विश्वमा सन् २०१० को आँकडाअनुसार ११ हजार ३३ प्रजातिका चराहरु पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेसनल रेडलिस्ट अफ बडर््स’मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ, जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा पाइन्छन् । नेपालमा रैथाने र आगन्तुक गरी दुई प्रकारका चरा पाइन्छन् । समुद्र सतहको ७० मिटर उचाइदेखि संसारकै सबैभन्दा बढी उचाइ सगरमाथा ८८४८ मिटरसम्ममा पाइने चराचुरूङ्गीहरुले धेरै विविधता बोकेका छन् । घुमन्ते चराको संख्या झन्डै ३ सय छ । त्यस्तै, ३ सय ८९ प्रजातिका जंगली चरा पाइन्छन् भने ४५ प्रजाति गर्मीयाममा आउने घुमन्ते प्रजाति हुन् । सन् २०१६ मा गरिएको अध्ययनअनुसार नेपालका १६८ प्रजातिका चरा सङ्कटापन्नको सूचीमा छन् । तीमध्ये नौ प्रजातिका चरा लोप भएका छन् ।
नेपालका विभिन्न ३७ स्थानलाई मह¤वपूर्ण चरा क्षेत्रका रुपमा पहिचान गरिएको छ । ती क्षेत्रले नेपालको कुल भूमिको २७ प्रतिशत ओगट्छन् । हालसम्म १७ वटा चरा संरक्षण क्षेत्रमा प्रभावकारी क्रियाकलाप भएका छन् । चितवन ’बर्ड वाचर’का लागि बिस्तारै चरा हब बन्दैछ । नेपालमा पाइनेमध्ये ७० प्रतिशत बढी प्रजातिका चरा चितवनमा पाइन्छन् ।
यहाँका घाँसे मैदान र सिमसार क्षेत्र चराको बाक्लो बासस्थान क्षेत्र हो । घारी र समथल सतहदेखि उच्च पहाडी इलाका भएकाले पनि चितवन सेरोफेरो चराहरुको अनुकूल बासस्थान क्षेत्र हो । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी–राप्ती नदीआसपासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिन्छ । चितवनको प्राकृतिक वातावरण चराका लागि उपयुक्त छ । चितवनमा तीन सय ३४ प्रजातिका चरा भेटिएका छन् । नेपालका ३७ प्रजातिका लोपोन्मुख चराहरुमध्ये २४ प्रजातिका चराहरु यहाँ पाइन्छन् । यहाँ पाइने मुख्य चराहरुमा मयूर, धनेश, सुगाका विभिन्न प्रजाति, जलकौवा, चखेवा, गरूड, हुट्टिट्याउँ, चिल, उल्लु, लाँचे, काठफोर, किङफिसर, ढुकुर, हलेसो आदि हुन् । यस्तै, अति दुर्लभ चराहरुमा खरमजुर, रागधनेश, डंगुर गिद्ध पनि यहाँ पाइन्छन् ।
२०७१ को चरा गणनामा यहाँ सातवटा नयाँ चरा थपिएका थिए भने यसवर्षको गणनामा यहाँ ’बगर ज्यामी’ नामको नयाँ चरा फेला परेको थियो । चितवन चराहरुको बासस्थानमात्रै नभई बसाइँसराइको गन्तव्य पनि हो । गर्मीयाममा यहाँ ४७ प्रजातिका चराहरु बसाइँसराइ गरी आइपुग्छन् भने जाडोयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन् ।
विदेशी आगन्तुक चरा जाडो छल्न र आहाराको खोजीमा बर्सेनि करिब १ सय ५० प्रजातिका चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्र ६ हजार किलोमिटर परदेखि झन्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् ।
नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपक्षी र अन्य चराको सङ्ख्या घट्दै गएको बताइएको छ । जाडो छल्न तिब्बत र रुसको साइबेरियासम्मबाट नेपालको तराईमा आइरहने चराहरुको संख्या पछिल्लो समय घट्दो छ । जलवायु परिवर्तनका कारण नेपालको तराईको जति तापक्रम उतै पाइने भएपछि आगन्तुक चराको संख्यामा कमी आएको अनुमान गर्न सकिन्छ ।
चरालगायत अन्य वन्यजन्तु सङ्कटमा परेको मानवीय क्रियाकलापले हो । चराका लागि सबभन्दा ठूलो चुनौती बासस्थानको सङ्कट हो । ‘बस्ने ठाउँ नै नभएपछि चराले कहाँ गुँड बनाउने ? कहाँ बच्चा कोरल्ने ? त्यसैले बासस्थान नासिनु चरा नासिनुसरह हो । चरा सङ्कटमा पर्नुका केही कारण छन् । खेती विस्तार गरिँदा चरा सङ्कटमा परे । सहरीकरण बढ्दै जाँदा तथा जंगल मासिँदा पनि चरा सङ्कटमा परे । कतिपय चरा एउटै रुखमा मात्रै बस्छन् । त्यस्तो रुख मासिँदा पनि चरा मासिए । मानवनिर्मित समस्यालाई मानवले नै निराकरण गर्ने प्रयास गर्नुपर्छ ।
