नेपालको राष्ट्रपतिलाई अपमान गरियो । यो भयानक अपमान हो । सामान्य हैसियतका नागरिकलाई अपमान गर्दासमेत परिणाम नराम्रो आउँछ भने देशको राष्ट्रपतिमाथि त्यो खालको घृणित शब्द प्रयोग गरेर गालीगलौच गर्नुले सभ्य समाज निर्माणमाथि पनि चुनौती खडा गर्छ ।
विद्यार्थी राजनीतिबाट उदाएकी एक नारी रामकुमारी झाँक्रीले पनि यसपटक राष्ट्रपति भण्डारीमाथि शब्दद्वारा हिलो छ्यापिन् । अपमान गरिन् । झाँक्रीले के सोच्न भ्याइनन् भने आज विद्या भण्डारी बस्नुभएको राष्ट्रपतिको कुर्सीमा इतिहासको कुनै कालखण्डमा उनी आफैँ बस्न सक्ने सम्भावना रहन्छ । उनले यो सम्भावनाबारे बिलकुल अन्दाज गर्न सकिनन् । अनुशासनको चरम उल्लङ्घन गर्दै झाँक्रीले राष्ट्रपतिलाई अपमान गर्दा धेरै नेपाली जनताले चित्त दुखाए । धन्य हो प्रभु ! राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । यदि कार्यकारी अधिकार राष्ट्रपतिलाई दिइएको हुन्थ्यो र त्यो खालको अपमान व्यहोर्न परेको हुन्थ्यो भने सन् १९७५ को इमर्जेन्सीवाला भारतको काण्ड यहाँ पनि देखा पर्न सक्थ्यो । अपमानको भयानक ज्वालाको चपेटमा नेपालको राजनीति परिछाड्थ्यो । तर, संविधानमा त्यो खालको अधिकार नभएको हुँदा जतिसुकै चित्त दुखाइ भए पनि राष्ट्रपति भण्डारीले कुनै पनि प्रतिक्रिया व्यक्त गर्नुभएन ।
यतिबेला नेपालको राजनीतिमा अचाक्ली तापक्रम बढ्दै गएका बखत देशका हिजो र आजका प्रधानमन्त्रीहरुले समेत अन्यलाई अपमान हुने किसिमले काँडारुपी बचनहरु प्रयोग गर्नुभयो । एकले अर्कोलाई मुटु छेड्ने गरी शब्दबाण प्रयोगमार्फत अपमान गर्नुभयो । प्रधानमन्त्रीको कुर्सी संसारका सबै देशमा एउटामात्रै हुन्छ । एउटामात्रै कुर्सी छ, तीन करोड नेपाली छन् । प्रधानमन्त्रीको कुर्सीमा बस्ने इच्छा त हरेक मान्छेको मनभित्र हुँदो हो, तर सबैको भाग्यमा त्यो अवसर लेखिएको हुन्न । धेरै प्रक्रिया पार गरेपछिमात्रै त्यो कुर्सीमा पुग्न सकिन्छ । इच्छा राख्नु अपराध होइन, तर नसुहाउँदा किसिमले त्यो कुर्सी प्राप्त गर्नेतर्फ लाग्नुलाई चाहिँ कुनै पनि हालतमा ठीक मान्न सकिन्न । सामान्य नागरिकले समेत अर्को नागरिकलाई अपमानजनक शब्द प्रयोग गर्न हुन्न, मानहानि, गाली–बेइज्जती मुद्दा खेप्न पर्छ भने एक–दुईपटक प्रधानमन्त्री भइसकेका, देशका सम्मानित नागरिकहरुले मूल्यहीन शब्द प्रयोगमार्फत अरुलाई अपमानित गर्नु कुनै पनि हालतमा ठीक काम थिएन । देशका सम्मानित मान्छेहरुबाट यस खालको गलत शब्द प्रयोगमार्फत आफूलाई निकै तल झार्ने काम भएको छ, यस्तो अवस्थाको कल्पना नेपाली जनताले कहिल्यै गरेका होइनन् ।
देशका उपल्ला हैसियतवालाहरुले शब्दद्वारा अपमान गर्ने सिलसिला सुरू गर्नुभएकैले होला रघुजी पन्त नामका एक जना नेताले कोमल वलीलाई पिँडुला देखाएर सांसद् पद पाएको बताउन भ्याए । कोमल वलीले सांसद् पद पाएको समय निकै भइसकेको छ, तर रघुजीले धेरैपछि आएर भन्नै नहुने घोर अपमानजनक शब्द बोले । जतिसुकै रिस उठे पनि एक महिला, त्यसमाथि सांसद्को रुपमा परिचित कोमल वलीलाई रघुजीले त्यसो भन्नै हुन्थेन । त्यो तरिकाले अपमानित गर्नै हुन्थेन । नेपाली महिलामात्रै होइन, रघुको बचनले सिङ्गो नेपाली नागरिक समाजले लज्जाबोध ग¥यो र अपमान बेहो¥यो । यो अपमानको अहिल्यै नकारात्मक असर देखा नपर्ला, तर कुनै एकदिन यसको भयानक असर पक्कै देखा पर्नेछ । कुनै न कुनैरुपमा देखा पर्नेछ ।
उदाहरण अरु पनि छन् । विश्वेश्वरप्रसाद कोइरालाले राजा महेन्द्रको अगाडि जानीजानी खुट्टो खप्ट्याएर हल्लाइदिएपछि उहाँले अपमान महसुस गर्नुभयो र त्यो अपमानले राजा र नेताबीच बढाएको दूरीले राजनीतिक दुर्घटना निम्त्यायो जुन “२०१७ साल काण्ड”को नामले परिचित छ । नेपालमा मात्रै होइन, यस्ता अपमानका घटनाहरु संसारका अरु विकसित देशहरुमा पनि घटेका छन् र ती सबै घटनाका परिणाम सुखद कहिल्यै भएनन्, दुःखद नै भए । भन्न त यसो पनि भनिन्छ कि व्यवहारले मान्छेको शरीर मर्ला, एकपटक मर्ला तर अपमानरुपी बचनले आत्मालाई नै मार्छ, एकदिन होइन प्रत्येक दिन मार्छ । अब मानवजीवन उत्कृष्ट पाराले बाँच्ने हो भने उत्तम उपाय यही हो कि सकेसम्म व्यवहारले समेत कसैलाई अपमानित नगर्नु । तर, तुच्छ वचन यस्तो खतरनाक बाण हो जसले मानवलाई जिउँदै मरेतुल्य बनाउँछ, त्यस्तो तुच्छ बचनचाहिँ कहिल्यै कसैमाथि प्रयोग नगर्नु । जसको परिणाम सोचेभन्दा ज्यादा भयानक हुन्छ र क्षति पनि अकल्पनीय हुन सक्छ ।
Discussion about this post