भरतपुर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । नेकपा (एमाले) को नवौंँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली एक हजार दुई मत ल्याएर विजयी हुनुभएको छ ।
अध्यक्षका अर्का प्रतिस्पर्धी माधवकुमार नेपालले ९६६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने भीमबहादुर रावल एक हजार ३३०, बामदेव गौतम एक हजार ७५, विद्यादेवी भण्डारी एक हजार ५७, युवराज ज्ञवाली एक हजार २६ र अष्टलक्ष्मी शाक्य एक हजार छ मत ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्षका उम्मेदवार प्रदीप नेपाल, राजेन्द्रप्रसाद पाण्डे, लालबाबु पण्डित, किरण गुरुङ र धर्मनाथप्रसाद साह पराजित हुनुभएको छ ।
त्यस्तै महासचिवका उम्मेदवार ईश्वर पोखरेल एक हजार ५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद पाण्डे एक हजार २३ ल्याउनुभएको थियो ।
उपमहासचिवमा घनश्याम भुसाल एक हजार ४१ र विष्णुप्रसाद पौडेल एक हजार ४५ मत ल्याई विजयी हुनुभएको छ । सो पदमा शङ्कर पोखरेल र रघुजी पन्त पराजित हुनुभएको छ ।
सचिवका उम्मेदवारमा गोकर्णराज विष्ट एक हजार २०६, प्रदीपकुमार ज्ञवाली एक हजार १०६, योगेश भट्टराई एक हजार २८, पृथ्वी सुब्बा गुरुङ ९९६ र भीमप्रसाद आचार्य ८८७ मत ल्याएर विजयी हुनुभएको प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । सचिवका उम्मेदवार विष्णु रिमाल, रघुवीर महासेठ, परशुराम मेघी गुरुङ, वेदुराम भुसाल र केशवलाल श्रेष्ठ पराजित हुनुभएको छ । ओली विजयी भएपछि उनी पक्षधर कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।
Discussion about this post