चराको संख्या घट्दै जानुको प्रमुख कारण जलवायुले बासस्थान तथा आहारमा पारेको प्रभाव हो । जलवायु परिवर्तनका कारण तराईका चरा पहाडमा र पहाडका चरा हिमालतिर देखिन थालेका छन् । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने र हिमतालको आकार बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर वार्षिक ०.०८ डिग्री सेल्सियस छ । त्यस्तै, नेपालको वार्षिक तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस छ । पछिल्लो ३० वर्षमा नेपालको तापक्रम १.६ डिग्री सेल्सियसले बढेको छ, जसका कारण हिमतालको संख्या र क्षेत्र बढ्ने क्रम पनि जारी छ । सन् १९७७ मा हिमतालहरुको कुल क्षेत्रफल ९४.४४ वर्गकिमी रहेकोमा २०१० सम्म बढेर १२७.६८ वर्गकिमी पुग्यो । तिब्बती क्षेत्रमा पनि यही रफ्तारमा हिमतालको वृद्धि र विस्तार भइरहेको छ ।
तालतलैया तथा सिमसार क्षेत्रवरपर विकास निर्माण हुने क्रमले चराहरुलाई असर परिरहेको छ । चराको मुख्य आहार कीरा–फट्याङ्ग्रा वनस्पतिमा फूल खेल्ने तथा फल्ने समयमा बढी देखिन्छन् । जलवायु परिवर्तनका कारण वनस्पतिमा फूल खेल्ने तथा फल्ने समयमा पनि परिवर्तन आएको छ । बचेरा कोरल्ने बेला पर्याप्त आहार नहुँदा पनि काफल पाक्यो, ठेउवा, उत्कोशी फ्याफ्याले, चिबेलगायत चराहरुको संख्या घट्दै गएको छ । सङ्कटापन्न प्रजातिभित्र पर्ने तिलहरी चरा, काफल पाक्यो, पानीहाँस, लालचुच्चे ठेउवा, उत्कोशी फ्याफ्याले आदि चराहरुको संख्या निरन्तर घट्दै गइरहेको छ ।
सिमसार चराचुरूङ्गीको आश्रयस्थल हो । पछिल्लो समयमा सिमसार मासिँदा चराहरु पनि हराउँदै गएको पाइन्छ । चराहरु लोप हुनुको एउटा कारण सिमसार मासिनु रहेको छ । प्राकृतिक वा कृत्रिमरुपले उत्पत्ति भई स्थायी वा अस्थायीरुपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रुपमा खसेर बनेको दलदल धापलाई सिमसार भनिन्छ । ताततलैया, खोला, झरना, धानखेत सिमसारअन्तर्गत पर्छन् । अहिलेसम्मका अनुसन्धानले नेपालका सिमसारमा २३० प्रजातिका माछा, १९२ प्रजातिका चिप्लेकिरा र ५३ प्रजातिका उभयचर रहेको देखाएको छ । त्यस्तै, नेपालमा पहिचान भएका वानस्पतिक प्रजातिमध्ये २५ प्रतिशत वनस्पति सिमसार क्षेत्रमा पाइन्छन् । त्यसबाहेक सिमसार पानीको स्रोत पनि हो । तर, मानिसको दैनिक जीवनमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सरोकार राख्ने सिमसार क्षेत्र भने पछिल्लो समयमा नासिँदै गएका छन् ।
सिमसारलाई प्राकृतिक दृश्य तथा चरा अवलोकन क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा सिमसार देख्नेबित्तिकै डुङ्गा चलाउने, वनभोज खाने र नाचगान गर्ने ठाउँको रुपमा विकास गर्न थालिएको छ । सिमसार भनेको मनोरञ्जन र पर्यटकीयस्थल मात्र होइन, त्यो त चराचुरूङ्गी र वन्यजन्तुको आश्रयस्थल पनि हो । उनीहरुको आश्रयस्थलमै हमला गरेपछि कसरी पर्यावरण जोगिन्छ ? पछिल्लो समय सिमसारलाई मासेर घडेरी बनाउने र खेती गर्ने प्रचलन बढेको छ, जसले गर्दा पनि सिमसार मासिँदै गएको छ ।
हिउँदे आगन्तुक चराहरुको मुख्य आश्रयस्थल सिमसार भएकाले बिग्रँदो र खिइँदो सिमसारको स्वरुप, मिचाहा झारको प्रकोप, चोरीसिकार र मौसम परिवर्तनले चराहरुको आवतजावत प्रभावित भइरहेको पाइएको छ । चराहरुको संरक्षणका लागि पनि सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन एकदमै मह¤वपूर्ण हुन्छ । सिमसार सङ्कटमा पर्दा पनि चरा सङ्कटमा परे । नेपालमा भएका १० वटा सिमसारमा सबैको प्रभावकारी संरक्षण हुन सकेको छैन । जैविक विविधताका लागि घाँसे मैदान मह¤वपूर्ण मानिन्छ । विगतमा घाँसे मैदान भएका ठाउँमा अहिले खेती वा बस्ती छ । घाँसे मैदान अभावमा पनि चरा संरक्षण चुनौतीपूर्ण बनेको छ । नेपालका सिमसार क्षेत्रहरु विविध वनस्पति तथा जीवजन्तु र खासगरी
रैथाने तथा बसाइँ सरी आउने विभिन्न प्रजातिका चराको बासस्थान भएकाले पर्यापर्यटनको विकास गरी आन्तरिक तथा बाह्य पर्यटनको आधार बनाउन सकिन्छ ।
