मधुसूदन दवाडी
एफएम रेडियो प्रविधिको आधुनिक रुप हो, जसको पूरा रुप फ्रिक्वेन्सी मोडुलेसन भन्ने हुन्छ । बिश्वमा रेडियो स्टेसन स्थापना भएको झन्डै १३ वर्षपछि मात्र रेडियोको पछिल्लो प्रविधिका रुपमा एफएम पत्ता लाग्यो । रेडियो स्थापना गर्नदेखि लिएर एफएम प्रविधिको प्रयोग गर्ने कार्यमा विश्वमा अमेरिका नै अग्रस्थानमा आउँछ । इटालीका भौतिकशास्त्री मार्काेनीले रेडियो प्रविधिको विकास गरे पनि त्यसलाई सर्वप्रथम रेडियो स्टेसनका रुपमा प्रयोगमा ल्याउने काम अमेरिकाबाट भयो । एफएम प्रविधिलाई भने अमेरिकाकै एड्विन आर्मस्ट्रङले सन् १९३३ मा विकास गरे, जसको प्रयोग अमेरिकी देश कोलम्बिया तथा बोलिभियाबाट सुरू गरियो । आज अमेरिकामा १० हजारभन्दा बढी एफएम स्टेसनहरु रहेका छन् ।
विशेषगरी, सुन्दा सुमधुर आवाज आउने तथा हावाको अवरोधले असर नगर्ने विशेषताहरु एफएम प्रविधिमा रहेको हुन्छ । प्रारम्भिक दिनमा अल्पसंख्यक समुदायको आवाजलाई उठाउनका लागि एफएम प्रविधिको प्रयोग भएको देखिन्छ । विश्वभर एफएम रेडियो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमा भन्दा पनि स्थानीय सञ्चारमा बढी प्रयोग भएको पाइन्छ । दक्षिण एसियामा भने सबैभन्दा पहिले सरकारी प्रयासबाट श्रीलंकामा यो प्रविधि भित्रन पुग्यो । नेपालमा पनि सरकारले वि.सं २०५२ सालमा नै १०० मेगाहर्जमा काठमाडौँमा एफएम प्रविधि स्थापित भयो, जसलाई रेडियो नेपालले क्लासिक एडभरटाइजिङलाई भाडामा दियो । राष्ट्रिय प्रसारण रेडियो नेपालले एफएम प्रविधि भित्र्याएको भए पनि यो प्रविधि ल्याउनुको मुख्य उद्देश्य नागरिकलाई सही ढंगबाट सूचना, जानकारी दिनभन्दा पनि रेडियो नेपालको व्यापार घाटालाई कम गर्न ल्याइएको थियो ।
सरकारभन्दा बाहिरबाट भने नेपाल वातावरण पत्रकार समूहले वि.सं २०५४ सालमा रेडियो सगरमाथाको स्थापना ग¥यो, जुन दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक एफएम रेडियो हो । रेडियो सगरमाथाले इजाजत पत्र पाउनका लागि झन्डै नौ वर्षजति संघर्ष गर्नुप¥यो । सरकारी अधिकारीहरुलाई एफएम प्रविधिका बारेमा जानकारी नहुँदा यसका लागि अनुमति दिन निकै गा¥हो भएको थियो । एफएमले सरकारलाई असजिलो पो पार्ने हो कि भन्ने डर सरकारी अधिकारीहरुलाई थियो, तर पनि लामो संघर्षपछि रेडियो सगरमाथा स्थापना हुन गयो । सगरमाथाको स्थापनासँगै नेपालमा एफएम रेडियोको स्थापना गर्ने लहर नै चल्न थाल्यो ।
