धादिङ । धादिङ जिल्लाको चैनपुर गाउँ विकास समितिमा केही दिनयता सर्पदशंका बिरामी बढ्न थालेका छन् । एक सातामा तीनजनालाई सर्पले डसेर घाइते बनाएपछि गाउँमा सर्पको विगविगी भएको छ ।
असार २८ गते चैनपुर गाविस वडा नम्बर ५ की २२ वर्षीया पूजा रम्तेल, सोही दिन चैनपुर ५ की १६ वर्षीया रन्जना छत्कुली, असार ३१ गते चैनपुर ६ का ७० वर्षीय मेघबहादुर आले सर्पले टोकेर उपचारका लागि जिल्ला अस्पताल आएको अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।
चार दिनमा अस्पतालमा सर्पको टोकाइबाट घाइते भएका चारजना बिरामी उपचारका लागि आएकोमा तीनजना चैनपुर गाविसको मात्रै भएकाले सो गाविसमा सर्पदंशको खतरा बढेको हुन सक्ने स्वास्थ्यकर्मी उप्रेतीको भनाइ छ । जिल्ला अस्पतालमा सर्पदंशको उपचारका लागि छुट्टै व्यवस्था नभएकोले सघन उपचार कक्षमा राखेर उपचार गराइ बिरामीलाई घर पठाउने गरिएको पनि स्वास्थ्यकर्मी उप्रेतीले बताउनुभयो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्ला अस्पतालमा सर्पदंशका बिरामी बढेको अस्पतालले जनाएको छ ।
Discussion about this post