पछिल्लो समयमा वन तथा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैयाहरु सुक्नु, नदीहरु प्रदूषित हुनु, आसपासका क्षेत्रमा आबादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्या चराहरुको आगमन तथा वृद्घिमा ह्रास आउनुको कारण हो । नेपालमा बसाइँ सरी आउने चराहरु खासगरी बासस्थान सङ्कुचन तथा विनास, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नास, अवैध चरा सिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणहरुले सङ्कटमा फस्दै गइरहेका छन् । सहरीकरण, औद्योगिकीकरण, आणविक प्रयोग, अम्लीय वर्षा र जलवायु परिवर्तनजस्ता समग्र पर्यावरणीय चुनौतीहरुले पनि यी प्रजातिहरुको विचरण र जीवन प्रक्रियालाई हाँक दिइरहेको छ ।
नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रका लागि ठूलो सम्भावना बोकेको छ । बाह्य ‘बर्ड वाचर’ पर्यटक नेपालमा चरा हेर्नकै लागि भनेर पनि आउने गर्छन् । आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रूचि प्रतिदिन बढ्दो छ । सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाह्य तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन् । चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरुसँगै देशविदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकनबाट पर्यटनको प्रवद्र्धन भइरहेको छ ।
नेपाल चराचुरूङ्गीको लागि स्वर्ग हो । चराचुरूङ्गीको अस्तित्व, संरक्षण र संवद्र्धनका लागि सबै पक्षबाट चरामैत्री वातावरणको सिर्जना आजको खाँचो छ । चराले बालीनालीलाई फाइदा पु¥याउँछ । बालीनालीलाई हानि गर्ने कीराफट्याङ्ग्रा खाएर उब्जनी बढाउन मद्दत गर्छ । कतिपयले रुखबिरूवा विस्तृतीकरणको काम पनि गर्छन्, परागसेँचन पनि गर्छन् । कतिपयले समय र मौसमको पनि संकेत गर्छन् ।
चराहरुको बाससस्थान भनेकै वनजंगल भएको हुनाले वनजंगल जोगाउनुपर्दछ, तसर्थ स्थलगत मौसम तथा वातावरणका आधारमा आउने चराका प्रजाति, तिनले मन पराउने तथा गुँड बनाउने खालका रुखबिरूवा, घाँसे मैदान, झाडी, बुट्यान आदिको पहिचान गरी वृक्षरोपण गरिनु आवश्यक छ । यसबाट चराको बासस्थानमा वृद्धिका लागि चराबारे जनचेतना जगाउनुपर्छ । चराको प्रजनन केन्द्र स्थापना गर्नुपर्दछ, जसले गर्दा चरा अवलोकनसमेत फस्टाउँछ । साथै, चरा अवलोकन पथप्रदर्शकको रोजगारीमा वृद्धि तथा पर्यटन क्षेत्र नै थप आयमूलक बन्छ । नेपालमा विभिन्न चराचुरूङ्गीहरुसँग धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि जोडेको हुन्छ, ती कुराहरु पर्यटकका लागि रोचक हुन सक्छ । लोक विश्वास र हाम्रा लोक श्रुति परम्पराहरु पनि जिउँदो हुन्छ, त्यसैले नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रका लागि ठूलो सम्भावना रहेको कुरा कसैले पनि नकार्न सक्दैन ।
चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियान हुन सक्दैन । बसाइँसराइ गर्ने चराहरु एक देशबाट अर्को देशमा पनि जाने–आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्यको पनि अपरिहार्यता छ । स्थानीयस्तरमा पनि यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकाससँगसँगै लैजानुपर्छ । यिनीहरुको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ ।
साथै, दीर्घकालीन संरक्षण स्थानीय समुदाय, परम्परागत जाति, संरक्षण समूहहरु, राजनीतिक शक्ति, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशीलता, एकीकृत सोच, अवधारणा र कार्यक्रमहरुबाट नै सम्भव छ । नेपालमा विद्यमान चराका लागि महत्त्वपूर्ण बासस्थानको नियमित अध्ययन, तथ्याङ्क अध्यावधिक तथा क्षेत्र विस्तारका साथै सम्भावित नयाँ क्षेत्रको पहिचान एवम् विस्तृत अध्ययन अनुसन्धान र संरक्षणमुखी क्रियाकलापको खाँचो छ । आगन्तुक चराहरु हाम्रा पाहुना हुन्, पाहुनाको संरक्षण गर्नु र जैविक सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य हो ।
Discussion about this post