सगरमाथा स्थापनापछि काठमाडौँमा इमेज एफएम, कान्तिपुर एफएमलगायतका एफएम रेडियोहरु स्थापित हुन थाले । उपत्यकाबाहिर भने पहिलो एफएमका रुपमा रेडियो लुम्बिनी तथा उपत्यकाबाहिरको सामुदायिक रेडियोका रुपमा रेडियो मदन पोखरा स्थापना हुन पुग्यो । चितवनमा भने पहिलो एफएम रेडियोका रुपमा वि.सं २०५८ सालमा सिनर्जी एफएम स्थापित भयो । आज चितवन र चितवनआसपासमा एक दर्जनभन्दा बढी एफएम रेडियोहरु प्रसारित रहेका छन् । सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकलाई नै हेर्ने हो भने पनि देशभर अहिलेसम्म झन्डै ४ सय एफएम रेडियोले प्रसारण अनुमति पाएका देखिन्छन् भने कयौँ रेडियोहरु बन्द भइसकेका छन् । अहिले नेपालमा एफएम रेडियोको गुणात्मकभन्दा पनि संख्यात्मक वृद्धि ज्यादा हुन पुगेको छ । कतिपय एफएम रेडियोले लक्षित समुदायलाई प्रभाव पार्ने गरी प्रभावकारी कार्यक्रम दिन सकेका छैनन् ।
वि.सं २०४६ सालको परिवर्तनपछि बनेका मिडियामैत्री नियम, कानुनको कारणले नै निजी क्षेत्रबाट मिडियाहरु स्थापित हुने वातावरण तयार भयो । जसमा मुख्यतया राष्ट्रिय प्रसारण ऐन २०४९ र राष्ट्रिय प्रसारण नियमावली २०५२ ले गर्दा पनि नेपालमा एफएम रेडियोहरु खोल्ने आधारहरु निर्माण भएको थियो । तत्कालीन समयमा यस प्रकारको कानुन बन्नु राम्रै उपलब्धि भए पनि यसलाई समयअनुसार संशोधन गर्दै जानुपर्ने आवश्यकता त्यत्तिकै आवश्यक छ । त्यसैगरी, सरकारले एफएम रेडियो सञ्चालनसम्बन्धमा स्पष्ट योजना तथा नीति बनाउनु पर्ने जरूरी पनि देखिन्छ ।
एफएम रेडियोको विकासक्रमका प्रारम्भिक दिनहरुमा मनोरञ्जन तथा सूचनामूलक जानकारीभन्दा बाहेक नियमित समाचार प्रसारण गर्ने अधिकार एफएमलाई दिइएको थिएन । सर्वाेच्च अदालतले वि.सं २०५८ साल साउन १ गते त्यस्तो प्रावधानलाई बदर गर्ने निर्णय गरेपछि एफएम रेडियोले आफैँ समाचार प्रसारित गर्न थालेका हुन् । समाचार प्रसारण गर्ने प्रावधानसँगै स्थानीय रेडियोहरुले स्थानीय समस्याहरुलाई उठाउने प्रचलन बढ्न गयो । समाजमा भएका विकास निर्माणदेखि सामाजिक समस्याहरुका बारेमा स्थानीय एफएम रेडियोको खबरदारी चलिरहेको छ । अझै पनि राष्ट्रिय राजनीतिक बहसमा केन्द्रित हुने प्रचलनले गर्दा स्थानीय मुद्दाहरुको गहिराइसम्म पुग्ने प्रचलन कतिपय रेडियोहरुमा हराइसकेको देखिन्छ । घटनाको जानकारी दिने तर त्यसका कारण तथा तथ्यहरुको खोजी गर्ने परम्परा भने फितलो बन्दै गएको छ । मिडियाहरुको कमजोर आर्थिक क्षमता तथा उच्चस्तरको जनशक्तिको अभावका कारणले पनि त्यस्ता समस्याहरु देखिएका छन् ।
