रत्ननगर । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै हात्ती उपचार शिविर सुरू गएिको छ । चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले संयुक्त रुपमा सरकारी र निजीस्तरका हात्तीको उपचार सुरू गरिएको हो ।
हात्ती प्रजनन् केन्द्र खोरसोरमा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले शिविरको उद्घाटन गरेका छन् । शिविरको उद्घाटनसँगै प्रजनन् केन्द्रमा रहेका ११ वटा माउ र ९ वटा छावाको उपचार सुरू गरिएको पशु चिकित्सक अमिर सडौलाले जानकारी दिए । हात्तीलाई जुकाको औषधि, खुट्टाको नङ काट्ने,रगत परीक्षण गरिने उनले जानकारी दिए । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
अर्काे महिना गैंडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि हात्तीको स्वास्थ्य जाँच सुरू गरिएको हो । हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिंने छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी भएका छन । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ ।
हाल निकुञ्जमा ५६ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जंगली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् । त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ ।
निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ । चितवनमा ५६ वटा सरकारी र करिब ६० वटा निजी हात्तीहरु रहेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले आसन्न गैंडा गणनामा प्रयोग गरिने हात्तीको स्वास्थ्य मजबुत बनाउन शिविर आयोजना गरिएको बताए ।
Discussion about this post