केशव अधिकारी
धादिङ । ग्रामीण भेगका बालबालिकालाई प्राविधिक शिक्षा तथा सूचना संचारको विषयमा पोख्त बनाउन धादिङका युवाहरुले गाउँमा कम्प्युटर शिक्षाको लागि अभियान चलाएका छन् ।
ग्रामीण भेगमा कम्प्युटर शिक्षालाई विशेष प्राथमिकता दिने काम गर्दै आएको ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’ले जिल्लाका विभिन्न १३ भन्दा
बढी स्कूलमा कम्प्युटर, स्मार्ट इन्टरएक्टिभ बोर्ड र प्रोजेक्टर उपलब्ध गराएको छ ।
२१ औं शताव्दीमा धेरै नेपालीहरु कम्प्युटर शिक्षाबाट बञ्चित रहनु परेको भन्दै गाउँ–गाउँमा कम्प्युटर शिक्षा अभियानमा आवद्ध भएकाहरुले युग अनुसारको जनशक्ति उत्पादन गर्दै गरिबीको संख्या कम गर्न नेपाली जनताको जीवनस्तर उकास्न कम्प्युटर शिक्षा अनिवार्य भएको बताएका छन् ।
अभियानमार्फत जिल्लाकोे ज्याम्रूङ गाउँ विकास समितिअन्तर्गत शंखादेवी उच्च माविमा २४ थान कम्प्युटर, १ थान प्रोजेक्टर र १ थान स्मार्ट इन्टर एक्टिव बोर्ड उपलब्ध गराइएको, त्यस्तै गरी मञ्जुश्री मावि सिम्ले ज्याम्रूङमा १३ थान फुल सेट कम्प्युटर, ६ थान सिपियु र १ प्रोजेक्टेर र लामास्थान निमावि ज्याम्रूङमा ५ थान कम्प्युटर प्रदान गरिएको छ ।
अभियानकै क्रममा जिल्लाको कटुन्जे गाउँ विकास समितिको महेन्द्र बाराही उच्च मावि कटुन्जेमा ८ थान कम्प्युटर र १ थान मल्टी सिस्टम प्रिन्टर प्रदान गरिएको छ । सल्यानकोट गाउँ विकास समितिको कार्की गाउँ उच्च माविमा १२ सेट कम्प्युटर र १५ सेट सिसिटिभी क्यामेरा उपलब्ध गराएको अभियानका प्रमुख भुवन गुरूङले जानकारी दिनुभयो ।
अभियानमा वैदेशिक रोजगारीमा रहेका युवादेखि विभिन्न पेशामा देशभित्रै सक्रिय युवाहरु आवद्ध रहेका छन् । विशेष गरी विदेशी भूमिमा रहेका युवाहरुको पहलमा अभियान सुरूवात भई संचालनमा आएको हो ।
देश विदेशमा रहेका अभियानकर्ताहरुको सक्रियतामा आर्थिक वर्ष २०७१÷०७२ मा कम्प्युटर सहयोग उपलव्ध गराउन विभिन्न स्थानबाट व्यक्तिहरुले प्रतिबद्धता जनाएका छन् । संस्थाको अभियानलाई विश्वभरबाट विभिन्न क्षेत्रका समाजसेवी विभिन्न विद्यालयका भूतपूर्व विद्यार्र्थीलगायत पेसागत व्यक्तिहरुले सहयोग गरिरहेको संस्थापक भुवन गुरूङले बताउनुभयो ।
Discussion about this post