एफएम रेडियोका कार्यक्रमहरुको स्तरीयतामाथि प्रश्नचिन्ह उठिरहेको अवस्थामा चितवनको पहिलो एफएम सिनर्जी एफएमले भने जनबहस नामको प्रभावकारी कार्यक्रम सञ्चालन गरिरहेको छ । आफ्नै रफ्तारमा प्रसारण भइरहेको यो एफएमलाई चितवनको गुरू–रेडियो भन्न पनि सकिन्छ । चितवनका आमसमुदायमाझमा एफएम प्रविधिको परिचय गराउने काम यही रेडियोले गरेको थियो । अहिलेका कयौँ अग्रज रेडियो पत्रकारहरु यही एफएमका उत्पादक हुन् भने कयौँले यसै एफएमबाट प्राविधिक ज्ञान लिएका थिए । यस रेडियोका अन्य कार्यक्रमहरु पनि त्यत्तिकै प्रभावकारी र लोकप्रिय छन्, तर पनि यसको जनबहस नामको छलफल कार्यक्रमले मिडियाको सामाजिक वाचडगको भूमिकालाई झनै बढाइदिएको छ ।
सैद्धान्तिक रुपमा जनबहसजस्तो कार्यक्रम प्यानल डिस्कसनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा अभ्यास हुँदै आएको छ । यस्ता कार्यक्रमको मुख्य उद्देश्य विषयवस्तु वा समस्यासँग सरोकार राख्ने सबै पक्षलाई सँगै राखिने छलफल नै हो । यस्ता कार्यक्रम सुन्दा आउने आनन्द नै बेग्लै हुन्छ । विशेषगरी, नीति निर्माता र पीडित पक्ष वा सरोकारवालाबीचको बहस तथा चर्काचर्की सुन्दा आमश्रोताहरुले विषयको सत्यता बुझ्न सक्छन् । अन्य प्रकारका सामान्य अन्तर्वार्ताहरुमा सरोकारवालाहरुले आफ्नो एकपक्षीय कुरा गर्छन् भने यसमा दोहोरो कुराकानी सुन्ने अवसर पाइन्छ । सिनर्जी एफएमले साप्ताहिक रुपमा सञ्चालन गर्दै आएको यस कार्यक्रमले ५३ वटा श्रृंखला पार गरेको छ । हरेक हप्ता यसको कार्यक्रम सुन्ने श्रोताहरु बढ्दै गएको कार्यक्रमका बारेमा आउने श्रोता प्रतिक्रियाहरुले पुष्टि गर्दछन् । चितवन जिल्ला र यसआसपास क्षेत्रका जल्दाबल्दा समस्याहरु हरेक हप्ता जनबहसको मुख्य विषयवस्तु बन्ने गर्दछ । विषयको छनोट गर्दा विभिन्न आमसञ्चारमाध्यमले उठाएका जिल्लाका जल्दाबल्दा समस्याहरु तथा एफएमका रिपोर्टरहरुले गरेका अध्ययनलाई मुख्य आधार बनाइन्छ ।
जनबहस कार्यक्रम सुनेर श्रोताले आनन्द लिनेमात्र नभएर जिल्लाका सरोकारवाला निकायहरुलाई घचघच्याउने काम पनि कार्यक्रमले गरेको देखिन्छ, जसबाट जिल्लाका योजनाकार तथा नीति निर्मातहरु सोच्न बाध्य बनेका छन् । कार्यक्रमले समस्यामात्र नदेखाएर समाधानका उपायहरु पनि खोज्ने भएकाले समस्याको समाधान गर्नलाई कार्यक्रमले सजिलो पनि बनाएको छ । कार्यक्रम प्रसारणको एक वर्षे अवधिमा कार्यक्रमले जिल्लाको ट्राफिक व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण, गाविसहरुमा विनियोजित बजेट र यसको पारदर्शिता, समाजमा समस्याका रुपमा देखिएको घरेलु हिंसा, ग्रामीण भागको आधारभूत स्वास्थ्य सेवा आदि जस्ता विषयहरु परेका छन् । सम्बन्धित विषयमा जिल्लाका सरोकारवालाहरुलाई सबैको माझमा उभ्याएर समस्याका बारेमा सोच्न बाध्य गराउँदा समस्याको समाधान भएका छन् ।
जिल्लाका विभिन्न संघसंस्थाले सञ्चालन गरेको एम्बुलेन्सको दुरूपयोगका बारेमा रेडियोले जनबहस सञ्चालन गरेको थियो, जसमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, एम्बुलेन्स सञ्चालकहरुका तर्फबाट नवराज लामिछाने र विभिन्न एम्बुलेन्स सञ्चालकलाई आमसमुदाय तथा पत्रकारहरुका माझमा राखेर जनबहस गरेको थियो । कार्यक्रममा एम्बुलेन्स सञ्चालनको आचारसंहिता बनाउनु पर्ने आवाज उठेको थियो, जसलाई प्रमुख जिल्ला अधिकारीले पनि आवश्यक ठान्नुभएको थियो । त्यसै कारणले अहिले जिल्लामा एम्बुलेन्स सञ्चालनको आचारसंहिता निर्माण भएको छ । चितवनको दुर्गम क्षेत्र चण्डीभञ्ज्याङ गाविसको स्वास्थ्य सेवाका बारेमा सोही गाविसमा गएर सिनर्जी एफएमले जनबहस गरेको थियो । यसकै प्रभावस्वरुप आज त्यस गाविसमा स्वास्थ्य सेवा सञ्चालनमा प्रभावकारिता देखिएको छ । स्वास्थ्य केन्द्रमा अहेवहरु थप भएका छन् ।
चितवनकै कयौँ गाविसमा भएको आर्थिक अनियमितताका बारेमा भएको बहसपछि अहिले त्यहाँका जनता सचेत मात्र नभएर गाविसको बजेट खर्च गर्दा आपसी सहमति गर्न संस्कृतिको विकास भएको पनि देखिन्छ । बजारमा उठेको फोहोर व्यवस्थापनका मुद्दाले पनि प्राथमिकता पाएर नगरपालिकाले निर्देशिका बनाएको देखिन्छ । विशेषतः सिनर्जी जनबहसका धेरै विषयहरुमा स्थानीयस्तरको सुशासन, संक्रमणकालीन न्याय तथा जनताको दैनिक जीवनमा देखिएका समस्याहरुले प्रमुख प्राथमिकता पाएको देखिन्छ । सिनर्जी एफएमको यो उदाहणीय कार्यलाई नेपालका अन्य एफएमहरुले पनि अपनाउन जरूरी छ । सधैँ गीत–संगीत बजाएर र ख्यालठट्टाले मात्र अब समाजमा परिवर्तन ल्याउन सकिँदैन, देशमा सुशासन स्थापना गर्नमा एफएम रेडयोको प्रभावकारी भूमिका सधैँ आवश्यक पर्दछ । सधैँ राजधानीमा मात्र हुने यस प्रकारको बहसभन्दा स्थानीयस्तरमा हुने छलफल तथा जनबहसलाई बढी प्राथमिकता दिनुपर्दछ । अब हाम्रा समस्याहरु हामी आफैँ समाधान गर्न सक्षम छौँ, सधैँ केन्द्रको मुख ताक्न जरूरी छैन । स्थानीयस्तरमा देखिएका समस्याहरुको स्थानीयस्तरमा नै समाधानका लागि एफएमले सधैँ वाचडगको भूमिका खेल्नुपर्ने जरूरी छ । समाज परिवर्तन ढोल बजाएर हुँदैन, आमसमुदायको सोच तथा चेतनाको अवस्थामा परिवर्तन ल्याएमा स्वतः परिवर्तन हुँदै जान्छ । यसबाट समाजमा सुशासन र लोकतन्त्रका मूल्यमान्यताहरु स्थापित हुन्छन् ।
सबैभन्दा सर्वसुलभ सूचनाको स्रोत मानिएको एफएम रेडियोको सान्दर्भिकतामा आज पनि कमी आएको देखिँदैन । एफएम रेडियोको लोकप्रियता, यसले गर्ने सामाजिक निगरानी तथा खबरदारीले झनै बढाउने देखिन्छ । दोस्रो जनआन्दोलनमा मानिसहरुको सहभागिता बढाउन मह¤वपूर्ण भूमिका खेलेको एफएम रेडियोले अब ठूलो बलिदानीबाट प्राप्त ंलोकतन्त्रलाई संस्थागत गर्ने अभिभारालाई पूरा गर्न सहयोगी बन्न जरूरी देखिन्छ ।
Discussion about this post